कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पा गोल्डकप : उद्घाटन खेलमा पाल्पा–११ को विजयी सुरुवात

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेन टुँडिखेलमा सोमबारदेखि कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गरेको छ ।

पाल्पा गोल्डकप : उद्घाटन खेलमा पाल्पा–११ को विजयी सुरुवात

पाल्पाका लागि दुवै गोल आशिष रानाले गरे । खेल सुरु भएको १२ औं मिनेटमा आशिषले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । पहिलो हाफमै पाल्पाका मनिष गाहाले ३९ मिनेटमा पहेँलो कार्ड पाए । लिस्नु क्लब रुपन्देही पहिलो हाफमा रक्षात्मक खेलेको थियो । दोस्रो हाफको ९ मिनेटमा पुनः पाल्पा–११ का आशिषले अर्को गोल थपेर टिमलाई जिताए ।

दोस्रो हाफमा आक्रामक खेलेको लिस्नु गोल गर्नबाट चुक्यो । पाल्पा–११ का सन्दीप केसी ६ र सुरज रन्जनले ४२ मिनेटमा पहेँलो कार्ड पाए । म्यान अफ द म्याच घोषित आशिषले नगद ३ हजार पाए । उनी यसअघि काठमाडौंको ‘बी’ डिभिजन क्लब सामाजिकबाट खेलेका थिए ।

मंगलबारको खेल रुपन्देही ११ र नवलपरासी पूर्वको २८ बिघाबीच हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए । लिस्नुलाई पराजित गरेको पाल्पा १९ गते शुक्रबार फोर ब्रदर्स नवलपरासी पश्चिमसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), रोड्स रामपुर एफसी चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् । समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् । समूह ‘ए’ मा रोड्स रामपुर र गार्डेन पोखराबीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

तानसेनमा सुरु प्रतियोगिताको प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले उद्घाटन गरे । उनले पाल्पा गोल्ड कपलाई आगामी वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता तालिकामा पार्न सुझाव दिए । उनले प्रदेश खेलकुद परिषद्, लुम्बिनीबाट नीति, नियम, ऐन, कानुनले मिलेसम्म सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । नकआउटको आधारमा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ रुपैयाँ, ट्रफि पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए । प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याचले ३ हजार पाउनेछन् । विधागत उत्कृष्टले जनही ६ हजार पाउनेछन् ।

प्रकाशित : जेष्ठ १५, २०८० २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?