कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोपीचन्द्रले लन्डन म्याराथन दौडिने

काठमाडौँ — धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने भएका छन् । नेपालगन्ज म्याराथनको उपाधि जितेको हैसियतमा नेपाल एपीएफ क्लबबाट खेल्दै आएका गोपीले अप्रिल २१ मा हुने लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

गोपीचन्द्रले लन्डन म्याराथन दौडिने

मंसिर ९ मा भएको नवौं धारा नेपालगन्ज म्याराथन उनले २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा पार गर्दै उपाधि जितेका थिए । नेपालगन्ज म्याराथन प्रालिले आफ्नो रनिङ पार्टनर नेपाल रन युकेको सहकार्यमा पार्कीलाई लन्डन म्याराथनमा उतार्न लागेको हो । त्यसका लागि भिसा प्रकृया पूरा गरिसकेको आयोजकले जनाएको छ ।

गोपीको लन्डनसम्मको सबै खर्च नेपाल रन युकेले बेहोर्ने छ भने अबको दुई महिनाको तयारीको पाटो नेपालगन्ज म्याराथन प्रालिले गर्नेछ । विश्वका ६ उत्कृष्ट म्याराथन सूचीमा रहेको लन्डन म्याराथनमा नेपाली खेलाडीको सहभागिता पक्का हुनु नेपाली खेलकुदका लागि अविस्मरणीय दिन भएको नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले बताए ।

गोपीको लन्डन म्याराथन यात्राले नेपालगन्ज म्याराथन एक खुड्किलो अगाडि बढेको महसुस भएको जनाउँदै अध्यक्ष ठकुरीले भने, ‘पार्कीको यात्राले लन्डन म्याराथनमा अन्य नेपाली खेलाडीका लागि पनि ढोका खोलेको र अर्को वर्षदेखि नेपालगन्ज म्याराथनको महिला विजेतालाई पनि यसमा सहभागिता प्रयास गरिने छ ।’

गोपीले लन्डन म्याराथन दौडिन पाउने भएपछि आफूलाई भाग्यमानी सम्झिएको बताए । सन् २०१९ मा नेपालमै भएको दक्षिण एसियाली खेलकुदमा ५ हजार दौडमा स्वर्ण जितेका उनले दुई वर्षअघि पनि नेपालगन्ज म्याराथन जितेर बर्लिन म्याराथनमा दौडिएका थिए । नेपाल रन युकेका संयोजक सन्तोष राईले नेपाली खेलाडी पनि लन्डन म्याराथनका लागि सक्षम छन् भनेर आफूहरूले यो यात्रा सुरु गरेको जनाए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले लन्डन म्याराथनका लागि छनोट भएकोमा गोपीचन्द्रलाई बधाई दिए ।

प्रकाशित : फाल्गुन ७, २०८० २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?