कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-ट्वान्टी

काठमाडौँ — लुम्बिनी अल स्टार्सले १ सय ३३ रनको सामान्य स्कोर रक्षा गर्दै नेपाल टी–२० लिग क्रिकेटको उपाधि जितेको छ । अल स्टार्सले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि उचालेको हो ।

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-ट्वान्टी

आक्रामक सुरुआत गरे पनि टस जितेर ब्याटिङ रोजेको अल स्टार्स १९.२ ओभरमा १ सय ३३ रनमा अलआउट भयो । जवाफमा विराटनगरले ८ विकेट गुमाई १ सय ९ रनमात्र बनाउन सक्यो । विराटनगरमाथि अल स्टार्सको यो लगातार तेस्रो जित हो ।

डबल राउन्ड रोबिन लिगमा यी दुई टोली दोस्रो पटक भिड्दा पहिला ब्याटिङ गरेको अल स्टार्सले ९ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सकेको थियो । तर, जवाफमा विराटनगरलाई १ सय १० रनमा अलआउट गर्दै अल स्टार्सले खेल जितेको हो । यसपालि पनि अल स्टार्सले सानो स्कोरमै विराटनगरलाई माथ दियो ।

लिगमा अल स्टार्सले १० मध्ये ८ खेल जितेको थियो । समग्रमा टोलीले १२ मध्ये १० खेल जित्दै उपाधिको सही हकदार रहेको प्रमाणित गर्‍यो । अल स्टार्ससँगको फाइनल विराटनगरको पछिल्ला तीन दिनमा लगातार तेस्रो खेल थियो । लगातार खेल्नु नै पराजयको कारण नभएको विराटनगरका कप्तान रोहित पौडेलले जनाए ।

अल स्टार्सले ६ ओभरमा ६५ रन जोड्दै आक्रामक सुरुआत गरेको थियो । छैटौं ओभरमा हरमित सिंह १८ बलमा ३० रन बनाई आउट भए । त्यसअघिका दुई बलमा उनले किओन जोसेफलाई लगातार छक्का प्रहार गरेका थिए । उनी आउट भएसँगै अल स्टार्सका ब्याटर आउने र जानेक्रम सुरु भयो । कुशल भुर्तेल ३ बलमात्र खेल्दै १ रनमा आउट भए ।

छक्का प्रहार गरेकै ओभरमा आउट हुने अर्का खेलाडी थिए लाहिरू मिलान्था । उनले २८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रन बनाए । रोहितको बलमा नन्दन यादवले सानदार क्याच लिँदै उनलाई पेभेलियन फर्काए । कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा २० र ईशान पाण्डेले २२ बलमा १८ रन बनाए । विपुल शर्मा ५, गुलशन झा ३, स्याड्ली भान साल्कविक १, किशोर महतो २ र अनिल शाह ८ रनमा आउट भए ।

विराटनगरबाट नन्दन र राज नन्ननले २–२ विकेट लिए । नन्दनले ३.२ ओभरमा २२ र नन्ननले ३ ओभरमा २४ रन खर्चे । हुसैन तलात, जोसेफ, रोहित र सूर्य तामाङको नाममा १–१ विकेट रह्यो । कुशललाई स्टम्पआउट गराएका सूर्यले ४ ओभरमा ८ रनमात्र दिए ।

विराटनगर कुनै पनि समय खुलेर खेल्न सकेन । टोलीले पावर प्लेको ६ ओभरमा २९ रनमात्र बनाउँदा २ विकेट गुमाइसकेको थियो । गुरांशु शर्मालाई सागर ढकालले ४ रनमा बोल्ड गरे । रोहित पहिलो बलमै आउट भए । विपुल शर्माको बलमा उनले विकेटकिपर मालिन्थालाई क्याच थमाउन पुगे । तलात १३ रनमा रनआउट हुनु विराटनगरको अर्को दुर्भाग्य बन्यो । नन्नन पनि ६ रनमा पेभेलियन फर्किए ।

ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए । उनले ४० बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । पृथु बाँस्कोटाले २९ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए । विवेक यादव ६, अमरसिंह राउटेला ८ रनमा आउट भए । नन्दन ३ र जोसेफ २ रनमा अविजित रहे ।

हरमित प्लेयर अफ द फाइनल बने । उनले ४ ओभरमा १६ रनमात्र खर्चे । सागरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । विपुलले ४ ओभरमा १७ र किशोर महतोले ४ ओभरमा २७ रन खर्चेर १–१ विकेट लिए ।

लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद, आयोजक फरार जस्ता विवादका कारण पहिलो संस्करणमै नेपाल टी–२० लिग बदनाम हुन पुग्यो । तर आफ्नो टोलीको व्यवस्थापनको चुस्तताका कारण आफूहरूले त्यस्तो केही सुन्न नपरेको जनाउँदै अल स्टार्सका कप्तान दीपेन्द्रले टोलीको सफलता नै सफल व्यवस्थापन भएको बताए ।

विजेतालाई ५५, उपविजेतालाई ३०, प्लेयर अफ द सिरिजलाई ५, उत्कृष्ट ब्याटर र बलरलाई जनही २ लाख ५० हजार तथा उदीयमान खेलाडीलाई १ लाख ८० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको थियो । विराटनगरका तलात प्लेयर अफ द सिरिज भए । उनले १३ खेलमा ३ सय ६७ रन बनाउनुका साथै १० विकेट लिएका थिए । रोहित चार पटक प्लेयर अफ द म्याच बनेकाले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अर्को बलियो दाबेदार थिए ।

काठमाडौं नाइट्सका अविनाश बोहरा उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा सर्वाधिक १९ विकेट लिनेक्रममा ११ खेल खेलेका थिए । फारवेस्ट युनाइटेडका हसमतुल्लाह साहिदी उत्कृष्ट ब्याटर बने । १० खेल खेलेका उनले प्रतियोगितामा सर्वाधिक ४ सय रन बनाएका थिए । विराटनगरका सूर्यले उदीयमान खेलाडीको पुरस्कार पाए । उनले ८ खेलमा १२ विकेट लिएका थिए ।

प्रकाशित : पुस २७, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?