१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यवस्थापक र सहायक प्रशिक्षक नियुक्ति विवादमा

काठमाडौं — आईसीसी यू–१९ विश्वकप अभ्यासका लागि नेपाली टोली बुधबार भारत लाग्नु अगाडि नेपाली क्रिकेट फेरि अर्को विवादमा आएको छ ।

 व्यवस्थापक र सहायक प्रशिक्षक नियुक्ति विवादमा

भारत भ्रमणका लागि जाने पदाधिकारीको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो स्वीकृतिबिना संघका कर्मचारीले अर्को नाम पठाउन लागेको बताएपछि थप विवाद बाहिर आएको हो ।

क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले पठाएको विज्ञप्तिमा ५ अफिसियलमा विनोद दास सहायक प्रशिक्षक र सुवास शाही व्यवस्थापक रहेको जनाएको छ । तर क्यानका सचिव किरण राणाले त्यो नेपाली क्रिकेटको सर्वोच्च निकायको आधिकारिक धारणा नरहेको जनाए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान दास विश्व ट्वान्टी–२० छनोटमा पनि नेपालका सहायक व्यवस्थापक थिए । त्यस्तै शाही धनगढी क्रिकेट एकेडेमीका निर्देशक हुन् ।

राणाले घिमिरेले पठाएको विज्ञप्तिका बारेमा भने, ‘राष्ट्रिय खेलकुद परिषदको निर्देशनमा हो कि के हो उहाँ र क्रिकेट संघका चिफ अप्रेटिङ अफिसर छुम्बी लामा मिलेर हाम्रो महासचिवले इमेल चल्न नमिल्ने बनाएका रहेछन् । त्यहीअनुसार उनीहरूले आईसीसीतिर पत्रचार गरेका रहेछन् ।’ राणाले प्रश्न गरे, ‘घिमिरे खेलकुद परिषद्को कर्मचारी कि क्रिकेट संघको ?’

राणाले क्यान कर्मचारीले गरेको निर्णयको खर्च र जिम्मेवारी संघले नलिने बताए । भारत भ्रमणका लागि क्यानको पुुस ५ गते बसेको बैठकले सचिव उत्तम कर्माचार्यलाई व्यवस्थापकमा र नवीन सिंहलाई सहायक प्रशिक्षकमा तोकेको उनले जानकारी गराए । अब कर्माचार्य र सिंह भारत भ्रमणमा जान्छन् कि जाँदैनन् भन्ने प्रश्नमा राणाले भने, ‘भ्रमण लामो छ । उहाँहरू जान पनि सक्नु हुन्छ ।’

यता प्रमुख कार्यकारी अधिकृत घिमिरेले आफूले सम्बन्धित निकायले दिएको निर्देशनबमोजिम नै कार्य गरेको जनाइन् । गत साता उनलाई राष्ट्रिय खेलकुद परिषद्ले अर्को निर्णय नभएसम्मका लागि क्यानको सबै कार्य सम्हाल्न निर्देशन दिएको थियो ।

 ‘राखेपको निर्देशनअनुसार तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र एसियाली क्रिकेट परिषद्सँग समन्वय गरी अफिसियल तोकेका हौं,’ उनले भनिन्, ‘नेपालको पछिल्लो भ्रमणमा पाएका केही हारहरूमा आईसीसीले व्यवस्थापनको कमजोरी औंलाउँदै स्वतन्त्र व्यवस्थापक हुनुपर्ने, राम्रोसँग बोल्ने हुनुपर्ने र मिडियाको सामना गर्न सक्ने हुनुपर्ने जनाएको छ । त्यही अनुरूप पनि उनीहरूसँग परामर्श गरी व्यवस्थापक तोकेका हौं ।’

नेपाली टोली दिल्ली हुँदै धर्मशाला पुग्ने छ । नेपालले भारतमा प्रशिक्षण गर्नुका साथै अभ्यास खेल खेल्ने छ । धर्मशालामा १० दिन बसाइका क्रममा नेपालले ३ अभ्यास खेल खेल्ने छ । त्यसपछि दिल्ली फर्किएर नेपालले थप दुई अभ्यास खेल खेल्ने छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा, भिडियो एनालिस्ट रमन सिवाकोटी र फिजियोमा दिनेश भट्ट छन् ।

नेपाली यू–१९ टोली जनवरी १६ मा काठमाडौं फर्किने छ । जनवरी २२ देखि फेब्रुअरी १४ सम्म बंगलादेशमा आयोजना हुने यू–१९ विश्वकप तयारीका लागि नेपाली टोली भारत जान लागेको हो । नेपालले यू–१९ विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड र भारतसँग समूह चरणमा खेल्ने छ ।

राजु रिजालको कप्तानीमा भारत जाने नेपाली टोलीमा आरिफ शेख (उपकप्तान), सन्दीप सुनार, सुनिल धमला, दीपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजवीर सिंह, योगेन्द्र कार्की, सन्दीप लामिछाने, हिमान्सु दत्त, शंकर राना, ईशान पाण्डे, कुशल भुर्तेल, इर्साद अहमद, ललितनारायण राजवंशी र नन्दन यादव छन् ।

प्रकाशित : पुस १५, २०७२ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?