कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रुस छाडेर बेलारुसतर्फ लागे विद्रोही वाग्नर समूहका प्रमुख

काठमाडौँ — रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ-अन-डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका छन्  । युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख  प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ फर्किएको बीबीसीले उल्लेख गरेको छ । 

रुस छाडेर बेलारुसतर्फ लागे विद्रोही वाग्नर समूहका प्रमुख

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्को मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि प्रिगोजिन रुस छाडेर बेलारुसतर्फ हिँडेका हुन् । यसबाहेक अन्य कुन-कुन विषयमा सहमति भएको भन्नेबारे भने अझै सार्वजनिक भइसकेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमतिसँगै वार्ता टुंगोमा पुगेको थियो । योसँगै वाग्नर समूह पनि आफूले कब्जा गरेको रुसको रोस्तोभ सहर छाडेर फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो । मस्कोका मेयरले राजधानीवासीलाई जुलाई १ सम्म घरबाहिर ननिस्किन निर्देशनसमेत दिएको छ ।

रुसले युक्रेनमा आक्रमण गर्नका लागि सुरुदेखि नै बेलारुसको भूमि प्रयोग गर्दै आइरहेको छ । राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

युक्रेनमाथि रुसले हमला गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो ।

प्रिगोजिनको वाग्नर सेनाले रुसको तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो । विद्राही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् ।

प्रकाशित : असार १०, २०८० ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?