कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेब्युमै ‘ए’ डिभिजन च्याम्पियन

पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज एक खेलअघि नै लिग विजेता
हिमेश

काठमाडौँ — अन्ततः त्यही टिमले लिग उपाधि जितेको छ, जसलाई पूर्णतः च्याम्पियन हुने हक थियो । हक बनेको थियो टोलीको प्रदर्शनले । चर्च ब्वाइज युनाइटेड क्लबले डेब्यु सिजनमै मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्यो । लिगको आफ्नो दोस्रो अन्तिम खेलमा च्याम्पियन हुनुको औपचारिकता पूरा गर्न एक अंक आवश्यक थियो । 

डेब्युमै ‘ए’ डिभिजन च्याम्पियन

चर्च ब्वाइजले त्यो एक अंक थ्रीस्टारविरुद्धको निरस बराबरी खेलबाट प्राप्त गर्‍यो । टोलीको यो जित यात्रा कस्तो रह्यो भने यो पछिसम्म सम्झनामा रहनेछ । यसका केही ठोस कारण भने रहे । पहिलो कारण थियो, चर्च ब्वाइजले पहिलोपल्ट नेपाली फुटबलको माथिल्लो डिभिजन खेलेर उपाधि जित्नु । टोली ‘बी’ डिभिजन विजेताका रूपमा ‘ए’ डिभिजन पुगेको थियो । डर थियो, टिमको प्रदर्शक कतै कच्चा रहने त होइन ? सुरुआती केही चरणमा क्लबभित्र कचमच नभएको पनि होइन । खासमा प्रशिक्षक को त ? यसमै दुविधा थियो । तर, एकपल्ट मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन के नियुक्त भए, सबथोक विस्तारै मिल्दै गयो ।

यही क्रममा त हो चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लबको साढे तीन दशक लामो ऐतिहासिक प्रदर्शनको बराबरी गरेको । कीर्तिमान आठपल्टको च्याम्पियन मनाङले ०४२ मा ‘बी’ डिभिजन विजेताका रूपमा ‘ए’ डिभिजन प्रवेश गरेको थियो । मनाङले ०४३ को डेब्यु सिजनमै माथिल्लो डिभिजनको उपाधि जितेका हो । यी दुई टिमको यात्रामा धेरै समानता रहे । जसरी मनाङले लगातार चार डिभिजनको उपाधि लगातार जितेको थियो, चर्च ब्वाइजको प्रदर्शन त्यसकै छेउछाउ रह्यो ।

सम्झनामा सधैं रहने दोस्रो कारण हो, चर्च ब्वाइजले पछिल्लो तीन वर्षमा तय गरेको अद्वितीय यात्रा । टोली स्थापनाको १४ वर्षमा माथिल्लो डिभिजनको लिग च्याम्पियन भएको हो । तर, उपाधिपछि अर्को उपाधिको यात्रा भने जम्माजम्मी तीन वर्षको रह्यो । चर्च ब्वाइजले ०७७ मा ‘सी’ डिभिजनको छनोट पार गरेको थियो । त्यही वर्ष टोलीले ‘सी’ डिभिजन नै जित्यो । वर्ष ०७८ मा चर्च ब्वाइजले ‘बी’ डिभिजन जित्यो । अहिले टोलीको नाममा ‘ए’ डिभिजनको उपाधि लेखिएको छ ।

यसै क्रममा चर्च ब्वाइज ‘ए’ डिभिजन जित्ने १६ औं टिम बनेको छ । नेपालमा सहिद स्मारक लिग इतिहास निकै पुरानो छ । त्यसको ४३ औं संस्करण चर्च ब्वाइजले जितेको हो । चर्च ब्वाइजले २५ औं चरणको खेल बराबरी खेलेपछि टोलीको ४५ अंक भएको छ । यो दोस्रो स्थानको मछिन्द्र क्लबमाथि ६ अंकको अग्रता हो ।

मछिन्द्रले आफ्नो अन्तिम दुई खेल जित्ने हो भने ४५ अंक नै हुनेछ । तर, चर्च ब्वाइजसँग ‘हेड टु हेड’ मा पछाडि पर्नेछ । यी दुई टिमबीचको पहिलो खेल गोलरहित बराबरीमा टुंगिको थियो भने दोस्रो खेलमा चर्च ब्वाइज २–१ ले वियजी रह्यो । यससँगै मछिन्द्रको लगातार तेस्रोपल्ट लिग उपाधि जित्ने सम्भावना समाप्त भएको छ । पछिल्ला दुई संस्करणको विजेताका रूपमा मछिन्द्र डिफेन्डिङ च्याम्पियन रहेको थियो, अब टोलीको त्यो हैसियत गुमेको छ । जहाँ यसपल्ट चर्च ब्वाइजको प्रदर्शन ऐतिहासिक रह्यो, त्यहीं मछिन्द्र भने उपाधिको ह्याट्रिक गर्ने ऐतिहासिक अवसरबाट चुकेको छ ।

प्रशिक्षकका लागि ‘गुरुदक्षिणा’

किन हो, लिग जितिसकेपछि चर्च ब्वाइजले भने खुसियाली ढंगले मनाउन सकेन । सायद बानी पनि परेको थिएन । थ्रीस्टारविरुद्ध खेल सकिनेत्तित्तिकै जुन खुसियाली मनाउने अपेक्षा थियो, त्यो केही भएन । बरु टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र प्रमुख दुई खेलाडी कप्तान अनन्त तामाङ र अञ्जन विष्ट खुसी देखिए । तीनै जनाले आफूहरू वास्तवमै खुसी भएको दाबी गरे । अझ प्रशिक्षक महर्जन केही भावुक देखिए ।

उनले भने, ‘मेरा दुई खेलाडीले लिग उपाधि मलाई गुरुदक्षिणाका रूपमा दिलाए ।’ प्रशिक्षकका रूपमा कम उमेरदेखि नै महर्जनले अनन्त र अञ्जनको पुस्ता हुर्काए, बढाए । तिनै खेलाडीको मदतमा उनले प्रशिक्षकका रूपमा आफ्नो खेलजीवनको पहिलो लिग उपाधि जिते । महर्जनले आठौं चरणदेखि चर्च ब्वाइज सम्हालेका हुन् । ‘सुरुमा टिममा अन्योलता थियो, केही न केही मिलेको थिएन । तर, सर (प्रशिक्षक महर्जन) आउनुभएपछि सबथोक मिल्दै गयो,’ अञ्जनले सुनाए ।

उनले चर्च ब्वाइजको सफलताको यात्रालाई यसरी वर्णन गरे, ‘पूरा टिमलाई जसरी व्यवस्थापन गरिएको थियो, त्यही कारणले यो लिग उपाधि सम्भव भएको हो । यसमा खेलाडीको मिहिनेत त छँदै छ, हामीलाई खेल्ने स्थानसम्म पुर्‍याउनुहुने चालकदेखि हामीलाई खानाको व्यवस्था गर्नेसम्मको यो सफलतामा योगदान छ । एउटा सटीक व्यवस्थापनकै कारण हामी लिग च्याम्पियन भएको हौं, त्यसैले सबै खुसी छौं ।’ कप्तान अनन्तले पनि यो सफलताको सबै श्रेय खेलाडीदेखि व्यवस्थापनलाई दिन चाहे ।

‘रेलिगेसन ब्याटल’ चर्कंदै

यसपल्टको लिगमा च्याम्पियन हुने टिमको त निर्णय भयो । तर, रेलिगेसनमा कुन–कुन दुई टिम पर्ने हो, त्यसको भने कुनै टुंगो छैन । मंगलबारको अर्को खेलमा खुमलटारले एपीएफलाई हराएपछि त ‘रेलिगेसन ब्याटल’ अझ चर्किएको छ । यो जितपछि खुमलटारको २७ अंक भएको छ । टोली १३ औं स्थानमा उक्लेको छ । एक खेल कम खेलेको फ्रेन्ड्स भने अन्तिम स्थानमा झरेको छ । टोलीसँग २६ अंक छ । पराजित थ्रीस्टारमाथि पनि उत्तिकै तनाव छ ।

तीनपल्टको लिग च्याम्पियन थ्रीस्टार २९ अंकसहित १२ औं स्थानमा छ । लिग सकिँदा रेलिगेसनले को कसलाई तान्ने हो, त्यसबारे अनुमान गर्न नै गाह्रो स्थिति छ । सम्भवतः ३० अंकमा रहेका एपीएफ, संकटा र एनआरटी पनि सुरक्षित हुन सकेका छैनन् । तनाव र डर योभन्दा माथिको टिमलाई पनि हुन सक्छ । कम्तीमा एनआरटी र संकटासामु एक थप खेल खेल्न पाउने फाइदा छ । सम्भवतः लिगको अन्तिम चरणका खेल निकै नाटकीय र अनपेक्षित हुन सक्नेछ ।

च्यासल रंगशालामा खुमलटारका लागि मेसुके ओलामोउले दुई र स्टेफन विनोङले एक गोल गरे । ओलामोउले ११ र पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । विनोङले भने ५१ औं मिनेटमा तेस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एपीएफका सनिश श्रेष्ठले फर्काएको एक गोल सान्त्वनामा सीमित भयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको विभागीय डर्बीमा त्रिभुवन आर्मीले पुलिसविरुद्ध दिनेश हेम्जनको गोलमा दोस्रो मिनेटमै सुरुआती अग्रता लिएको थियो । पहिलो हाफकै ३९ औं मिनेटमा पुलिसका अहमद हिजाईले बराबरी गोल फर्काए । यो नतिजापछि पुलिसको ३८ अंक भएको छ भने आर्मीले ३१ अंक लेखाएको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा सातदोबाटोले जावलाखेललाई एक गोलले पराजित गर्‍यो । त्यसमा सार्डोकबेक मतमुराटोभले ७४ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोको ३५ अंक भएको छ भने जावलाखेल ३७ अंकमै सीमित रह्यो । जावलाखेल चौथो स्थानमा छ भने सातदोबाटो ठीक पछाडि छ ।

आजका खेल

मनाङ मर्स्याङ्दीविरुद्ध एनआरटी

हिमालयन शेर्पाविरुद्ध मछिन्द्र

संकटाविरुद्ध फ्रेन्ड्स

प्रकाशित : जेष्ठ २४, २०८० ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?