पल्सर स्पोर्ट्स अवार्ड फागुनमा- खेलकुद - कान्तिपुर समाचार

पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले एएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औं संस्करण फागुन २३ मा आयोजना गर्ने घोषणा गरेको छ ।

मञ्चले हरेक वर्ष गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड यस वर्ष ढिलोगरी आयोजना गर्न लागेको हो । नेपाली खेलाडीले अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा यो अवार्ड प्रदान गरिँदै आएको छ । २०६० सालदेखि स्पोर्ट्स अवार्डले निरन्तरता पाएको हो । २०५२ सालमा स्थापना भएको मञ्चले सुरुका वर्ष पनि अवार्ड आयोजना गरेको थियो ।

कमलादीस्थित प्रज्ञाभवनमा हुने अवार्डमा २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने मञ्चले जनाएको छ ।

उक्त अवार्डका लागि मुख्य प्रायोजकको रूपमा रहेको हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग मञ्चले सम्झौता नवीकरण गरेको छ । पल्सरसँग यो १४ औं वर्ष अवार्डका लागि सहकार्य भएको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंशराज हुलासचन्दका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले प्रायोजना सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निर्देशक गोल्छाले नेपाललाई विश्वमाझ देशको पहिचान राख्ने खेलकुद उत्तम माध्यम भएकाले यसै क्षेत्रमा नै योगदान गरेका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताए । उनले युवाका लागि खेलकुद र पल्सर एकअर्काको परिपूरक जस्तै भएको स्मरण गराए ।

यसपालि पल्सर स्पोर्ट्स अवार्डमा कुल ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकसहित पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवा विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अरू विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।

स्पोर्ट्स अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र अर्को साता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने अध्यक्ष सुवेदीले बताए । उनले अर्थतन्त्र नै शिथिल रहेको अवस्थामा पनि हंशराज हुलासचन्दबाट सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद पक्ष रहेको बताए । पूर्वअध्यक्ष एवम् एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले अवार्ड समग्र नेपाली खेलकर्मीलाई नै एकै ठाउँमा उभ्याउने माध्यम बनिरहेको स्मरण गराए ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण यो अवार्ड दशक अवार्डको रूपमा आयोजना भएको थियो । त्यसमा दशकमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षकलाई सम्मानित गरेको थियो । क्रिकेटका पारस खड्का, फुटबलकी सावित्रा भण्डारी र प्रशिक्षकमा क्रिकेटका जगत टमाटाले दशक अवार्ड जितेका थिए । पिपल्स च्वाइसमा टेबलटेनिसकी एलिना महर्जन बाजी मारेकी थिइन् ।

प्रकाशित : माघ १०, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुर गोल्डकप अन्तिम साता

कान्तिपुर संवाददाता

मकवानपुर — पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २९ देखि फागुन ११ सम्म हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रतियोगितामा आयोजक मकवानपुर–११ सहित ‘ए’ डिभिजन च्याम्पियन मछिन्द्र क्लव, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नोपल पुलिस क्लब, नेपाल एपीएफ क्लब, एनआरटी, हिमालयन शेर्पा क्लव, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र एभिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजक अध्यक्ष टीका लामाले बताए ।

विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई करिब ६ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ । तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरेको थियो । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ द म्याचले १० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि वाग्मती प्रदेशको खेलकुद विकास परिषद् तथा मकवानपुरका १० वटै स्थानीय तहबाट आर्थिक सहयोगमा हुँदै आएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरले मात्र २५ लाख रुपैयाँ उपलब्ध गराउँदै आइरहेको छ । पत्रकार सम्मेलनमा वाग्मती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गोल्डकपलाई जिल्लाकै साझा र सानको रूपमा अघि बढाउनु आवश्यक रहेको धारणा राखे । ‘जिल्लाका स्थानीय तहले पनि अपनत्व ग्रहण गर्दै आएकोले यसको निरन्तरता सम्भव भएको हो,’ उनले भने, ‘यसलाई निरन्तरता दिँदै फुटबलका अन्य गतिविधिसमेत अघि बढाउनु आवश्यक छ ।’ साबिक विजेता आर्मी हो ।

प्रकाशित : माघ १०, २०७९ ०७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×