१७ औं एनएनआईपीए अवार्डको तयारी पूरा : महासचिव गोथे

कान्तिपुर संवाददाता

काठमाडौँ — १७ औं संस्करणको एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ ।

चैत २० गते सोमबार राजधानीमा हुने अवार्डको सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव शिवसुन्दर गोथेले शनिबार पत्रकार सम्मेलनमा बताए ।

विगत वर्षमा उपत्यकाका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलमा गरिँदै आएको अवार्ड यसपालि आफ्नै स्रोतबाट होटलमा गरिन लागेको महासचिव गोथेले बताए ।

यस अवार्डमा नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट वर्ष खेलाडीसहित पाका खेलव्यक्तित्व, वर्षका पारा खेलाडी, प्रतिभाशाली खेलाडीलाई सम्मान गरिनेछ । २७ खेलका उत्कृष्टले जनही १० हजार पाउनेछन् । त्यसमध्येबाट सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही एक लाख, प्रतिभाशाली महिला र पुरुष खेलाडीले जनही ५० हजार, पाका खेलव्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्वलाई ३५ हजार, वर्ष पारा खेलाडीलाई १५ हजारबाट सम्मानित गरिनेछ । त्यस्तै एक खेलपत्रकार एनएनआईपीए खेल पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

यसपालि फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबलटेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, पौडी, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्‍याफ्टिङ, भलिबल, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् । विगतमा कार्यक्रमअगाडि नै हरेक खेलको वर्ष खेलाडी छान्ने गरिए पनि यसपालि कार्यक्रमकै दिन उत्कृष्ट वर्ष खेलाडीको घोषणा गरिने संघका उपमहासचिव मन्डेकाजी श्रेष्ठले बताए । सम्बन्धित खेल संघको सिफारिसमा वर्षको उत्कृष्ट खेलाडी छान्ने गरिएको उनले जनाए ।


प्रकाशित : चैत्र १८, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

कलैयामा उपनिर्वाचन कार्यालय स्थापना

लक्ष्मी साह

बारा — आउँदो वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि सदरमुकाम कलैयामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ को कलैयामा शनिबार स्थापना गरिएको हो । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

मितव्ययिता (कम खर्च) लाई ख्याल गर्दै निर्वाचन हुने क्षेत्रबाहिर कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए । उनकाअनुसार अन्य जिल्लामा समेत उपनिर्वाचनको कार्यालय सदरमुकाममै स्थापना गरिएकोले यहाँ पनि सोहीअनुसार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको कार्यालयमा मुख्य निर्वाचन अधिकृतमा बारा जिल्ला अदालतका २ नम्बर इजलासका न्यायाधीश मुकेश उपाध्यायलाई तोकिएको छ । उपनिर्वाचनका लागि यही २० गते सोमबार मनोनयन दर्ताको मिति तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार उपनिर्वाचन हुने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५ हजार मतदातामा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन् । मतदानस्थल ८२ र कतदान केन्द्र १ सय ३६ छन् । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका छन् ।

देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन् । जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको यो निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । गत मंसिरको प्रतिनिधिसभ चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएको छ । त्यसैका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : चैत्र १८, २०७९ १८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×