कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाद्वारा पुलिस पराजित

पर्वत पोर्तेल

काँकडभिट्टा — रेडबुल राष्ट्रिय लिगमा झापा–११ ले विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० ले आइतबार पराजित गरेको छ। जितसँगै झापा २४ अंकसाथ शीर्षस्थानमा कायम छ।

झापाद्वारा पुलिस पराजित

पुलिस १२ अंकबाट माथि उक्लिन सकेको छैन। झापाको सुरुङ्गास्थित कन्काई स्कुलको मैदानमा भएको खेलमा झापाका स्ट्राइकर कर्ण लिम्बूले दुवै गोल गरे। लिगमा उनको व्यक्तिगत गोल संख्या १० पुगेको छ।

घरेलु मैदानमा उल्लेख्य दर्शकको समर्थन पाएको झापाले सुरुदेखि नै पुलिसलाई दबाबमा राखेको थियो। खेल सुरु भएको दसौं मिनेटमा पुलिसका खेलाडीले फल गरेपछि झापाले पाएको पेनाल्टीमा कर्णले गोल गर्न सकेनन्। कर्णको प्रहारलाई पुलिसका अनुभवी गोलरक्षक रितेश थापाले विफल तुल्याए।

२३ औं मिनेटमा झापाले अर्को अवसर गुमायो। दिनेश कार्कीले प्रहार गरेको कर्नर किकलाई देवेन्द्रले सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा खेल एकपक्षीय जस्तै देखिएको थियो। पहिलो हाफको ४१ औं मिनेटमा पाएको अवसरलाई झापाले गुमाएन। दिलेन लोक्तानले प्रहार गरेको बललाई कर्णले फ्लिक गर्दा अप्रत्याशित गोल भयो।  झापाका कर्णले पुन: ४२ औं मिनेटमा अर्को गोल थपे। जसले पुलिस पूरै हतोत्साही बन्यो। गणेश खड्काले दिएको पासलाई कर्णले जाली चुमाएका थिए। झापाको यो १३ औं खेल हो। अब उसले २० गते मनाङसँग खेल्नेछ। झापाका गणेश खड्का, दिनेश कार्की र गोलरक्षक दिनेश थापाले पहेंलो कार्ड पाए। खेलको म्यान अफ द म्याच झापाका देवेन्द्र तामाङ घोषित भए।

झापाका प्रशिक्षक भगीरथ आलेले कप्तान प्रवेश कटुवाल र योगेश गुरुङजस्ता अनुभवी खेलाडीको अनुपस्थितिमा पनि पुलिसलाई पराजित गर्न सकेको बताए। प्रवेश र योगेश अघिल्लो खेलबाट घाइते छन्। आलेले झापालाई घरेलु मैदान फापेको उल्लेख गर्दै भने,‘अघिल्लो पटकभन्दा अहिले झापाको खेल रणनीति फरक भएकाले जितिएको हो।’ पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भोला सिलवाल, भरत शाह, रविन श्रेष्ठलगायत खेलाडी नभएकाले झापासँग पराजय बेहोर्नुपरेको बताए। ‘रितेश र जुमनु पनि जम्न सकेनन्,’ श्रेष्ठले भने,‘तालमेल नमिल्दा हार भयो।’

थ्री–स्टारको जित

थ्री–स्टारले एन्फा कम्प्लेक्समा सुदूरपश्चिमलाई १–० ले पन्छाउँदै झापालाई पछ्याउने क्रम कायमै राख्यो। खेलको एकमात्र एवं निर्णायक गोल ओलावाले आफिजले गरेका थिए। उनले प्रहार गरेको बल सुदूरपश्चिमका गोलकिपर वीरेन्द्र चन्दको दुई खुट्टाबीचबाट जाली चुम्न पुगेपछि थ्री–स्टारले १३ औं मिनेटमै अग्रता लिएको थियो। अन्तत: त्यही गोलले थ्री–स्टारलाई ३ अंक दिलायो। थ्री–स्टार ११ खेलमा २२ अंकसहित दोस्रो स्थानमा छ। सुदूरपश्चिमले १३ खेलबाट १४ अंक हासिल गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७२ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?