थ्री नेसन्सकप

लाओसलाई हराएर नेपाल फाइनल नजिक

हिमेश

काठमाडौँ — नेपालले थ्री नेसन्सकपमा बुधबार लाओसलाई हराएर फाइनलको नजिक पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० ले विजयी रह्यो ।

नेपालले अब मंगलबार भुटानको सामना गर्नेछ । त्यसअघि शनिबारको खेलमा लाओस र भुटान खेल्नेछन् । तीन टिम सहभागी प्रतियोगिताको लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहनेले फाइनल यात्रा तय गर्नेछ ।

खेलको सबैभन्दा ठूलो विशेषता नवयुग श्रेष्ठको उत्कृष्ट गोल रह्यो । उनले ३५ यार्डबाट गरेको भलि प्रहार लाओसका गोलरक्षक जेसभाथलाई कुनै अवसर दिएर सुन्दर गोलमा परिणत भएको थियो । नेपालका लागि उनको यो व्यक्तिगत आठौं गोल हो । सन् २०२१ यता दुई वर्षको अन्तरमा उनले नेपालका लागि गोल गरेका हुन् ।

त्यस अगाडि अनन्त तामाङले ३० औं मिनेटमा नेपालका लागि गोलको खाता खोले । नवीन लामाको कर्नरमा अनमार्क रहेका अनन्तले हेडबाट गोल गरे । नेपालका लागि अनन्तको यो तेस्रो गोल हो । नेपालले लाओसलाई हराएको यो दोस्रो पल्ट हो । अहिलेसम्म नेपालले तीन पल्ट लाओसको सामना गरेकोमा एक खेल बराबरीमा टुंगेको छ ।

यस खेलबाट एपीएफका सनिस श्रेष्ठ र मणी लामा, सातदोबाटोका दीपकराज सिंह ठकुरी र मनाङ मर्स्याङ्दीका सुमित श्रेष्ठले नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् । सनिस सुरुदेखि नै खेलेका थिए भने मणी, दीपकराज र सुमित दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । इटाली प्रशिषक भिन्सेन्जो अल्बर्टोको नेतृत्वमा नेपालले खेलेको यो नै पहिलो खेल हो ।

प्रकाशित : चैत्र ८, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्

दराजका उत्कृष्ट विक्रेतालाई १० हजार रुपैयाँ बराबरको भौचर प्रदान 

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन ई कमर्स प्लेटफर्म दराज नेपालले उत्कृष्ट विक्रेतालाई ट्रफीसहित १० हजार रुपैयाँ बराबरको भौचर प्रदान गरेको छ । गत आइतबार सम्पन्न कम्पनीको सेलर समिट मार्फत विक्रेतालाई प्रोत्साहन स्वरुप भौचर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतले ई कमर्स प्लेटफर्मको महत्त्वबारे चर्चा गरेका थिए । समारोहमा सचिव मरासिनीले नेपालमा अब ई कमर्स उद्योगको प्रचुर संभावना रहेको बताए ।

त्यस्तैगरी दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले गत वर्षमा कम्पनीले गरेका उपलब्धी तथा आगामी कार्ययोजनाबारे चर्चा गरिन् । महासंघका अध्यक्ष गोल्छाले ईकमर्स प्लेटफर्मबाटै डिजिटल अर्थतन्त्रमा जान सकिने र यसले पारदर्शिता समेत बढ्ने बताए । दराजले आफ्ना बिक्रेता र ग्राहकलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ । विगत पाँच वर्षदेखि नेपालमा ईकमर्स प्लेटफर्मको रुपमा कार्य गर्दै आएको दराजले अहिलेसम्म विक्रेताको संख्या १८ हजार भन्दा बढी पुगेको दाबी गरेको छ । कम्पनीका अनुसार प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ता छन् भने नेपालका १०१ शहरहरूमा डेलिभरीको सुविधा छ ।


प्रकाशित : चैत्र ८, २०७९ २०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×