२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘डेब्यु’मै चर्च ब्वाइज सफल र थ्रीस्टारको हार

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘डेब्यु’ मा पछाडि परेको स्थिति उल्टाउँदै च्यासल रंगशालामा शनिबार पुलिसलाई २–१ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

‘डेब्यु’मै चर्च ब्वाइज सफल र थ्रीस्टारको हार

उपत्यकाको शीर्ष श्रेणीको लिगमा २०६३ सालदेखि लगातार तीनपल्ट च्याम्पियन भएपछि ओरालो लागेको पुलिसलाई रविशंकर पासवानले १४ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, युवा खेलाडीले भरिएको टिमले अग्रता जोगाउन सकेन । आशिष चौधरीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै चर्च ब्वाइजलाई १–१ को बराबरीमा पुर्‍याएका थिए । पुलिसका खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीमा फ्रयांकलिन कुएटा टल्लाले ७० औं मिनेटमा गोल गरेपछि चर्च ब्वाइजले शीर्ष लिगको डेब्युमै ३ अंक जोडेको हो ।

चर्च ब्वाइजले घरेलु फुटबलमा चलेका खेलाडीहरू अनन्त तामाङ, एरिक विष्ट, तेज तामाङ, दिनेश राजवंशी, अञ्जन विष्टलगायतलाई भित्र्याएर पहिलो सिजन नै ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने योजना बनाएको थियो । तर, तेज र दिनेश अस्ट्रेलिया गए । अञ्जन आई लिग क्लब केन्क्रेमा खेलिरहेका छन् । तैपनि अरू क्लबको तुलनामा चर्च ब्वाइजले राम्रै बनाएको छ ।

‘टिमअनुसार प्रदर्शन भएन,’ पहिलो खेलपछि चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले भने, ‘कमजोरीहरू भएको छ । यसलाई सुधार गर्दै जाने छौं । हाम्रो टिम राम्रो छ र च्याम्पियन बन्नकै लागि खेल्ने छौं ।’ चर्च ब्वाइजले दोस्रो चरणमा मंगलबार ‘ए’ डिभिजनको अर्को नवप्रवेशी एफसी खुमलटारविरुद्ध एन्फा कम्प्लेक्समा खेल्नेछ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई दशरथ रंगशालामा शुक्रबार १–० ले हराएको थियो ।

पहिलोपल्ट ‘ए’ डिभिजन लिगमा टिम सम्हाल्ने अवसर पाएका पुलिसका प्रशिक्षक चेतन घिमिरेले भने, ‘टिमका धेरै खेलाडी युवा छन्, नयाँ छन् । उनीहरूले राम्रो प्रदर्शन गरे पनि नतिजा हात पार्न सकेनौं । लिगमा राम्रो गर्दै शीर्ष आठमा रहने लक्ष्य बनाएका छौं ।’ अब पुलिसले बुधबार हिमालयन शेर्पाविरुद्ध दशरथ रंगशालामा बुधबार प्रतिस्पर्धा गर्नेछ ।

एपीएफ २–० थ्रीस्टार

पछिल्लोपल्ट ठ्याक्कै एक दशकअघि लिग च्याम्पियन भएको थ्रीस्टारलाई दुःख दिइरहने क्लब हो एपीएफ । सशस्त्र प्रहरी बलको टिमले फेरि एकपल्ट पाटने क्लबलाई निरास पार्ने क्रममा दशरथ रंगशालामा शनिबार २–० ले हरायो । मणिकुमार लामाले ७२ र अर्मान्ड बेडमले ८७ औं गोल गरेपछि एपीएफले ३ अंक जोडेको हो । दोस्रो चरणमा थ्रीस्टारले फ्रेन्ड्स र एपीएफले सातदोबाटो युवा क्लबविरुद्ध खेल्नेछन् ।

मनाङ १–१ हिमालयन शेर्पा

रोशन रानामगरले प्रहार गरेको बल सन्जित राईमा ‘डिफ्लेक्ट’ हुँदै जाली चुमेपछि मनाङ १५ औं मिनेटमा १–० ले अगाडि बढेको थियो । तर, सुरेश कुमालले कर्मा शेर्पाको पासमा पाएको बललाई मनाङका गोलकिपर दीप कार्की अगाडि बढेको अवसरमा ‘सेकेन्ड बार’ मा लोभलाग्दो गोलमा परिणत गर्दै ८५ औं मिनेटमा १–१ बनाएर हिमालयन शेर्पालाई अंक दिलाएका थिए । कीर्तिमान आठपल्टको च्याम्पियन मनाङले दोस्रो चरणमा संकटाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : फाल्गुन २०, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?