कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला सडक दौडमा श्रेष्ठ पहिलो

हरिराम उप्रेती

गोरखा — सहिद दिवसको अवसरमा गोरखामा भएको खुला सडक दौड प्रतियोगितामा सहिद लखन गाउँपालिकाका सन्जय श्रेष्ठ पहिलो बनेका छन् ।

खुला सडक दौडमा श्रेष्ठ पहिलो

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका–७ डाँडागाउँदेखि गोरखा नगरपालिका–६ अस्पतालमार्गसम्मको निर्धारित ८ किलोमिटर दौड २६ मिनेट ४ सेकेण्डमा पार गर्दै श्रेष्ठले प्रतिस्पर्धा जितेका हुन् ।

२७ मिनेटर ४ सेकेण्डमा निर्धारित दूरी पार गरेका बारपाक सुलीकोट गाउँपालिकाका निरज भट्ट दोस्रो बने । सिरानचोक गाउँपालिकाका दिनेश बोगटी तेस्रो बनेका छन् । बोगटीले निर्धारित दूरी २८ मिनेट १ सेकेण्डमा पार गरे । पुरुष खुलातर्फ ४७ जना धावक सहभागी थिए ।

पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश: ८ हजार, ५ हजार र ३ हजार नगदको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।

त्यस्तै खुला महिला सडक दौडमा धार्चे गाउँपालिका–२ की रमिला गुरुङ पहिलो बनेकी छन् । उनले २८ मिनेट ३० सेकेण्डमा वनकालीदेखि अस्पताल चोकसम्मको निर्धारित ६ किलोमिटर दूरी पार गरिन् । ३३ मिनेट २४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै बारपाक सुलीकोट गाउँपालिकाकी आभा गुरुङ दोस्रो बनिन् भने ३७ मिनेट ५५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै गोरखा नगरपालिकाकी संगीता राना तेस्रो बनेकी छन् । महिला सडक दौडतर्फ पहिलो हुनेले ६ हजार, दोस्रोले ४ हजार र तेस्रोले २५ सय नगदको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । महिलातर्फ १७ जनाले सहभागीता जनाएका थिए ।

विजेतालाई प्रदेश खेलकुद परिषद्‍का प्रमुख प्रशासकीय अधिकृत टोप लाल भुसाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : माघ १६, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?