१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फ्रान्सको प्रकृति संरक्षणमा वातावरण प्रहरी सक्रिय

ददि सापकोटा

पेरिस — जंगली जीवजन्तु पाल्ने, बिक्री गर्ने र किटनाशक औषधि तथा विषादीको अत्यधिक प्रयोगलाई रोक्न फ्रान्सले वातावरण प्रहरीलाई सक्रिय बनाएको छ ।  फ्रान्सको उत्तरी क्षेत्र सँ अँलेजो, भलँसियनलगायतका दर्जनौं क्षेत्र जंगली चराहरू समात्ने र तिनालाई बजारमा पुन: बिक्री गर्ने कार्यले तस्करीको लागि 'हब' बन्दै गएपछि फ्रान्सले वातावरणीय प्रहरी सक्रिय बनाएको हो ।

फ्रान्सको प्रकृति संरक्षणमा वातावरण प्रहरी सक्रिय

अवैध रूपमा चरा बिक्रीका लागि पालेको शंका लागे छापा हान्ने, जीवजन्तु समाउनेलाई खोजी वारेन्ट जारी गर्ने अधिकार वातावरणीय प्रहरीलाई छ। वातावरणीय प्रहरीहरू फ्रेन्च बायोडाइभर्सिटी अफिस (ओएफबी) ले विभिन्न क्षेत्रको निगरानी गरेपछि तिनको सूचनाका आधारमा परिचालित हुन्छन् ।

फ्रान्समा एजेन्टहरूले गोल्डफिन्च, पेनी बुलफिन्चलगायतका दर्जनौं चराका प्रजातिको सिकार गरिने, चोरी गरेर बेल्जियमसम्म बिक्री हुने, अन्य जीवजन्तु पक्रने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न ओएफबीसहितका प्रकृति संरक्षणमा लागेका संस्थाले आवाज उठाउँदै आएका थिए ।

भ्यालेन्सियन्स, क्याम्ब्राई र एभेनेस-सुर-हेल्प क्षेत्रको ओएफबीमा अनुसन्धान प्रमुख एलेक्सिस पेक्करको अनुमानअनुसार सन् २०१६ यता फ्रान्सको उत्तरमा करिब १ हजार चरा समातिएको छ । तीमध्ये आधा दर्जनभन्दा बढी संरक्षित चरा थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष(आईयूसीएन) का अनुसार, हतियार, मानव र लागूपदार्थपछि विश्वव्यापी रूपमा, वन्यजन्तु बेचबिखन चौथो सबैभन्दा आकर्षक अन्तर्राष्ट्रिय संगठित आपराधिक गतिविधि हो। फ्रान्समा प्रमुख अवैध सिकार इलको हुन्छ र दोस्रोमा चराहरू पर्छन् ।

सम्पूर्ण फ्रान्सेली क्षेत्र अवैध चोरी, सिकार र तस्करीबाट प्रभावित छ भने फ्रान्सको उत्तर र भूमध्यसागरको किनारा ऐतिहासिक रूपमा तस्करीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू हुन्।

फ्रान्समा कालोबजारीमा व्यापार गर्नेहरू छन्। यी सामान्यतया सिकार उद्योग वा सामान्य आम्दानी भएका व्यक्तिहरू हुन् जसले थप आम्दानी गर्न खोजिरहेका छन्। ओ एफबीको २०१५ मा प्रकाशित तथ्यांकअनुसार, चराहरू पुन:बिक्री र अवैध कब्जामा राख्ने क्रम ५५ प्रतिशत सम्बन्धित छ। सामान्य भँगेरा १५ देखि ५० युरो र राम्रो गीत गाउने छ भने १५० युरोमा बिक्री हुन्छ।

तर धेरै सिकारीले क्यानरीहरू र गोल्डफिन्चहरूलाई एउटै पिंजरामा बन्द गर्छन् । त्यसो गर्दा दुई प्रजातिहरूले पुन: उत्पादन गर्न सक्छन्। यसले एक हाइब्रिडलाई जन्म दिन्छ जसले ठूलो बजार मूल्य पाउँछ । क्यानरीसँग क्रस गरिएको भँगेरा २८० युरोमा र दुर्लभ उत्परिवर्तनका लागि १,००० युरोसम्म किनबेच हुने ओएफबी एजेन्टको भनाइ छ।

जंगली चरालाई आकर्षित गर्न तिनको आवाज राखिदिने, आहारा राखिदिने, जाल थाप्ने गरेर केही सिकारीहरूले प्रकृतिमा भन्दा आफ्नो बगैंचाबाट जंगली जीव बढी समात्छन् । वातावरणीय प्रहरीले सिकारीहरूलाई सामान्यतया छिमेकीबाट सूचना पाएपछि वा चरा संरक्षण संघहरूद्वारा संकलन गरिएको जानकारीका आधारमा पक्राउ गर्छन् ।

प्रतिबन्धित विषादी र रासायनिक पदार्थ, कीटनाशक औषधि प्रयोग गर्नेहरूको निगरानी र तिनलाई पक्राउ गर्ने काम पनि वातावरणीय प्रहरीले गर्दै आएका छन् । फ्रान्समा चराको गायन र सौन्दर्य प्रतियोगिताहरू समेत आयोजना गरिन्छ । यस्ता प्रतिस्पर्धा अझै पनि फ्रान्सको उत्तर क्षेत्र र धेरै बेल्जियममा हुन्छन्।

डब्ल्यूडब्ल्यूएफका अनुसार बेल्जियमले जंगली चराहरूको अवैध व्यापारमा युरोपभरिमै महत्त्वपूर्ण भूमिका खेल्छ। फ्रान्समा, प्राकृतिक अवस्थामै पालन गर्न सक्षम वा क्षमताको प्रमाणपत्र प्राप्त गर्ने सर्तमा जंगली चराहरूलाई पाल्न अनुमति दिइएको छ।

अहिलेसम्म उत्तरमा पाँचवटा मात्रै यस्ता संस्था छन् । तर त्यसको दुरुपयोग भएको भनाइ एफबीको छ । सिकारीहरूले संरक्षित प्रजातिहरूको अवैध कब्जा वा पुन: बिक्री गरेको प्रमाणित भएमा तीन वर्षको जेल र डेढ लाख युरोसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित : भाद्र १९, २०८० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?