कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमेच्योर गल्फ आजदेखि

काठमाडौँ — नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता सोमबारदेखि गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदै छ । नेपाल गल्फ संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन् ।

एमेच्योर गल्फ आजदेखि

टिम इभेन्ट र व्यक्तिगतमा कुल ४५ पुरुष र ७ महिला खेलाडीले प्रस्पिर्धा गर्दै छन् । प्रत्येक दिन १८ होल गरेर तीनदिने प्रतियोगिता कुल ५४ होलको हुनेछ । नेपाल गल्फ संघका निर्देशक दीपक आचार्यका अनुसार एमेच्योर विधामा यो सबैभन्दा ठूलो प्रतियोगिता हो । मे २९ मा सगरमाथा दिवस मनाउने क्रममा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको कुल बजेट २६ लाख रहेको छ । पर्यटन बोर्डसहित राष्ट्रिय खेलकुद परिषद्, वाग्मती प्रदेश खेलकुद परिषद्, गोकर्ण फरेस्ट रिसोर्ट र होटल रोयल सिङ्गीले प्रतियोगितालाई सहयोग गरिरहेका छन् । प्रतियोगितामा सहभागी सबै खेलाडीलाई गल्फ संघले खाने र बस्ने व्यवस्था मिलाएको आचार्यले जनाए ।

‘गल्फ पर्यटन कसरी बढाउन सकिन्छ भनेर यो प्रतियोगिता आयोजना गरिरहेका छौं, यो प्रतियोगिता पोखरा, लोमांथाङलगायतका स्थानमा पनि आयोजना गर्ने योजनामा पर्यटन बोर्डसँग सरसल्लाह गरिरहेका छौं,’ अघिल्लो दिनमात्र गल्फ संघमा पुनः अध्यक्ष बनेका टासी घलेले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।

टिम इभेन्टमा नेपालबाट सुवास तामाङ र सद्भाव आचार्यले प्रतिस्पर्धा गर्दै छन् । उनीहरूसहित नेपालबाट खुलामा तासी छिरिङ, वाङचेन ढोन्डुप, हृदेशकुमार सिंह, विजय श्रेष्ठ इनहस, तासी डोङ, नोर्बु शेर्पा, विष्णु कार्की, किशोर बस्न्यात, रनदीप थापा, बाबु पौडेल, कवि थापा, प्रवीण शाही ठकुरी, प्रदीप केसी, अशोक सिंह, भरत थापामगर, निष्कर्ष घले, सुष्मा सिग्देल, कस्मिरा शाह, आर्सिया बानु, आइसटिना टन्डन, लक्ष्मी दास, जीवराम गुरुङ, गणेश गुरुङ, याम राना, जुनी गुरुङ, सुन्दर राई, सुस्मिता लिम्बू, प्रकृत तामाङ, भरत तामाङ, हितराज लिम्बू, लक्ष्मीप्रसाद लिम्बू, सन्तोष कार्की र सिद्धान्त सापकोटाले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा पाकिस्तानका ३, बंगलादेशका २, भुटानका ४ र भारतका ७ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा प्रायः सबै देशका शीर्ष एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेको आचार्यले जनाए । यो प्रतियोगिताले विश्व एमेच्योर वरीयतामा पनि स्थान राखेको उनले बताए ।

नेपाली खेलाडीको प्रदर्शनका बारेमा आचार्यले भने, ‘नेपाल प्रतियोगिताको दाबेदार हो । दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका हामी अहिले एसियाली स्तरमै राम्रो खेलिरहेका छौं । त्यसैले नेपाली खेलाडीले जितेनन् भने आश्चर्य मान्नुपर्ने हुन्छ ।’

प्रकाशित : जेष्ठ १५, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?