कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य प्रिमियर गल्फ मंगलबारदेखि

नम्बर एकको होडमा भुवन र शुक्र

काठमाडौँ — सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपले भुवन नगरकोटी र शुक्रबाहादुर राईमध्ये यस वर्ष नम्बर एक गल्फर को हुने टुंगो लगाउने छ । सूर्य नेपाल गल्फ टुरमा यस वर्षको अन्तिम प्रतियोगिता मंगलबार गोकर्ण गल्फ क्लबमा सुरु भई चार दिन चल्नेछ ।

सूर्य प्रिमियर गल्फ मंगलबारदेखि

प्रत्येक दिन १८ होल गरी कुल ७२ होलको खेल हुनेछ । १५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशिको प्रतियोगिता विजेताले २ लाख ७० हजार र उपविजेताले १ लाख ७० हजार पाउनेछन् । तेस्रोदेखि पाँचौं हुनेले क्रमशः १ लाख २० हजार, १ लाख र ८६ हजार पाउने छन् । शीर्ष २१ भित्र पर्नेले नगद पुरस्कार पाउने छन् । ४१ व्यावसायिक र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सूर्य नेपाल गल्फ टुरबाट पुरस्कार रकमबाट प्राप्त नगदका आधारमा वर्षको नम्बर एकदेखि अन्य वरीयताका खेलाडी छानिने प्रावधान छ ।

यस वर्ष भएका सात प्रतियोगिताबाट भुवन ५ लाख १३ हजार ५ सय रुपैयाँ पुरस्कार जितेर शीर्षस्थानमा छन् । पछिल्ला दुई प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज र एपीजीए टुर च्याम्पियनसिप गुमाएका नम्बर एक गल्फर शुक्रबहादुर राई ४ लाख ४९ हजार पुरस्कार राशि जितेर दोस्रो स्थानमा छन् । त्यसैले यी दुईबाटै यस वर्षको शीर्ष खेलाडी को बन्ने भन्ने टुंगो लाग्ने छ ।

नेपाल प्रोफेसनल गल्फ संघ (एनपीजीए) का महासचिव दीपक आचार्यले नगदका हिसाबमा नम्बर एक खेलाडी छानिने गल्फ इतिहासको परम्परा नै रहेको बताए । ३ लाख ५२ हजार ५ सय रुपैयाँका साथ सञ्जय लामा तेस्रो र दिनेश प्रजापति ३ लाख ६ हजार ५ सय रुपैयाँका साथ चौथो स्थानमा छन् । उनीहरू पनि गणितीय हिसाबमा नम्बर एक बन्ने दौडमा छन् ।

एमेच्योरतर्फका शीर्ष दुई खेलाडी सुवास तामाङ र सद्भाव आचार्यले व्यावसायिक खेलाडीलाई चुनौती दिने अपेक्षा राखेको महासचिव आचार्यले जनाए । यी दुईले पछिल्लो दुई प्रतियोगिता जितेका छन् । पहिलो दुई दिनको प्रर्दशनका आधारमा शीर्ष २१ खेलाडीले अन्तिम दुई दिनको फाइनल राउन्डमा शीर्ष ६ एमेच्योर खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार २५ व्यावसायिक र १ सय एमेच्योर खेलाडीले प्रो–एममा प्रतिस्पर्धा गर्नेछन् ।

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले शीर्ष दुई खेलाडीको प्रतिस्पर्धासहित पछिल्लो दुई प्रतियोगिता एमेच्योर खेलाडीले जितेको पृष्ठभूमिमा सूर्य नेपाल प्रिमियर रोमाञ्चक हुने अपेक्षा गरे । प्रतियोगितालाई सूर्य नेपाल प्रालिले प्रायोजन गर्दै आएको छ । यस वर्षदेखि सम्झौता सकिन लागेकाले नवीकरणको प्रयासमा रहेको संघका महासचिव आचार्यले जनाए ।

प्रकाशित : जेष्ठ २२, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?