कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो दिन सुवासको अग्रता

काठमाडौँ — सुवास तामाङले नवौं नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको पहिलो दिन सोमबार ६ अन्डर ६६ को सानदार प्रदर्शन गरेका छन् ।

पहिलो दिन सुवासको अग्रता

नेपाल गल्फ संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्ट क्लबमा भएको प्रतियोगिताको पहिलो दिन सुवासले भारतका सुमित कोटवाल र नेपालका सद्भाव आचार्यलाई दुई स्ट्रोकले पछि पारेका छन् ।

सुमित र सद्भाव ४ अन्डर ६८ सहित संयुक्त दोस्रो स्थानमा छन् । भुटानका युगेन दोर्जी ३ अन्डर ६९ सहित चौथो र बंगलादेशका मोहम्मद सुमोन पाँचौ स्थानमा छन् । उनले २ अन्डर ७० मा खेल सके । नेपालका टासी छिरिङ १ अन्डर ७१ सहित छैटौं स्थानमा रहे ‌।

१३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एवं नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले फ्रन्ट नाइन १ अन्डर ३५ मा टुंग्याए । उनले पहिलो, तेस्रो र चौथो होलमा एक–एक शट बचाए । तर आठौ र नवौं होलमा लगातार दुई बोगी खेपे । यसपछि ब्याक नाइनमा सम्हालिँदै ५ अन्डर ३१ को सानदार प्रदर्शन गरे । उनले १०, १२ र १७ औं होलमा बर्डी प्रहार गर्दा ५ पारको १५ औं होलमा इगलको सफलता प्राप्त गरे ।

संयुक्त दोस्रो स्थानमा रहेका भारतीय सुमितले फ्रन्ट नाइन २ अन्डर ३४ मा सके । तेस्रो, चौथो, सातौ र नवौं होलमा बर्डी प्रहार गरे । तर, छैटौं होलमा डबल बोगीको सामना गरे । ब्याक नाइन पनि २ अन्डर ३४ मा नै टुंग्याए । उनले १०, ११ र १३ औं होलमा एक–एक सट बचाए पनि १७ औं होलमा बोगी प्रहार गरे ।

सद्भावले फ्रन्ट नाइन ३ अन्डर ३३ मा पुरा गर्नेक्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन भने १ अन्डर ३५ मा सकाए । ११ र १७ औं होलमा एक–एक शट बचाए भने १६ औं होलमा बोगी खेपे ।‌

टिमतर्फ भुटानलाई ८ स्ट्रोकले पछि पार्दै नेपाल शीर्षस्थानमा छ । नेपालले १० अन्डर १ सय ३४ को सानदार स्कोर बनायो । । सुवासले ६ अन्डर ६६ र सदभावले ४ अन्डर ६८ को स्कोर बनाए । २ अन्डर १ सय ४२ सहित भुटान दोस्रो स्थानमा छ । युगेन दोर्जीले ३–अन्डर ६९ र कर्मा दोर्जीले १ ओभर ७३ अंक जोडे । १–ओभर १ सय ४५ सहित तेस्रो स्थानको बंगलादेशबाट मोहम्मद सुमोनले २–अन्डर ७० र सफिफुल इस्लामले ३–ओभर ७५ स्कोर गरे ।

महिलातर्फ नेपालका खेलाडी पहिलो तीन स्थानमा छन् । सुष्मा सिग्देलले ५ ओभर ७७, कश्मिरा शाहले ६ ओभर ७८ र जुनी गुरुङले २३ ओभर ९५ को स्कोर बनाएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले होल नम्बर १ बाट टी शट प्रहार गरी प्रतियोगिताको उद्द्धाटन गरे । ४५ पुरुष र ७ महिला गल्फरको सहभागितामा रहेको प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा छ । ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडी सहभागी छन् ।

प्रकाशित : जेष्ठ १५, २०८० २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?