कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

पुल–अपमा अविश्वसनीय कीर्तिमान

दुई दिनअघि मात्रै पुल–अपमा नयाा विश्व कीर्तिमान बनेको छ । जापानका केन्ता अदाचीले २४ घण्टामा ८ हजार ९ सय ४० पटक पुल–अप गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । मानवीय क्षमतालाई हदैसम्म टाढा पुर्‍याएको भन्दै गिनिज वर्ल्ड रेकर्ड्सले पनि यसलाई उत्तिकै महत्त्व दिएको छ । 
हिमेश

काठमाडौँ — मानवीय क्षमताको सीमा कतिसम्म हुन्छ ? खेल विज्ञानका लागि यो निकै रुचिको विषय हो । तर उत्तर भने सजिलो छैन । के म्याराथन अबको केही वर्षमा दुई घण्टाभन्दा कम समयमा दौडिने को आउला त ? पछिल्लो समय निकै चर्चाको विषय बनेको छ । यो त भयो, मूल खेल विधाकै कुरा ।

पुल–अपमा अविश्वसनीय कीर्तिमान

खेलकुदसँगै जोडिएको तर मूल विधाभन्दा केही परको कुरा गरौं । कोही कसैले कतिसम्म पुल–अप गर्न सक्छ त ? सबैलाई थाहा छ, दैनिक व्यायामका लागि यो असाध्यै उपयोगी अभ्यास हो ।

यसले शरीरका माथिल्ला भागका अधिकांश मांसपेशीलाई बलियो बनाउने गर्छ । यो सबै पृष्ठभूमि किनभने दुई दिनअघि मात्रै पुल–अपमा नयाँ विश्व कीर्तिमान बनेको छ । यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले पनि उत्तिकै महत्त्व दिएको छ । यसको कारण ती कीर्तिमानधारीले मानवीय क्षमतालाई हदैसम्म टाढा पुर्‍याएका छन् । उनी हुन्, जापानका केन्ता अदाची । भर्खरै उनले पुरुषतर्फ २४ घण्टामा सर्वाधिक पुल–अपको विश्व कीर्तिमान बनाएका छन् ।

त्यो भनेको ठ्याक्कै ८ हजार ९ सय ४० पुल–अप । अविश्वसनीय छ नि यो । यस क्रममा अदाचीले यसअघि अस्ट्रेलियाका ग्यारी लोडयका नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । उनले तीन सय पटकभन्दा बढी पुल–अप गरेर यो कीर्तिमान बनाए । सन् २०२२ मै उनले पुल–अपकै एउटा विश्व कीर्तिमान बनाएका थिए । त्यो भनेको लगातार ६ सय ५१ पुल–अपको । रमाइलो के भने उनले लगभग आफ्नो जीवनको अधिकांश समय यही खेलकै लागि बिताए भन्दा हुन्छ ।

तर सुरुदेखि उनी यसमै थिए भन्ने पनि होइन । कुरा यस्तो छ । सन् २००७ मा केन्ताले जापानी कोस्ट गार्डमा काम सुरु गरे । अब यस्तो काममा शारीरिक मजुबतता त चाहियो नै । त्यसमध्ये एक त पुल–अप नै भयो । त्यति बेला उनले पहिलोपल्ट पुल–अपको प्रयास गर्दा असाध्यै नराम्रोसँग असफलता चाखे । पुल–अपका लागि जत्ति नै प्रयास गरे पनि उनी खह्रो उत्रन सकेनन् । आफ्ना सहकर्मीबीच उनलाई असाध्यै अप्ठ्यारो लाग्यो ।

अनि केन्ताले एउटा निर्णय गरे, यसमै महारथ प्राप्त गर्ने । सन् २०२१ यता त उनी यसै खेलमा मात्र छन् भन्दा हुन्छ । यसका लागि उनले एउटा डायरी पनि बनाए । त्यसअनुसार सन् २०१५ को जुनमा उनले एकै पल्टमा ८० पल्ट पुल–अप गरे । सन् २०१६ को मार्चसम्म पुग्दा यसले सय छोयो । सन् २०२१ को फेब्रुअरीमा उनले यसलाई १ सय २ पुर्‍याए । यसबीच कमै मात्र सुधार भयो भन्दा हुन्छ । सन् २०२१ को अप्रिलमा बल्लतल्ल १ सय १० पुल–अप गर्न सक्ने भए, लगातार ।

सन् २०२१ को जुनमा पुल–अपले २ सय २१ छोए अनि त्यही वर्षको सेप्टेम्बरमा ४ सय ३० पुल–अप गर्न सक्ने भए । अविश्वसनीय छ नि यो पनि । खासमा खेलकुदमा शारीरिक प्रदर्शन गर्ने सक्ने क्षमताले मात्र पुग्दैन, त्यसका लागि मानसिक रूपमा पनि उत्तिकै बलियो हुन आवश्यक छ । केन्ताले यही काम गरे । जति उनले विश्व कीर्तिमानका लागि लगातार ६ सय ५१ पल्ट पुल–अफ गरे, उनको आत्मविश्वासले लगभग आकाश छोइसकेको थियो ।

त्यही बेला त हो, उनले निर्णय गरेको, अब २४ घण्टामा सर्वाधिक पुल–अपको कीर्तिमान बनाउने । यसैमा उनी सफल भएका छन् । उनले सञ्चारमाध्यमहरूलाई भनेका छन्, ‘लगातार पुल–अपका अनेक कीर्तिमान छन् । मलाई के लाग्यो भने २४ घण्टामा सर्वाधिक पुल–अपको कीर्तिमान अभेद जस्तै हुनेछ । यसलाई कीर्तिमानको राजा भन्दा पनि हुन्छ ।’ उनले यो अठोट लिँदा यस्तो कीर्तिमान ब्रेन्डन टकरको नाममा थियो ।

सन् २०१९ मा यी टकरले २४ घण्टामा ७ हजार ७ सय १५ पल्ट पुल–अप गरेका थिए । त्यसपछि पुल–अपको कीर्तिमान बन्ने होड जस्तै चल्यो । एकले बनाउने, अर्कोले भंग गर्ने । सन् २०२३ को अन्त्यतिर उनी यसमै मात्र केन्द्रित भएर अभ्यास गर्न थाले । त्यसै क्रममा उनले नौ घण्टामा पाँच हजारपल्ट पुल–अप गरे । उनलाई लाग्यो, अब उनले लय समातेका छन् । यसपल्टको कीर्तिमान बनाउन अगाडि उनले अभ्यासको क्रमलाई केही कम गरे ।

खेलकुदको सूत्र भनेकै यही हो । मूल प्रतियोगिताको ठीक अगाडि आफ्नो शरीरलाई केही आराम पनि दिने । नयाँ विश्व कीर्तिमान बनाउन अगाडि उनले एकाध घण्टा मात्रै अभ्यास गरे । यसक्रममा उनले शरीरमा पर्याप्त शक्ति सञ्चय गरे । जति बेला निर्णायक दिन आयो, एक घण्टाको पुल–अपपछि उनलाई केही अप्ठ्यारो महसुस हुन थाल्यो । पेटमा पनि गडबडी हुन थालेको थियो । नतिजा उनलाई वान्ता हुने डर पनि लाग्यो ।

केन्ताले मनका कुरा खेलाए, अब सकिन्न कि ? तर उनले हरेस खाएनन् । अन्तत: उनी लड्दै भिड्दै त्यो जादुयी आँकडासम्म पुगे, जसलाई विश्व कीर्तिमान भन्ने गरिन्छ । उनको अन्त्यमा प्रतिक्रिया थियो, ‘शरीर अत्यधिक पीडामा थियो । प्रत्येकपल्ट केही समय आराम लिँदा मलाई लाग्थ्यो, अब म फेरि पुल–अप गर्न सक्दिनँ । तर मैले जत्तिकै दबाबबीच पनि प्रयत्न छाड्दिनँ । फेरि परिवार र साथीभाइ सबैले मलाई विश्व कीर्तिमानका लागि उक्साइरहेका थिए ।’

प्रकाशित : वैशाख १, २०८१ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?