कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भारतको ‘चन्द्रमा दौड’

प्रक्षेपण गरिएको २२ दिनपछि चन्द्रमाको कक्षमा पुगेको ‘चन्द्रयान–३’ ले लिएको भिडियो सार्वजनिक
गोविन्द पोखरेल

काठमाडौँ — भारतको ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुगेको छ । गत असार २९ गते दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको ‘एलभीएम–३’ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको हो ।

भारतको ‘चन्द्रमा दौड’

भारतीय अन्तरिक्ष संस्था इसरोका अनुसार ‘चन्द्रयान–३’ लाई चन्द्रमाको कक्षमा पुग्न २२ दिन लागेको हो । भारतीय समयअनुसार यो यान शनिबार राति ७ बजेर १५ मिनेटमा चन्द्रमाको कक्षमा पुगेको हो । इसरोले चन्द्रमा कक्ष नजिकैबाट ‘चन्द्रयान–३’ ले लिएको भिडियो सार्वजनिक गरेको छ । चन्द्रमाको कक्षमा पुग्नुअघि ‘चन्द्रयान–३’ ले उक्त भिडियो लिएको थियो । यानले खिचेको भिडियो इसरोले आइतबार सार्वजनिक गरेको हो । चन्द्रमाको कक्षको दूरी घटाउने क्रममा (रिडक्सन अफ अर्बिट) गर्नुअघि चन्द्रयान–३ ले लिएको भिडियो सार्वजनिक गरिएको हो ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने इसरोका वैज्ञानिकहरूको तयारी छ । भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउँदै छ । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीन मात्रै पुगेका छन् । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायतका सबै किसिमका कमजोरी अध्ययन गरिएको हो । चन्द्रयानको अवस्था सामान्य रहेपछि आइतबार राति कक्षको दूरी घटाउँदै (रिडक्सन अफ अर्बिट) ‘चन्द्रयान–३’ लाई चन्द्रमामा अवतरण गराउँदा अपनाउनुपर्ने कार्यविधिअनुसार काम भइरहेको जनाइएको छ ।

भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ । त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ ।

चन्द्रयान–३’ लाई पृथ्वीको कक्षसम्म पुर्‍याएको ‘एलभीएम–३’ रकेट ४३.५ मिटर अग्लो छ । यसलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ । यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । इसरोका अनुसार यसले यसअघि ६ वटा मिसन सफल पारिसकेको छ ।

प्रकाशित : श्रावण २३, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?