रुस असल मित्र र भरपर्दो साझेदार : सी चिनफिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँग चीनको नजिकको सम्बन्ध रहेको बताएका छन् । तीन दिने रुस भ्रमणमा रहेका सीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो बताएका हुन् । सीले रुसलाई भरपर्दो साझेदार रहेको पनि बताएका थिए ।

'हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भन्ने माग गर्छ,' सीले भनेका छन् । आफ्नो यस भ्रमणले चीन-रूस सम्बन्धको चौतर्फी विकासको नयाँ अध्याय खुलेको पनि बताएका थिए । चीन र रुसले जनस्तरमा पनि लामो समयदेखि मित्रता बनाएको भन्दै सीले दुई देशबीच सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताए ।

यस्तै उनले दुई देशबीचको सम्बन्धले ठोस लाभ प्राप्त हुने मात्रै नभएर विश्वकै विकास र प्रगतिमा पनि महत्त्वपूर्ण योगदान दिने बताएका छन् । 'विगत एक दशकमा हाम्रा दुई देशले गैरगठबन्धन, गैरटकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगरी द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाएका छन्,' सीले भनेका छन् ।

रुसमाथि अमेरिकी दबाब जारी रहँदा चिनियाँ राष्ट्रपति सीको रुस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । यस क्रममा सीले चीन र रुसबीच सम्मान, शान्तिपूर्ण सहअस्तित्वसहितको उदाहरणीय सम्बन्ध रहेको पनि बताए ।

प्रकाशित : चैत्र ६, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङको भक्ति आदर्श क्याम्पसको स्ववियु सभापतिमा आलोपालो

आश गुरुङ

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका ८, भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको सभापतिमा २ जनालाई निर्वाचित गराइएको छ ।दुवैजनाले २ वर्षे कार्यकाल पालैपालो अध्यक्षता गर्ने भएका छन् ।

कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एमाले विद्यार्थी संगठन अनेरास्ववियुका उम्मेदवारले बराबरी ६७/६७ मत पाएपछि कार्यकालको २ वर्ष दुवैजना सभापति हुने भएका हुन् ।

आइतबारको मतपरिणामअनुसार नेविसंघका स्वस्तिका चिलुवाल र अनेरास्ववियुका मीना घलेले बराबरी मत प्राप्त गरेका थिए । सवै विकल्पमा छलफल गर्दा पनि सहमति हुन नसकेपछि नेपाली कांग्रेस सुन्दरबजार नगर सभापति र नेकपा एमाले सुन्दरबजार नगर कमिटी अध्यक्ष, बराबरी मत प्राप्त उम्मेदबारबीच सोमबार बसेको बैठकले २ वर्षे कार्यकाल दुवैजनाले आलोपालो अध्यक्षता गर्ने सहमति भएको निर्वाचन अधिकृत हिराबहादुर कार्कीले बताए ।

दुवै जना सभापतिका लागि क्याम्पसले दुवैजनालाई सभापतिको कुर्ची उपलब्ध गराउनेछ । पालैपालो बैठकको अध्यक्षता गर्ने सहमतिअनुसार पहिलो बैठक नेविसंघबाट निर्वाचित चिलुवालले गर्ने भएकी छन् । दोस्रो बैठकको अध्यक्षता अनेरास्ववियुबाट निर्वाचित घलेले गर्ने भएका छन् । बैठकमा दुवैजना अनिबार्य उपस्थित हुने सहमति समेत भएको छ ।

सचिवमा नेविसंघका सुमित्रा बगालेले ७४ मत ल्याएर विजयी भएका छन् । अनेरास्ववियु क्रान्तिकारीका भावना नेपालले ५५ मत ल्याएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता सापकोटाले ६४ मत ल्याएर विजयी भएका छन् । नेविसंघका मोनिका तामाङ ६० मत ल्याएर पराजित भएका छन् ।

खुला सदस्यमा नेविसंघका सोनिसा कार्की, अन्तिम गुरुङ, ईशा गुरुङ र अप्सरा नेपाली नेर्वाचित भएका छन् । समानुपातिकमा ३ जना नेविसंघ र १ जना अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । भक्ति आदर्शमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एउटै प्यालन भएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ २१:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×