कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभा च्यालेन्ज कपमा आठ देश

काठमाडौँ — दक्षिण तथा मध्य एसियाली क्षेत्रको मुख्य प्रतियोगिताको रूपमा ल्याइएको ‘काभा महिला वुमेन्स च्यालेन्ज कप’ जेठ ६ देखि १५ सम्म काठमाडौंमा आयोजना हुँदै छ, जहाँ आठ देशका राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

काभा च्यालेन्ज कपमा आठ देश

दक्षिण एसियाका घरेलु टिम नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश तथा मध्य एसियाका कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानले काभा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भने, ‘पहिला सेन्ट्रल एसिया जोनलाई दुई तहमा वर्गीकरण गरी च्याम्पियसिप आयोजना गरिन्थ्यो, जसमा ‘ए’ क्याटगोरीमा ९ र ‘बी’ मा ५ टिम रहेको बेग्लै प्रतियोगिता हुन्थ्यो । यसपालि सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले नाम परिवर्तन गरी ‘काभा वुमेन्स च्यालेन्ज कप’ सञ्चालन गर्न लागेको हो । लगातार तेस्रोपल्ट स्वर्णपदक जित्दै ह्याट्रिक गर्नका लागि तयारी गरिरहेका छौं ।’

नेपाली महिला टिमले एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा पछिल्लो दुवै संस्करण जितेको थियो ।

प्रतियोगिता आयोजनाबारे अध्यक्ष चन्दले भने, ‘प्रतियोगिता आयोजना, विदेशी कोच ल्याएर टिमको तयारी गर्न मनोबल बढाउने र सहयोग गर्ने काम राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरिरहेको छ । कभर्डहल (त्रिपुरेश्वरस्थित) मा चेन्जिङ रुम, शौचालय, बत्ती, पार्केटिङ, ढल निकास, रंगरोगन र व्यवस्थापनको काम सुरु भइसकेको छ । राखेपकै सहयोगअनुसार प्रतियोगिता आयोजनाको तयारी गरिएको हो । यस्तो सहयोग पहिला कहिल्यै पाइएको थिएन ।’

‘भलिबलका लागि छुट्याएको ५० लाख रुपैयाँ यसमा (काभा च्यालेन्ज कप) खर्च गर्नेछौं । यसले नपुग्न सक्छ र त्यस्तो भएमा अन्य शीर्षकबाट पनि खर्च गर्नेछौं,’ राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्दा पाउने बजेट पनि छुट्याइएको छ । त्यसैले चिन्ता लिनुपर्दैन । अर्को कार्यक्रम पनि तयार गर्नुस्, सहयोग गर्न तयार छौं । नेपाली टिमले उपाधिमा ह्याट्रिक गरेको हेर्न चाहन्छु ।’ च्यालेन्ज कप आयोजनामा २ करोड ५० लाख खर्च हुने अनमुान संघको छ ।

प्राथमिकतामा कभर्डहल

भलिबलनिम्ति कभर्डहल निर्माणको योजना राखेपको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सदस्यसचिव घिसिङले भने, ‘राष्ट्रिय खेलको कभर्डहल निर्माणका लागि डीपीआर (विस्तृत अध्ययन प्रतिवेदन) असार मसान्तसम्म सार्वजनिक गर्नेछौं । अन्तर्राष्ट्रिय स्तरको कभर्डहललाई पहिलो प्राथमिकतामा राखेका छौं । ठाउँ निश्चित गरेर आउने आर्थिक वर्षको पहिलो त्रैमासिकमै टेन्डर आह्वान गरेर निर्माण प्रक्रिया अगाडि बढाउने छौं ।’ मध्यपुर थिमि र कागेश्वरीमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसमध्ये एक ठाउँको टुंगो एक महिनाभित्रै लगाउन पनि उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?