युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानबारे पुटिन र सीबीच छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल भएको छ । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार पत्रकारहरूलाई दुई मुलुकका शीर्ष नेताबीच युक्रेनसँगको द्वन्द्व अन्त्य गर्ने चिनियाँ शान्ति योजनाबारे छलफल भएको बताएका हुन् । 

सोमबारको वान-टु-वान वार्तामा युक्रेनसँगको द्वन्द्वको समाधानको उपायबारे छलफल भएको प्रवक्ता पेस्कोभले बताए । दुई जनाबीचको कुराकानीमा केही ठोस निष्कर्ष निस्कियो त भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, 'अहिले नै मैले सबैकुरा भन्दिनँ । दुई जना नेताहरूको वक्तव्य पर्खनुहोस् ।'

रुसी समाचार संस्था तासका अनुसार प्रवक्ता पेस्कोभले भने इन्धन सम्झौता, सैन्य तथा प्राविधिक विषयमा छलफल भए/नभएको केही खुलाएनन् । प्रवक्ता पेस्कोभलाई उद्धृत गर्दै तासले लेखेको छ, 'यसबारेमा नेताहरूले आफ्नो वक्तव्यमै खुलाउनु हुनेछ।'

चिनियाँ विदेश मन्त्रालयले गत फेब्रुअरीमा युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानबारे १२ बुँदे दस्ताबेज प्रकाशित गरेको थियो । जसमा युद्धविराम, वैधानिक सुरक्षा चासोमाथि सम्मान, युक्रेनको मानव संकटको समाधान, मस्को र किभबीच बन्दीहरूको आदानप्रदान र एकपक्षीय प्रतिबन्ध हटाउनेलगायतका विषय छन् । दस्ताबेजमा द्वन्द्व समाधानको एक मात्र उपाय वार्ता भएको पनि उल्लेख छ ।

प्रकाशित : चैत्र ७, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार भएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी व्यथा बल्झिएपछि गत फागुन १ मा चीन गएका थिए ।

पुनका सचिवालयका अनुसार उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । पुनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको चिकित्सकहरुलाई उदृत गर्दै पुनको सचिवालयले जनाएको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरुले उल्लेख गरेका छन् । तर, पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ । स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन सुझाव दिएका छन् ।

पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन् । स्वास्थ्यमा सुधार भएपछि नेता पुनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए ।

नेता पुनले प्रधानमन्त्री दाहाललाई पुन: विश्वासको मत प्राप्त गरेकोमा बधाई दिँदै राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी सिर्जना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताएका थिए ।

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरु एकैठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको उल्लेख गरेका थिए । सभापति देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका थिए । दाहाल र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×