कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४
२२ औं आहा–रारा गोल्डकप

संकटा पोखरामा दोस्रोपल्ट च्याम्पियन

अतिरिक्त समयमा पुगेको फाइनलमा भुटानी युथ स्पोर्ट्स क्लब पराजित, विजेताले जित्यो १२ लाख रूपैयाँ
अनिश भट्टराई

गण्डकी — संकटा क्लबले २२ औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । संकटा शनिबार पोखरा रंगशालामा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) अमेरिकालाई ३–२ ले हराउँदै दोस्रोपल्ट उपाधि उचाल्न सफल भयो । क्लबले यसअघि ०७७ सालमा उपाधि जितेको थियो ।

संकटा पोखरामा दोस्रोपल्ट च्याम्पियन

रोमाञ्चक फाइनलमा संकटाको जितमा कप्तान सुनील बल नायक बने । बराबरी भएर अतिरिक्त समयमा धकेलिएको खेलको अन्तिम ४ मिनेटमा सुनीलले गोल गर्दै क्लबलाई उपाधि जिताए । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयको १ सय १६ औं मिनेटमा सुनीलले गोल गरेका थिए । संकटाले सुरुमै दुई गोलको अग्रता लिए पनि जोगाउन नसक्दा खेल अतिरिक्त समयमा पुगेको हो ।

संकटाले सुरजज्यू ठकुरीको गोलमा सातौं मिनेटमै अग्रता लिएको थियो । निशान खड्काले गरेको प्रहार बीवाईएससीका गोलरक्षक पुजन थापाबाट रिबाउन्ड हुँदा सुरजले त्यही बलमा गोल गरेका थिए । त्यसपछि दुवै पक्षबाट लगातार शटहरू प्रहार गरे पनि गोल भने हुन सकेन । ३४ औं मिनेटमा मेसुकीले उत्कृष्ट गोल गर्दा संकटाले अग्रता दोब्बर पार्‍यो । कप्तान सुनील बलको कर्नरबाट आएको बलमा मेसुकीले गोल गरेका थिए । ३४ मिनेटसम्म दुई गोलको अग्रता लिए पनि संकटा अन्तिमतिर सम्हालिन नसक्दा बराबरीको स्थिति बन्यो । मेसुकीले गोल गरेको तीन मिनेटमै बीवाईएससीले गोल फर्कायो । ३७ औं मिनेटमा बीवाईएससीका रेने स्यान्टिलनले गोल गरे । पहिलो हाफमा इन्ज्युरी समयको तेस्रो मिनेटमा बीवाईएससीका विलिस ग्रिफिथले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि १ सय १६ मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा पुग्न ४ मिनेट बाँकीको अवस्थामा सुनीलले निर्णायक गोल गर्दै उपाधि पक्का गरिदिए । संकटाका मेसुकी म्यान अफ द म्याच घोषित भए । संकटाले उपाधिसँगै १२ लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता बीवाईएससीले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

नयाँ अनुबन्धित खेलाडीले उच्च प्रदर्शन गर्दा संकटाले आहा–राराको उपाधि जित्न सकेको हो । भर्खरै टोलीमा अनुबन्धित सुनील बल, आयुष घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापा उच्च लयमा रहँदा संकटाले ‘ए’ डिभिजन लिग खेल्नुअघि नकआउट प्रतियोगिता जितेको छ । सुनील, आयुष र टिकेन्द्रले प्रतियोगितामा व्यक्तिगत विधातर्फ विभिन्न अवार्ड जिते ।

सुनील सर्वोत्कृष्ट

संकटाका कप्तान सुनील बल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । फाइनलमा निर्णायक गोल गरेका सुनीलले प्रतियोगितामा क्वाटरफाइनलबाटै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सर्वोत्कृष्ट घोषित हुँदै टेल्जीको इलेक्ट्रिक स्कुटर पाए । उनी यही सिजन मछिन्द्र क्लबबाट संकटामा आएका हुन् ।


सुनील बल सर्वोत्कृष्ट खेलाडी पुरस्कार स्कुटीका साथ ।तस्बिर : दीपक परियार/कान्तिपुर

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ मा ४ वटा विधामा संकटाका खेलाडीले नाम लेखाउन सके । उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी चुनिए । उनकै नेतृत्वमा संकटाले २०७७ मा पनि आहा–रारा जितेको थियो । संकटाका गोलरक्षक टिकेन्द्र थापा उत्कृष्ट गोलरक्षक चुनिएका छन् । उनले फाइनल खेलमा पनि बीवाईएससीका खेलाडीको आक्रमण विफल पारेका थिए । उत्कृष्ट डिफेन्डर भने बीवाईएससीका हेक्टर ओर्टेगा बनेका छन् । संकटाका युवा स्टार आयुष घलानले उत्कृष्ट मिडफिल्डरको पुरस्कार जिते । उत्कृष्ट स्ट्राइकर पनि संकटाकै स्टेफेन बिनोङ चुनिए । क्यामरुनी खेलाडी बिनोङले प्रतियोगितामा ३ गोल गर्न सके ।

संकटाकै क्यामरुनी खेलाडी मेसुकीले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले कुल ४ गोल गरे । बिनोङ र मेसुकी नयाँ सिजनका लागि एफसी खुमलटारमा अनुबन्धित भएका छन् । व्यक्तिगत विधामा उपाधि जितेका यी खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा धरान फुटबल क्लबले फेयर प्लेको अवार्ड जित्यो । प्रि–क्वाटरफाइनलमा सहारालाई हराउँदै क्वाटरफाइनल पुगेको धरान भने एपीएफ क्लबसँग पराजित हुँदै घर फर्केको थियो ।

प्रकाशित : पुस २३, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?