कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित

विनोद पाण्डे

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएको खेलमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ । दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई ३२ रनले पराजित गरेको छ ।

दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित

मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रन बनायो । १९ बलमा अर्धशतक पुरा गरेका दीपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले पनि एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रो पटक हो । चीनको हाङचउमा गत वर्ष भएको १९ औं एसियाली खेलकुदमा दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउनेक्रममा दुई ओभर लगाएर लगातार ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो ।

दीपेन्द्रले कुल ३ चौका र ७ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकासहित ५२ रन बनाए । कुशल भुर्तेल १२, कप्तान रोहित पौडेल १८, कुशल मल्ल १८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५, सन्दीप जोरा ७ तथा गुलशन झा र विवेक यादव समान ५ रनमा आउट भए । कतारका हिमान्शु राठौड र मुसावर शाहले ३–३ विकेट लिए ।

जबाफमा आएको कतारले ९ विकेट गुमाई १ सय ७८ रन बनायो । कप्तान मोहम्मद तान्भिरले ३३ बलमा ६ चौका र ४ छक्कासहित ६३ र मोहम्मद अनाफले २३ रन बनाए । नेपालबाट दीपेन्द्र, ललित राजवंशी र गुलशनले २–२ तथा मल्ल र अविनाश बोहराले १–१ विकेट लिए ।

नेपालले शुक्रबार पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित : वैशाख १, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?