कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

भद्रपुर झापा गोल्डकप : आर्मी सेमिफाइनलमा

अर्जुन राजवंशी

बिर्तामोड — त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भुटानको ड्रुक ल्हायुल फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मीले गोल्डकपको अन्तिम चारको यात्रा तय गरेको हो ।

भद्रपुर झापा गोल्डकप : आर्मी सेमिफाइनलमा

भद्रपुरस्थित मेची रंगशालामा बिहीबारको खेलमा आर्मीको जितमा जितेन्द्र कार्की र सुशान्त चौधरीले गोल गरे । खेलको तेस्रो मिनेटमै जितेन्द्रले गोल गरेर आर्मीलाई अग्रता दिलाएका थिए । उनले बक्स एरिया नजिकबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । पहिलो हाफमा एक गोलमै सकिएको थियो । खेलको सुरुमै गोल खाएपछि निरास बनेको भुटानी टिमले आर्मीमाथि दबाब बढाउन सकेन ।

६४ औं मिनेटमा सुशान्तले अर्को गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका थिए । बारमा ठोक्किएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका उनले सहजै गोल गरे । भुटानविरुद्ध आर्मीले दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको थियो । भुटानको डिफेन्सलाइन निकै कमजोर देखियो । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको आर्मीले भुटानका खेलाडीबाट दबाब महसुस गर्नुपरेन ।

आर्मीले गोल्डकपको फाइनल प्रवेशका लागि शनिबार संकटासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा आर्मीका जितेन्द्र कार्की म्यान अफ द म्याच भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे ।

शुक्रबार अन्तिम क्वाटरफाइनलमा एपीएफ र काउवार्न बजार प्रगति संघ बंगलादेशबीच प्रतिस्पर्धा हुने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले बताए । फागुन १६ सम्म चल्ने गोल्डकप विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?