विराट गोल्डकप : साविक विजेता एपीएफ सेमिफाइनलमा

विनोद भण्डारी

विराटनगर — साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ)ले सातौं विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शनिबार भुटानको ड्रक लयुल फुटबल क्लबलाई २–१ गोलले हराउँदै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो । एपीएफले छैठौं संस्करणमा भारतको पञ्जाव पुलीसलाई हराएर उपाधि जितेको थियो ।

एपीएफका लागि युवराज खड्का र अर्मन्द बेडमले गोल गरे । भुटानका तर्फबाट फोफोना इब्राहीमले सान्त्वना गोल गरे ।

खेलको तेस्रो मिनेटमै एपीएफका युवराजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हरि कार्कीले निकालेको क्रसपासलाई हेडिङ गर्दा भुटानका गोलरक्षक हरि गुरुङ प्रतिक्रियाविहीन देखिए ।

एपीएफका लागि निर्णायक गोल इन्जुरी समयको अन्तिम क्षणमा अर्मन्दले पेनाल्टीमार्फत गरे । भुटानका कान्ते मुसाले पेनाल्टी क्षेत्रमा बललाई ह्यान्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई अर्मन्दले गुमाएनन् । ह्यान्डसँगै भुटानका मुसाले रातोकार्ड पाएर मैदान पनि छाडे । खेलको ३३ औं मिनेटमा भुटानका फोफोनाले गोल गर्दै टिमलाई १–१ गोलको स्थितिमा ल्याएका थिए । उनले कप्तान स्याङगे दोर्जीको पास सदुपयोग गरेका थिए । शनिबारको खेलमा एपीएफका अर्मन्द बेडम म्यान अफ द म्याच भए ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । आइतबारको अन्तिम क्वाटरफाइनल खेल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्लबबीच हुनेछ ।



प्रकाशित : चैत्र ११, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्

बसन्ती शाहीको ‘समय सकस’ सार्वजनिक

ज्योति कटुवाल

सुर्खेत — अधिकारकर्मी एवं लेखक बसन्ती शाहीको पुस्तक ‘समय सकस’ शनिबार सार्वजनिक गरिएको छ । कोरोना महामारीको अनुभव र अवस्था झल्काउने उक्त पुस्तक कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, साहित्यकार महुेन्द्रकुमार मल्ल, देवकी तिमिल्सेना र बालरोग विशेषज्ञ डा. नमराज केसीलगयातले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

कर्णाली प्रदेश लोकसेवा आयोग सदस्यसमेत रहेकी शाहीले पुस्तकमा विश्वभर महामारीका रुपमा फैलिएको कोभिडले पारेको मावीय संकट र आर्थिक संकटको सामाना गर्नु परेको कुरालाई मुख्य एजेण्डाका रुपमा ब्याखा गरेकी छन् ।

पुस्तकमा नेपालको अर्थतन्त्र र जनजीवनमा समेत पारेको असर, राज्यको भूमिका साथै लापर्बाहीका विषयलाई पनि गम्भीर रुपमा उठाइएको छ ।

कार्यक्रममा साहित्यकार देवकी तिमल्सिनाले आफ्नै घर, छिमेक र देशमा भएका घटनालाई बटुलेर कोरोना र लकडाउनको समय सन्दर्भमा रहेर पुस्तकमा चर्चा गरिएको र लेखन मर्मस्पर्शी रहेको बताइन् ।

लकडाउनको डायरीकै रुपमा लेखिएको यस पुस्तकमा व्यक्त विचार शब्द चित्रका रुपमा अभिलेख भएको तिमिल्सिनाले बताइन् ।

यस्तै बालरोग विशेषज्ञ नमराज केसीले यो पुस्तक अहिलेको पुस्ता र भावी पुस्ताहरुका लागि दस्तावेज हुने बताए । साथै युवा मात्र नभएर अनुसन्धानकर्ताहरूका लागि पनि यो पुस्तक उपयोगी हुने डा. केसीको भनाइ छ ।

विश्वविद्यालयका पूर्वरिजष्टार तथा साहित्यकार महेन्द्र मल्लले अत्यासलाग्दो सकसपूर्ण समयलाई समेटेर बनेको यो पुस्तक वर्तमान समाजको अभिलेख रहेको बताए । समग्र विश्वलाई ८३ दिनमै अटाउनसक्नु पुस्तकको बलियो पक्ष रहेको उनको भनाइ छ ।

लेखक शाहीले भोलिका लागि इतिहास बनोस् भनेर यो पुस्तक लेखेको प्रतिक्रिया दिएकी छन् । पुस्तकमा मानवीय संवेदनामा राज्यबाट संचालकहरुले देखाउने स्वार्थी गतिविधि र अमानवीय हर्कतको भण्डाफोर गरिएको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

प्रकाशित : चैत्र ११, २०७९ २१:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×