फुटबलमा जुट्दै पूर्वेली- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबलमा जुट्दै पूर्वेली

माधव घिमिरे

विराटनगर — फुटबल विकासमा लागिपरेका इलामेहरूको एउटा समूह एक सातासम्म प्रायोजक र सहयोगीसँगको भेटघाटपछि राजधानीबाट शुक्रबार गृहजिल्ला फर्केको छ ।

पुराना–नयाँ खेलाडी अनि खेलका लागि मरिहत्ते गर्ने पदाधिकारी सम्मिलित टोली माघ दोस्रो साता हुने माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताका लागि सहयोग जुटाउन अभियानमा लागेको छ ।

व्यवस्थित र भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने क्रममा सहयोग जुटाउने अभियानमा आफूहरू लागेको माई भ्याली स्पोर्टिङ क्लबका अध्यक्ष धीरेन चेम्जोङ बताउँछन् । फुटबल भनेपछि हुरुक्कै हुने इलामका दर्शकमाझ गत वर्ष सफलतासाथ प्रतियोगिता आयोजना गरिसकेको क्लबले देश तथा विदेशमा रहेका इलामे अनि खेलप्रेमीबाट सहयोग जुटाइरहेको छ ।

स्थानीयस्तरको पहलबाट पूर्वमा हुने फुटबल प्रतियोगिताको यो एउटा उदाहरण हो । गत वर्षझैं यसपालि पनि पुसदेखि यो वर्षको अन्तिमसम्म राष्ट्रिय, क्षेत्रीय अनि स्थानीयस्तरका उल्लेख्य प्रतियोगिता हुँदैछन् ।

यसमा खेलाडीमात्र होइन स्थानीय बासिन्दाको पनि उत्तिकै सहयोग र साथ रहने गरेको छ । राष्ट्रिय टिमका चर्चित खेलाडी, केही विदेशी टिम अनि क्षेत्रीय रूपमा चर्चामा रहेका क्लबहरू समेतको सहभागितामा हुने प्रतियोगिताका कारण यो वर्षको अन्त्यसम्मै पूर्व फुटबलमय हुने भएको छ । केही प्रतियोगिता सुरु भइसकेका छन् ।

स्थानीय प्रतिभालाई अवसर दिने एवं राष्ट्रियस्तरका खेलाडी र टिम सहभागी गराएर प्रतियोगिता आयोजना भइरहेका छन् । धरानको बूढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, इलाममा हुने माई भ्याली आमन्त्रण गोल्डकप, विराटनगरको विराट गोल्डकप, सहिद भीमनारायण गोल्डकप प्रतिष्ठित प्रतियोगितामा पर्छन् ।

यी प्रतियोगितामा राष्ट्रिय टिमहरू अनि विभागीय टिमहरूको सहभागिता हुने गरेको छ । यीबाहेक स्थानीयस्तरमा हुने क्षेत्रीय र जिल्लागत प्रतियोगिता स्थानीय प्रयासमा हुँदै आएका छन् । सामान्यतया: राजधानीमा मात्र केन्द्रित हुने फुटबल विस्तारै पूर्वमा पनि छाउन थालेको छ ।

विराटनगरमा माघ २१ देखि विराट गोल्डकप हुने भएको छ । यसको तयारी थालिएको आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले बताए । उपाधि विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी पाउने यो प्रतियोगितामा सहभागी हुने सबै टिमले नगद प्रोत्साहन पुरस्कार दिने व्यवस्था मिलाइएको छ ।

विराट गोल्डकपमा गत वर्षको उपाधि त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापा ११ ले हात पारेको थियो । ‘दुईवटा विदेशका टिमसहित १० वटा टिमको सहभागिता हुनेछ,’ राउतले भने, ‘हामीले यसपालि अझ व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्न तयारी थालिसकेका छौं ।’

लामो समयदेखि सुस्ताएको फुटबललाई जगाउँदै गतवर्ष इलाममा सुरु भएको दोस्रो माई भ्याली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता माघ १५ देखि २५ गतेसम्म इलाम सदरमुकामस्थित टुँडिखेलमा हुनेछ । गत वर्ष प्रतियोगितामा राष्ट्रिय टिमहरू सहभागी थिए ।

गत वर्षको ३ लाख रुपैयाँसहितको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले हात पारेको थियो । थ्री–स्टारले उपविजेतामा चित्त बुझाएको थियो ।

सुनसरीको धरानमा हुने अर्को प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप पनि फागुन दोस्रो सातातिर गर्ने तयारी भइरहेको छ । धरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका लागि देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुट्दै आएको छ ।

यो प्रतियोगिताको १८ औं संस्करण हुनेछ । १७ औं संस्करणको ३ लाख ५० हजार रुपैयाँसहितको उपाधि विभागीय टिम एपीएफ टिमले हात पारेको थियो । मनाङ मर्स्याङ्दी क्लबले उपविजेतामा चित्त बुझाएको थियो ।

मोरङको डाँगीहाटमा गत साताबाट दोस्रो नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा स्थानीय क्लब र क्षेत्रीय टिमहरू सहभागी रहेको आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । यसैगरी झापाको काँकडभिट्टामा प्रथम काँकडभिट्टा गोल्डकप हुँदैछ ।

पुस १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वका फुटबल क्लबहरूको सहभागिता हुने जनाइएको छ ।

पाँचथरको फिदिममा पुस २५ देखि माघ २ सम्म सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता हुने निश्चित भएको छ । यसमा पनि पूर्वका टिमहरूको सहभागिता हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।

 पूर्वमा हुने हरेकजसो फुटबल प्रतियोगितालाई व्यवस्थित पार्न लामो समयदेखि सक्रिय हुँदै आएका दिलीप राईका अनुसार पुस पहिलो सातादेखि यो वर्षको अन्तिमसम्मै पूर्व फुटबलमय हुने भएको छ ।

सुनसरीमा गोधूलि क्लब धरानको आयोजनामा पुस २५ देखि माघ ९ गतेसम्म १६ औं गोधूलि रनिङ सिल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । मोरङकै इन्द्रपुरमा फागुन १ देखि ८ गतेसम्म सगरमाथा स्पोर्टिङ क्लबको आयोजनामा केबीआरयू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हुने निधो भएको छ ।

यसका लागि आयोजकले तयारी सुरु गरिसकेका छन् । धनकुटामा सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी भइरहेको छ । मिति निश्चित नभए पनि फागुन तेस्रो साता गर्ने योजना रहेको आयोजक सहिद भीमनारायण प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७२ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

अवकाशपछि महामहिम

भारतको नाकाबन्दीका कारण आम जनताले ग्यास र पेट्रोलको अभावमा कष्टकर जीवनयापन गरिरहँदा त्यसको असर पूर्वराष्ट्रप्रमुखलाई समेत पर्नु अस्वाभाविक छैन ।
जगत नेपाल

काठमाडौं — दुई महिनाअघि कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहणको केही घन्टामै राष्ट्रपति भवन शीतलनिवासमा देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवको बिदाइ समारोह आयोजना भइरहेको थियो ।

गणतन्त्र बहालीपछिका ऐतिहासिक मोडमा सात वर्षभन्दा बढी समय राष्ट्रप्रमुखको हैसियतमा सितलनिवासमा रहेका यादव अन्तिम दिन बिदाइ समारोहमा भावुक भएको दृष्य टेलिभिजन च्यानलले प्रसारण गरे । उच्च सम्मानका साथ रिसल्ला र कार्गेर्ेटमा प्रथम राष्ट्रप्रमुखलाई सरकारले उनका लागि व्यवस्था गरेको वागडोलस्थित निवासमा पुर्‍याइयो । 

यादव नयाँ निवासमा पुग्दा सामानहरू असरल्ल थिए । घरमा रंग लगाउने, बिजुलीको तार तान्ने, सरसफाइ गर्ने काम जोडतोडले भइरहेको थियो । घरका भित्ता ड्रिल गर्दा आउने अर्को आवाजले शान्ति भंग भइरहेको थियो । मूलगेटबाट छिर्नेबित्तिकै माथि टाउकैमाथि बडेमानको डरलाग्दो हाइटेन्सन लाइन छ । जसमा नौवटा मोटा तार लत्रिएका छन् । हाइटेन्सनको मापदण्डविपरीत बनेको भन्दै विद्युत प्राधिकरणले बत्ती दिएको छैन । 
अतिविशिष्ट व्यक्तिको आवासका लागि अवैधानिक घर किन खोजेको भन्दै सेनाका उच्च अधिकारीले मातहतका सैनिक अधिकारीको सातो खाए । तिमीहरूले के हेरेर यस्तो घर फाइनल गरेको ? राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई यस्तो घरमा राख्न कुनै पनि दृष्टिले उपयुक्त छैन । घर खोज्ने काममा संलग्न राष्ट्रपति कार्यालयका कर्मचारी र तल्लो सैनिक अधिकृतहरू नाजवाफ भए । केहीबेर सन्नाटा छायो । कोही बोलेन । 
साँघुरो बाटो, बिजुलीको हाइटेन्सन र कम्पाउन्ड वाल नभएका कारण सुरक्षाका दृष्टिले पनि यादवलाई त्यस घरमा राख्न हँुदैन भन्ने उच्च सैनिक अधिकारीहरूको निष्कर्ष थियो । तर, शीतलनिवासबाट सरिसकेपछि अर्को विकल्प थिएन । 
हुन त हाल उनी बसेको घरकै छेउमा छोरी अनिताको घर छ । तर त्यसको पनि एउटा तल्लामा भूकम्पले क्षति पुगेकाले बस्न मिल्ने अवस्थामा छैन ।
अर्कोतर्फ त्यही बेला आफ्नो घर हँुदाहँुदै राष्ट्रपति यादवका लागि सरकारले मासिक महँगो भाडाका घर खोजेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको थियो । सुरक्षाका दृष्टिले त्यो घरमा बस्न मिल्ने अवस्था छैन । यता नयाँ निवासमा भित्र छिर्न नपाउँदै आइपरेको संकट कसरी दूर गर्ने ? कोही बोल्न सक्ने कुरा भएन । अन्तमा यादव आफैंले भने ‘भइहाल्यो अब यस्तो कुरा गर्नु उपयुक्त छैन । सरकारले दिएको ठाउँमा म बस्नुपर्छ । यही घरमा बस्छु, कहीं जान्नँ ।’ 
निवर्तमान राष्ट्रपति यादव नयाँ घरमा छिरे । यादवका फोटोग्राफर किरण पन्थ त्यो दिनको घटना सम्झँदै भन्छन्, ‘घरमा बत्ती जडान गरेको छैन । प्लास्टिकको कुर्सीबाहेक बस्ने ठाउँ छैन । डेढ घन्टा प्लास्टिकको कुर्सीमा बसेपछि मात्र बल्ल उहाँको बेडरुममा पलंग तयार भयो । अझै कार्पेटिङ भएको थिएन । जताततै समानको थुप्रै थुप्रो मात्र देखिन्थ्यो ।’ 
सरेको पहिलो रात मैनबत्तीको भर पर्नुपर्‍यो । सेना र भवन विभागका कर्मचारीले रातदिन खटेर भोलिपल्ट कार्पेटिङ गरे । नजिकैको घरबाट बिजुलीको लाइन तानियो । अमेरिकामा बस्दै आएका घरधनी रवि विष्टकी आमाको त्यो घरबाट तानिएको बिजुली पनि भरपर्दो छैन । सरेको तीन चार दिनपछि नै बिजुलीको गडबडले यादव निवासका कम्प्युटर र एसी सट भए । 
यादव सरेको तीन चार दिनसम्म सेना र भवन विभागका कर्मचारीले तीव्र रफ्तारमा मर्मत र पूर्वराष्ट्रप्रमुखका लागि आवश्यक पर्ने सामानको बन्दोबस्त गर्ने काम जारी राखे । त्यसपछि भने सरकारले पूर्वविशिष्टलाई दिने सुविधाको टुंगो नलगाएको भन्दै उनीहरू फर्किए । त्यसको एक सातापछि भवन विभागका एक उच्च अधिकारी यादवलाई भेट्न पुगेका थिए । उनी फर्किएपछि यो दुई महिनामा सुरक्षामा खटिएको सेनाबाहेक सरकारका कुनै अधिकारी यादव निवास पुगेका छैनन् ।
यादव सरेको पाँचौं दिन कात्तिक १७ गते म पहिलोपटक वागडोल पुगेको थिएँ । बाहिर आँगनमा राखिएको सेतो प्लास्टिकको कुर्सीमा बसेर हामीले झन्डै एक घन्टा कुरा गर्‍यौं । यादवले भने, ‘सौभाग्यबस मैले राष्ट्रको सर्वोच्च पदमा पुग्ने अवसर पाएँ । अब राष्ट्रिय एकता बलियो बनाउने, हिमाल, पहाड, तराई जोड्ने खालका सामाजिक काममा जीवनको बाँकी समय लगाउने सोचाइ छ ।’ 
आफूलाई भेट्न आउने शुभचिन्तकसँग यादव स्वास्थ्य, शिक्षा, वातावरण त्यसमा पनि खासगरी उनको चाहनामा सरकारले सुरु गरेको चुरे संरक्षणका लागि कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमै सल्लाह लिने गर्छन् । 
भारतको नाकाबन्दीका कारण आम जनताले ग्यास र पेट्रोलको अभावमा कष्टकर जीवनयापन गरिरहँदा त्यसको असर पूर्वराष्ट्रप्रमुखलाई समेत पर्नु अस्वाभाविक छैन । बिजुली नियमित छैन । तेलको अभावमा जेनेरेटर चलाउन सकिएको छैन । जसका कारण यादवको नियमित भेटघाटको कार्यक्रम पनि प्रभावित हुन पुगेको छ । 
बिहान ८.३० बजे केही मानिस भेट्ने । ११ देखि १२ बजे बीचमा खाना खाने । अनि एक डेढ घन्टा आराम गर्ने र दिउँसो एक साढे १ बजेदेखि बेलुका साढे तीन बजेसम्म मानिस भेट्ने उनको दैनिकी छ । कांग्रेस महामन्त्री हुँदै मुलुकको सर्वोच्च पद राष्ट्राध्यक्षको भूमिकामा पुगेका यादवमा पहिला मधुमेहको समस्या थियो । राष्ट्रपति भएपछि नियमित र अनुशासित व्यायाम तथा खानपानको नियन्त्रणबाट मधुमेहको समस्या उनले दूर गरेका हुन् । 
सरकारले मासिक १ लाख ३० हजार तिर्ने गरी यो घर भाडामा लिएको छ । डाइनिङ र ठूलो हल भए पनि कोठा भने कम छन् । सुरक्षाका लागि खटिएका तीन दर्जन सैनिकलाई बस्ने ठाउँ छैन । उनीहरू टेन्टमा गुजारा चलाइरहेका छन् । सेनाले खटाएका भान्सेबाहेक उनको निजी सचिवालय बनेको छैन । 
पूर्वराष्ट्रपतिको भूमिकामा आएपछि उनी केही सामाजिक कार्यक्रम र संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको पुस्तक विमोचनबाहेक अरू कार्यक्रममा खासै सहभागी भएका छैनन् । 
यादवलाई अहिले अस्थायी प्रबन्धअन्तर्गत राखिएको हो । तर पूर्वराष्ट्रप्रमुखलाई राख्नका निमित्त कुनै दृष्टिले यो घर उपयुक्त देखिँदैन । भौतिकशास्त्रका प्राध्यापक शेखर गुरुङ भन्छन्, ‘हाइटेन्सन नजिक दुर्घटनाको जोखिम हुने भएकाले नै घर बनाउन नपाइने कानुन विश्वभर बनाइएको पाइन्छ । हाइटेन्सन लाइनमा तीव्रगतिमा पास हुने रेडियसनले मानिसको स्वास्थ्यमा नराम्रो असर गर्छ ।’ 
हुन त अहिलेको अर्को व्यवस्था नहुन्जेलका लागि पूर्वराष्ट्रपति यादवलाई त्यो आवास उपलब्ध गराइएको हो । उनी निवृत्त हुनुभन्दा दुई साताअघि शीतलनिवासले पूर्वराष्ट्रपतिका लागि उपयुक्त, व्यवस्था गर्न सरकारलाई अवधारणा पत्र पठाएको थियो । 
त्यतिबेला सरकारसँग यादवले काभ्रे, भक्तपुर वा भैंसेपार्टीतिर कटेज स्टाइलको कम्पाउन्ड र गार्डेनसहितको सानो घर आफ्ना लागि उपयुक्त हुने सल्लाह दिएको समाचार सार्वजनिक भएको थियो । यो अस्थायी आवासबाट स्थायीमा सर्दा सायद उनको इच्छा पूरा होला कि †

 

 

प्रकाशित : पुस ११, २०७२ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×