कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

विधानको त्यो पदक

विनोद पाण्डे

काठमाडौ — ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी विधान लामा गत साता अमेरिकाबाट नेपाल आएका थिए । विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले पदक जितेका छन् । विधानले कसरी पाए ती सफलता ?

विधानको त्यो पदक
विश्व तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने नेपालका केवल दुई खेलाडी छन् । त्यसमा एक हुन् विधान लामा । तर उनलाई यो सफलताका लागि चिन्ने धेरै कम छन् । विधान लामा भन्नेबित्तिकै ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी भनेर व्यख्या हुन्छ । उनी यही परिभाषाबाट विधान लामा भएका छन् ।
१९८८ को सोल ओलम्पिकमा विधान लामाले प्रदर्शनी खेलमा राखिएको तेक्वान्दोबाट नेपालका लागि कास्य पदक जितेका थिए । जुन आधिकारिक पदकमा गनिदैन । नेपाली खेलकुद इतिहासमा ओलम्पिक पदकधारीको नाम आयो भने कोसेढुंगा जसरी विधान लामाको नाम स्थापित छ । गृष्मकालीन ओलम्पिकमा नेपाली खेलाडीले अझै आधिकारिक पदक जितेका छैनन् । त्यसैले अहिले पनि विधानले प्रदर्शनी खेलमा जितेको त्यो कास्य पदक नै नेपालले गर्व गर्ने विषय हो ।
तेक्वान्दो कोरियाको राष्ट्रिय खेल हो । कोरियाको निकै प्रयासपछि १९८८ मा तेक्वान्दोलाई प्रदर्शनी खेलबाट ओलम्पिकमा भित्र्याइएको थियो । विधानले अघिल्लो वर्ष नै विश्व च्याम्पियनसिपमा पदक जितिसकेका थिए । विश्व च्याम्पियनसिपमा पदक जितेकाहरूलाई सोल ओलम्पिकमा सोझै खेल्न बोलाइएको थियो । विधान पनि त्यसैमा परेका थिए । विधानको तौल समूहमा १६ खेलाडी थिए । पहिलो चरणमा विधानले इङ्ल्यान्डका खेलाडीलाई ढालेका थिए । विधानको काउन्टर किक राम्रो थियो । तर उनले ओलम्पिकको पहिलो खेलमा विपक्षीलाई ढाल्न हुक किक प्रयोग गरेका थिए । दोस्रो चरणमा जर्मनीका खेलाडीलाई पनि पराजित गरे ।
सेमिफाइनलमा अमेरिकी खेलाडीसँग हारे पनि विधान कास्य पदकको हकदार भइसकेका थिए । ओलम्पिकमा खेल्न पाएकोमै विधान उत्साहित थिए । विधानकै भाषामा भन्ने हो भने उनी फुरुङ्ग परेका थिए । उनलाई तेक्वान्दो ओलम्पिकमा प्रदर्शनी खेलमा राखिएको भन्ने थाहा थिएन । पदक जितेपछि मात्र उनले आधिकारिक पदक नभएको थाहा पाएका थिए । यसले उनलाई खिन्न पारेको थियो । संयोग कस्तो रहयो भने नेपाली तेक्वादो खेलाडीको रूपमा विधानको यो नै अन्तिम खेल थियो ।
...

विधानका हजुरबुबा दोलखा भुरुङ्गाका हुन् । विधानलाई यसबारेमा खासै हेक्का छैन । मुस्किलले सम्झन खोज्छन् उनी । हजुरबुबाकै पालामा विधानको परिवार काठमाडौंंको लैनचौर आयो । लैनचौर–लाजिम्पाटको यही माहोलले विधानलाई खेलाडी बनायो । लैनचौर–लाजिम्पाटमा ब्रिटिस लाहुरेको बाक्लो बस्ती थियो । उनीहरू मार्सल आर्टस् खेल्थे । त्यही परिवेशमा विधान पनि हुर्के । विधानलाई पहिलादेखि नै मार्सल आर्टस्मा रुचि थियो । उनले पहिले कराँते खेल । घर वरपरका लाहुरेहरू आउँदा के– के न जाने जसरी किक हान्थे ।
सन् १९८२ मा रंगशालामा सर्वसाधारणले कराँते खेल्न पाउने भए । तेक्वान्दो नेपालमा प्रतिबन्धित थियो । पुलिस र सेनामा भने खेल्न पाइन्थ्यो । अर्को वर्ष तेक्वान्दो पनि सर्वसाधारणलाई खेल्न फुकुवा गरिएपछि विधान त्यतै लागे । कराँतेमा खुट्टा र हातको प्रयोग बराबरजस्तो हुन्छ । तेक्वान्दोमा खुट्टाको ७५ र हातको २५ प्रतिशतजस्तो चल्छ । विधानलाई किक बढी मन पथ्र्यो । उनले खेल नै परिवर्तन गर्नुको कारण यही थियो । कराँते खेलिरहेको र तेक्वान्दो पनि थाहा भएकाले उनले ह्वाइट बेल्टका लागि खेल्नु परेन । सिधै ब्लु बेल्ट पाए ।
विधानका साथीहरूको घरमा फिल्मको पोस्टर हुन्थ्यो । उनी भने ब्रुस लीका भक्त थिए । घरभरि ब्रुस लीको मात्र पोस्टर । विधानले ब्रुस लीको पहिलो फिल्म ‘ग्रिन हन्ट’ देखि अन्तिम ‘गेम अफ द्याट’ सम्म सबै हेरे । विधान मार्सल आर्टस्मा आकर्षित हुनुको अर्को कारण बु्रस ली थिए । ब्रुस लीले जसरी जिउ मर्काएर किक हान्दाको दिन सम्झँदा उनी अहिले पनि आनन्दित हुने गर्छन् ।
२०३९ मा काठमाडौंमा भएको युवा महोत्सवबाट विधानले स्वर्ण पदक जित्ने अभियान सुरु गरे । त्यसपछि आमन्त्रण प्रतियोगिताहरूमा सबैमा पहिलो र दोस्रो । पदकविहीन हुनु परेन । छैटौं एसियन च्याम्पियनसिप फिलिपिन्समा हँ‘दै थियो । १९८४ मा । उनले पहिलोपटक नेपालबाट खेल्ने मौका पाएका थिए । यसमा खेल्न जानुअगाडि कोरियामा ३ महिना त्यहाँको राष्ट्रिय टोलीसँग अभ्यास गर्न मौका पाए उनले । त्यसअघिसम्म अनुभव केही थिएन । कोरिया बसाइले विधानलाई धेरै सिकायो । विधानले आफूलाई परिपक्व खेलाडीको रूपमा प्रस्तुत गरे । त्यसपछि विधान र नेपाल तेक्वान्दो टोलीका लागि कोरिया पानि पँधेरोजस्तो भयो ।
अर्को वर्ष विश्व च्याम्पियनसिप आयो । उनको पहिलो विश्वस्तरीय प्रतियोगिता पनि । कोरियामा भएको त्यो प्रतियोगिताका लागि प्रशिक्षण पनि त्यही । उनको प्रतिद्वन्द्वी थिए कोरियन मूलका अमेरिकी खेलाडी । यसमा उनले निकै राम्रो खेले । जजले निकै लामो समयपछि मात्र अमेरिकी खेलाडीलाई विजेता घोषणा गरे । यो प्रतियोगिता अगाडिसम्म विधानको परिचय खासै थिएन । तर त्यही एक फाइटका लागि उनलाई ‘बेस्ट पर्फमेन्स फाइटर’ को उपाधि दिइएको थियो ।
१९८६ मा अस्ट्रेलियामा एसियन तेक्वान्दो च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै उनी फेरि सोल पुगे । एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न । विश्व च्याम्पियनसिप र एसियन च्यापिम्पयनसिपजस्ता प्रतियोगितामा निरन्तर खेलिरहेकाले विधानको प्रदर्शनमा निखार आइसकेको थियो । त्यसैले एसियाली खेलकुदमा पहिलो पदक जित्ने नेपालको आशामा विधान सम्भावित खेलाडीको रूपमा उभिइसकेका थिए ।
उनले नेपालको त्यो आशालाई व्यावहारिक रूपमै सफल बनाए । २ खेल जित्दै उनी सेमिफाइनलमा पुगेसँगै पदकको भागीदार बने । एसियाली खेलकुदमा विधान पदक जित्ने एक्लो खेलाडी थिएनन् । बक्सिङ र तेक्वान्दोका ४–४ खेलाडीले कास्य पदक जिते । एसियाली खेलकुदमा कहिल्यै पदक जित्न नसकेको नेपालले एकैपटक ८ कास्य पदक जितेको थियो । त्यसमा विधानका लागि एउटा सौभाग्य के थियो भने सबैभन्दा पहिला पदक उनको गलामा लगाइएको थियो ।
विधानमाथिको आशा र भरोसा विश्व च्याम्पियनसिपसम्म पुगिसकेको थियो । १९८७ को बार्सिलोनाको विश्व च्याम्पियनसिपमा उनले यसलाई प्रमाणित गर्नु थियो । पहिलो चरणमा उनले स्विडेनका खेलाडीलाई हराए । दोस्रोमा हङकङका खेलाडीलाई । तेस्रो चरणमा फिलिपिन्सका खेलाडीलाई पनि ढालेपछि उनी विश्व च्याम्पियनसिपमा पदक जित्ने नेपालका पहिलो तेक्वान्दो खेलाडी बने । फिलिपिन्सका खेलाडी तिनै थिए, जसले १९८४ को एसियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनलाई विश्व च्याम्पियनसिप स्मरणीय लाग्नुको कारण पनि यही नै हो ।
तर उनको परिचय त्यही ओलम्पिकमा राखिएको प्रदर्शनी खेलबाट जितेको पदकले खुलाएको थियो । जुन अर्को वर्ष उनले सोलमै जितेका थिए । ‘खेलाडीको अन्तिम लक्ष्य ओलम्पिकमा पदक जित्नु हुन्छ, ओलम्पिकमा पदक जितेको भएर होला मलाई अहिले पनि चिन्ने मान्छेहरू ओलम्पिक पदक विजेता खेलाडी भनेर बोलाउँछन्,’ विधान पनि आफूलाई दिइएको यही परिचयमा रमाउँछन् ।
उनी र नारायण गुरुङ एकै तौल समूहमा खेल्थे । ५० केजीको यो खेल हेर्न रंगशालामा घुइँचो लाग्ने गथ्र्यो । तत्कालीन खेल प्रशासकहरू पनि यो खेल हेर्न छुटाउँदैनथे । विश्व बक्सिङमा मोहम्मद अली र सोनी लिस्टनबीचको जस्तो प्रतीक्षित हुन्थ्यो उनीहरूको खेल । छुटाउने सबै थकथकाउँथे । यी दुईको राम्रो प्रतिस्पर्धाले पनि विधानलाई राम्रो खेलाडी बनाउन सहयोग गरेको थियो ।
यी दुईको तुस लामो समयसम्मै रह्यो । लगभग बोलचाल भएन । विधानसँगै अहिले नारायण पनि अमेरिकाको पोर्टल्यान्डमै बस्छन् । नेपाली तेक्वान्दोको सहयोगका लागि उनीहरू अहिले एक भएका छन् । विधान र नारायणको प्रतिस्पर्धाले नेपाली तेक्वान्दोलाई उचाइमा पुर्‍यायो । लामो समयपछि संगीना वैद्य र दीपक विष्टले नेपालको तेक्वान्दोलाई विधान र नारायणको युगमा पुर्‍याएको मान्नेहरू धेरै छन् ।
खेलकुद क्षमतासँगै विधानलाई राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको आशीर्वाद थियो भनिन्थ्यो । शाह विश्व तेक्वान्दो संघको उपाध्यक्ष हुँदाको सेरोफेरोमा विधानको खेल जीवन घुमेको थियो । त्यही भएर होला विधानले प्राय: मुख्य प्रतियोगितामा खेल्न पाए । १९९० विधान अमेरिका लागे ।
...

अहिले उनी अमेरिकी नागरिक भइसकेका छन् । उनका ३ छोरी र १ छोरा छन् । ठूली छोरी २१ वर्ष भइसकेकी छन् भने सानी छोरी भर्खर ६ महिनाकी । ‘हजुरबाउ बन्ने बेलामा फेरि बाउ भइएको छ,’ मंगलबार साँझ लैनचौरमा विधानले भने । अमेरिकाको पोर्टल्यान्डमा उनले विश्व तेक्वान्दो एन्ड फिटनेस सेन्टर खोलेका छन् । १३ वर्षदेखि उनी यसमा मास्टर र सञ्चालकको रूपमा छन् । झन्डै एक सयजनाले त्यसमा प्रशिक्षण लिन्छन् । ५ फरक समूहमा राखेर विधान उनीहरूलाई प्रशिक्षण दिन्छन् ।
उनले नेपाल र अमेरिकामा खेल र खेलाडीलाई लिएर केही भिन्नताहरू पाएका छन् । ‘त्यहाँ ओलम्पिक खेलाडीलाई सम्मान गरिन्छ । झन् त्यसमा पदकधारी भनेपछि शान नै अर्कै हुन्छ,’ उनले भने ।
दसैं–तिहार र माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप पारेर उनी बर्सेनिजस्तो नेपाल आउँछन् । उनी अमेरिकी टोलीको प्रशिक्षक भएर आउँछन् । विधान इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसनका अध्यक्ष पनि हुन् । यही संस्थाले माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप गर्नुपर्छ
भनेर पहल गरेको थियो । यो प्रतियोगितालाई
विधानकै एसोसिएनले प्रायोजन खोजेर ल्याउने गरेको छ । त्यसबाहेक उनी नेपाल आउँदा स–सना डोजाङहरूलाई तेक्वान्दोको खेल सामग्री बोकर आउने गर्छन् ।
विगतको तुलनामा नेपालको तेक्वान्दोको स्तर खस्केको जस्तो उनलाई लाग्छ । यसको कारण उनी यसरी दिन्छन्, ‘पहिला बजेट राम्रो थियो । ६–६ महिनामा आमन्त्रण प्रतियोगितामा खेल्न गइरहेका हुन्थ्यौं, यसरी राम्रो मौका पाइरहँदा खेलाडीले नतिजा दिने सम्भावना बढ्छ । अहिले कति खेलाडीले आफैं पैसा हालेर खेलेको सुनेको छु । च्याम्पियनसिप नै खेल्न नपाएकाहरू पनि भेटेको छु । खेलाडी पनि राजनीतिमा छिरेका देखिन्छन् ।’

प्रकाशित : असार ५, २०७२ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?