पेरिसको हिंसात्मक प्रदर्शनपछि बेलायती राजाको फ्रान्स भ्रमण स्थगित

एजेन्सी

काठमाडौँ — फ्रेन्च सरकारको पेन्सन सुधार सम्बन्धी विवादास्पद निर्णयलाई लिएर पेरिसमा भएको विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित गरिएको छ । चार्ल्सको उक्त भ्रमण स्थगित भएको बकिंघम प्यालेसले शुक्रबार पुष्टी गरेको हो ।

बेलायती राजा चार्ल्स र रानी क्यामिलाको उक्त भ्रमण आइतबारदेखि बुधबारसम्म पेरिस र दक्षिणपश्चिम सहर बोर्डोमा हुने तय गरिएको थियो ।

साथै फ्रान्सबाट जर्मनी यात्रा गर्ने पनि उनीहरूको भ्रमण तालिका थियो । तर पेरिसमा जारी प्रदर्शन हिंसात्मक बन्दै अनियन्त्रित भएपछि उक्त भ्रमण स्थगित गरिएको हो ।

प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ । प्रदर्शनकारीले फ्रान्स सरकारको विवादास्पद पेन्सन सुधार सम्बन्धी निर्णय फिर्ता लिन माग गरिरहेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्स र बेलायत सरकारबीच वार्तामार्फत् राजाको भ्रमण स्थगित गरिएको बताइएको छ ।

तर बेलायतस्थित बकिंघम प्यालेसका प्रवक्ताका अनुसार अर्को अनुकुल मिति उपलब्ध भएपछि चार्ल्सले फ्रान्स भ्रमण गर्नेछन् ।

फ्रान्स सरकारले त्यहाँका नागरिकका लागि पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि पेरिससहितका सहरमा विशाल प्रदर्शन भएका छन् । पछिल्लो समय प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

‘विद्रोह’ कवितासंग्रह विमोचन

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका-८ मानेश्वारा खिपिङ गाउँवासी राजन भण्डारीले ‘विद्रोही’ कवितासंग्रह ल्याएका छन् । शुक्रबार सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानद्वारा केतु बोर्डिङमा आयोजित ‘पुस्तक लोकार्पण समारोह’मा बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङसहित सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानका अध्यक्ष रमेश पौड्याल, स्रष्टा भण्डारीकी आमा पवित्रा भण्डारीलगायतले पुस्तक विमोचन गरेका हुन् । यसअघि भण्डारीद्वारा लिखित ‘मातृधारा’ कवितासंग्रह चर्चित थियो । 

बाह्रबिसे नगर ९ स्थित केतु बोर्डिङ स्कुलमा अध्ययन पूरा गरेका भण्डारीले दिवंगत आफ्ना गुरु साहित्यकार तथा शिक्षक जीवन चाम्लिङलाई सर्मपण गरेर ‘विद्रोह’ कवितासंग्रह लेखेको बताए । हार्मोनियम बादकमा विद्यावारिधी गरेका साहित्यकार चाम्लिङले सिन्धु साहित्यमा दर्जनौं कविातसंग्रहका पुस्तक र फुटकर कविता लेखेका छन् । चाम्लिङ सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानको अभियन्तामध्ये एक थिए । उपस्थित साहित्यकार, मेयर, उपमेयरले चाम्लिङको तस्बिरमा दोसल्ला ओडाएर श्रद्धासुमन व्यक्त गरेका थिए । ‘दुःख नपाउनकै लागि दुःख गर्नु छ, सुखको जीवनले सुखी नबनाउँदोरहेछ । म ईश्वर छ कि कतै, खोज्न निस्किएको नास्तिक हुँ ।’ जस्ता भण्डारीको विद्रोही गद्य कविताको हरफमा उनले समाज, अध्यात्म, जीवन, जगत, चेतना र दर्शनलाई भरपुर खोल्न र बुझाउने प्रयास गरेको देखिन्छ ।

बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले कवि भण्डारीलाई दोसल्लासहित तलबभत्ताको रकममध्ये दस हजारले सम्मान गरेर बधाई दिएका छन् । नगरको अमूल्य साहित्य सम्पदामा एउटा कृति थपिएको भन्दै मेयर बस्नेतले तलबभत्ता बापतको ५० हजारबाट भण्डारीको कवितासंग्रहका पाठ्यपुस्तक खरिद गरेका छन् । उनले यी खरिद गरिएका भण्डारीका कृति नगरभरका ५४ विद्यालयको पुस्तकालयमा दिइने बताए ।

कार्यक्रममा साहित्यकार धनबहादुर कार्की, तीर्थराज ढकाल, नवराज रायमाझी, रमेश पौड्याल, कुलप्रसाद नेपाल, तारानाथ नेपालले आफ्नो रचना सुनाएसँगै कवि जमातलाई शुभकामना दिएका थिए ।

प्रकाशित : चैत्र १०, २०७९ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×