१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

मकवानपुर गोल्डकप : एपीएफको जितसँगै सेमिफाइनल समीकरण पूरा

सुवास विडारी

मकवानपुर — सशस्त्र प्रहरीको एपीएफले थ्रीस्टार क्लबलाई पराजित गरेसँगै क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा एपीएफले थ्रीस्टारमाथि ४–० गोलअन्तरलेको जीत दर्ता गराएको हो ।

मकवानपुर गोल्डकप : एपीएफको जितसँगै सेमिफाइनल समीकरण पूरा

छैटौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को सेमिफाइनलमा न्यूरोड टिम एनआरटी र राजारानी क्लव धनकुटा तथा एपीएफ र वाग्मती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।

एकपक्षीय खेलमा एपीएफका तर्फबाट विदेशी खेलाडी एनिसेन्ट, सर्ज संग, अनिष महर्जन र प्रदीप लामाले गोल गरेका थिए । खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो ।

थ्रीस्टारमाथि एपीएफले ४५ औं मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो । उनले फ्रिकिकमा गोल गरेका हुन । थ्रीस्टारका डिफेन्डर जीवन गुरुङले प्रदीप लामालाई लडाएपछि एपीएफले फ्रिकिक पाएको थियो ।

खेलको ४ औं मिनेटमा एपफएफका अनिष महर्जनले अग्रता दोब्बर बनाए । दायाँबाट आएको क्रसलाई उनले हेडमार्फत गोल गरेका हुन् । ५८ औं मिनेटमा एपफएफले अर्को गोल थप्यो । प्रदीप लामाको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालको हातबाट फुत्किँदै गोल भएको हो । खेलको ७७ मिनेटमा एपफएफका विदेशी खेलाडी सर्ज संगले चौथो तथा अन्तिम गोल गरे ।

खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

एपफएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति सफल भएको दाबी गरे । उनले आहा राराको उपविजेताको आफ्नो रणनीतिको अगाडि कमजोर सावित भएको बताए । 'पहिलो हाफमै २ गोल गर्ने हाम्रो योजना थियो,' उनले भने ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ २३, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?