कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

हेल्प नेपालले उपाधि रक्षा गर्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन

आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दुवै टिमले विभागीय प्रतिस्पर्धीलाई फाइनलमा हराएर उपाधि जिते
ध्रुव तुलाधर

काठमाडौँ — आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको आठौं संस्करणमा टिपटप हेल्प नेपाल क्लबले उपाधि रक्षा गर्दा बुटवलको एभरेस्ट भलिबल क्लब पहिलोपल्ट च्याम्पियन बनेको छ ।

हेल्प नेपालले उपाधि रक्षा गर्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा दुवै टोलीले विभागीय टोलीलाई पन्छाएर उपाधि जितेका हुन् । विजेता दुवै टोलीलाई विदेशी खेलाडीको प्रेरणा थियो ।

हेल्प नेपालले तीन पाकिस्तानी खेलाडी कोर्टमा उतार्दा एभरेस्टलाई तीन भारतीय राष्ट्रिय टोलीका खेलाडीको साथ थियो । एभरेस्टलाई पहिलो उपाधि दिलाउने क्रममा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले टोलीबाट खेलेकी थिइन् ।

पुरुषतर्फ हेल्प नेपालको प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लब थियो । जहाँ हेल्प नेपालले पाँच सेट चलेको खेलबाट उपाधि सुरक्षित गर्‍यो । महिलातर्फ एभरेस्टले साबिक विजेता नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा पहिलो सेट गुमाउनुका बावजुत उपाधि हत्याएको हो । समूह चरणमा भोगेको हारको बदला पनि एभरेस्टले लिएको छ ।

पुरुषतर्फ हेल्प नेपालले ३–२ ले सेट जितेर उपाधि रक्षा गरेको हो । पाँचौं सेट तथा अन्तिम सेटमा निकै रोमाञ्चक बन्यो । आर्मीले सुरुआती अग्रता लिए पनि पुनरागमन गर्दै हेल्प नेपालले २२–२० ले सेट जितेको थियो । त्यसअघि हेल्प नेपालले २०–२५, २७–२५, २३–२५, २९–२७ दुई पटकसम्म आर्मीको अग्रता तोड्दै सेट बराबरी गरेको थियो ।

हेल्प नेपालले ५ लाख, आर्मीले २ लाख तथा तेस्रो भएको पुलिस क्लबले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । गण्डकी प्रदेशलाई २५–१५, २५–२०, २९–२७ ले हराएर पुलिस तेस्रो भएको थियो ।

महिलामा एभरेस्टले १९–२५, २५–२२, २५–१८, २५–१९ को सेटमा उपाधि जितेको हो । एभरेस्टले ५ लाख, पुलिसले २ लाख, तेस्रो भएको एपीएफले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीमा हेल्प नेपालका पाकिस्तानी खेलाडी फखरउद्दिन चुनिए । स्पाइकरमा पाकिस्तानकै उस्मान अली (हेल्प नेपाल), सेटरमा इमबहादुर राना (पुलिस), सर्भरमा धनबहादुर भट्ट (आर्मी), ब्लकरमा दुर्गाबहादुर खड्का (आर्मी), लिबेरोमा टोपबहादुर थापा (हेल्प नेपाल) र प्रशिक्षकमा उत्सव खड्का (हेल्प नेपाल) उत्कृष्ट भए ।

महिलातर्फ विजेता एभरेस्टकी भारतीय खेलाडी केपी अनुश्री सर्वोत्कृष्ट भइन् । विधागततर्फ स्पाइकरमा उषा भण्डारी (पुलिस), सेटरमा अरुणा शाही (एभरेस्ट), सर्भरमा सरस्वती चौधरी (एपीएफ), ब्लकरमा भारतीय खेलाडी सूर्या (एभरेस्ट), लिबेरोमा शान्तिकला तामाङ (पुलिस)र प्रशिक्षकमा अर्जुन घिमिरे (एभरेस्ट) उत्कृष्ट चुनिए । सर्वोत्कृष्ट हुनेले जनही ४० हजार र विधागत उत्कृष्टले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।

यस प्रतियोगिताबाट पुरुषतर्फ आठ र महिलाका ६ टिम अर्को वर्ष हुने आठौं एनभीए महिला तथा पुरुष भलिबल लिगका लागि छनोट भएका छन् । महिलातर्फ पुलिस, न्यु डायमन्ड, एपीएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश तथा पुरुषतर्फ हेल्प नेपाल, आर्मी, पुलिस, एपीएफसँगै कोशी, सुदूरपश्चिम, बूढानीलकण्ठ र गण्डकी प्रदेश छनोट भएको आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?