कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकमा मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार फेसबुक मुख्यालय गएर आफ्नो आमालाई ‘लाइक’ गर्दै उनको सम्झनामा रुन पुगे । कोमल मनको नाटक गर्ने मोदीले आज लाखौं नेपाली

फेसबुकमा मोदी

भारतको अवैध नाकाबन्दीका कारण खानलाउन नपाई रोइरहेको दृश्य भने किन देख्न सकिरहेका छैनन् ? उनले संयुक्त राष्ट्रसंघमा मानवतावादी र आतंकवादीको परिभाषाको पुनव्र्याख्या हुनुपर्ने बताए । अब मोदीले जवाफ दिऊन् कि खान, लाउन र बाँच्न पाउने मानिसको मानवअधिकार नाकाबन्दी लगाएर हनन गर्ने मोदी मानवतावादी हुन् कि होइनन् ?
यतिबेला सुष्मा स्वराज भारतको परराष्ट्र मन्त्री छन् । अघिल्लो संसदीय चुनावबाट कंग्रेस पार्टीको अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्ने संकेत देखिएपछि नरेन्द्र मोदी र सुष्मा स्वराजले इटलीमा जन्मेर भारतको अंगीकृत नागरिकता लिएको व्यक्ति प्रधानमन्त्री बन्न मिल्दैन भनेर चर्को विरोध गरे । मात्र त्यति होइन, सुष्माले त यदि विदेशी भूमिमा जन्मेकी सोनिया गान्धी प्रधानमन्त्री बनेमा आफूले टाउको खुर्की, सेतो साडी लगाई चोखो खाना खाई किरिया बार्नेसम्मको धम्की दिन पुगिन् । विपक्षीहरूको चर्को विरोधलाई हेरेर सोनियाले आफ्नो ठाउँमा मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन् र सुष्माले सेतो साडी लाउने स्थिति नै आएन । आज तिनै सुष्मा र नरेन्द्र मोदीको देशले नेपालमा अंगीकृत नागरिक हुनेले पनि राष्ट्र प्रमुख, सरकार प्रमुख हुन पाउनुपर्छ भन्दै ७ बुँदे नाजायज माग अघि सारेको छ । यो जस्तो विरोधाभास अरू के होला ?
– गोपाल देवकोटा
जोरपाटी–१५, काठमाडौं

शिशुको बिचल्ली नपार
बाबुरामले पार्टी छोडेको समाचार सुन्दा झट्ट केही सोच्नै सकिएन, एकछिन आँखा तिरमिराए अनि केहीबेर पछि विगतका दिनहरूमा प्रचण्ड र बाबुरामका गतिविधिहरू सम्झँदा तिरिमिरी भएका आँखा रसाए । कुनै बेला यस्ता थिए, जहाँ प्रचण्ड र बाबुरामले लगाउने लुगा एउटै थानबाट काटिएका हुन्थे, उनीहरूको कपालको स्टाइलदेखि लिएर विभिन्न गतिविधिहरू एकै खालका हुन्थे, कुनै पनि कार्यक्रममा दुईजना सँगै नभएको कमै मात्र देख्न पाइन्थ्यो । कुनै दिन कुनै कार्यक्रमा एकजना मात्र हुँदा त्यो कार्यक्रम नै खल्लो भएको महसुस हुन्थ्यो । यी त माओवादी शान्ति प्रक्रियामा आएपछि बाहिर देखिएका गतिविधि मात्र हुन् । युद्धकालमा उनीहरूको भित्री गतिविधि कति मेल खान्थ्यो, त्यो अरूले देख्ने कुरै भएन । विभिन्न सञ्चारमाध्यममा उनीहरूले दिने गरेका अन्तर्वार्तामा धेरैपटक एउटै थालमा खाएको पनि सुनिन्थ्यो । समान उमेरका यी दुई राजनीतिज्ञ एक रथका दुई पाङ्ग्राजस्तै थिए । जति मनमुटाब भए पनि अस्तिका दिनसम्म एउटै पार्टीमा थिए । माओवादी जति टुक्रा भए पनि प्रचण्ड—बाबुराम एकै ठाउँमा हुँदासम्म यो पार्टी सकिँदैन भन्ने लाग्थ्यो । तर अब पार्टीलाई डोर्‍याउने एक अगुवा नै नभएपछि बाबुरामले भनेजस्तै माओवादी भन्ने पार्टीकै अस्तित्व सकिएको छ ।
हामी भन्ने गथ्र्यौं, संविधानसभा तत्कालीन नेकपा माओवादीको मुख्य माग हो भनेर, तर बाबुरामले पार्टी त्यागेकै दिनदेखि थाहा भयो, संविधानसभा त बाबुरामको माग पो रहेछ । जसले यत्रो संघर्ष गरेर आफ्नो माग पूरा गराएरै छाड्यो, उसको त्यो महान् कार्यलाई सलाम गर्नैपर्ने हुन्छ । कुनै पनि बाबुआमाले एउटा सन्तानलाई जन्माएर मात्रै उनीहरूको दायित्व पूरा हुँदैन, उसलाई आफ्नो खुट्टामा उभिन सक्नेसम्म बनाइदिनुपर्ने हुन्छ । त्यसैगरी अहिले संविधान आएको छ, तर अब त्यसलाई त्यतिकै छोडिदिँदा त्यो आउनु र नआउनुको केही अर्थ छैन । जुन पार्टीको जुन व्यक्तिले संविधानको मुद्दा उठायो र उसले त्यसलाई लागू गरायो, आज त्यही व्यक्तिले त्यसलाई छोडेर हिँडिदिँदा संविधान दोबाटोमा बिचल्लीमा परेको बेवारिसे शिशुजस्तै भएको छ ।
– सुजन देवकोटा
पालुङटार–८, गोरखा
ललि
एकातिर संविधानसभाबाट संविधान जारी हुँदा आफ्नो संलग्नताप्रति गर्व पनि गर्ने अनि अर्कातिर आफैले जन्माएको बच्चा बामे पनि सर्न नपाउँदै कमजोर भएको बहाना बनाउँदै आफू बसेको घरै छोडेर बाहिरिने द्वैध र अस्पस्ट चरित्र यतिबेला बाबुरामभन्दा पनि बाबुहराम बनेर उध्रिएको छ । पार्टीमा मनमुटाब हुनु एउटा पाटो हुनसक्छ, तर देश यति धेरै रापले जलिरहेको विषम परिस्थितिलाई न उनको लहडबाजीमा आएझंै देखिने राजीनामाले चिर्न सक्ला, नत भारतपरस्त भनेर लाग्दै आएको उनको दोष पखाल्न नै सकोस् । पत्रकार सम्मेलनमा उनले जति नै आफ्नो बखान गरे तापनि यो राष्ट्रलाई यदि उनको खाँचो छ भन्ने लागेकोथ्यो, अलिकति पनि बाबुराम भट्टराईले अहिलेको यो समयलाई रोज्नु सदासर्वदा गलत थियो, जुन कुरा हरेक नेपाली जनमानसले अहिले भन्दै आएको छ । परिस्थितिलाई आकलन गर्न नसक्दा १७ हजारको मृतात्माले तपाईंलाई कदापि माफी दिने छैन ।
– उत्तम भेटुवाल
काठमाडौं

‘भाइ फुटे गँवार लुटे’
यतिबेला नेपालमा यस्तै भएको छ । तराईलाई समस्या पर्दा पहाड अनि हिमाललाई दुख्छ अनि हिमाललाई पर्दा पहाड अनि तराईलाई । जबजब राष्ट्रियतामा संकट आइपर्छ, तबतब सच्चा राष्ट्रभक्त नेपालीलाई दुख्ने गर्छ । मुलुकले ७० वर्षपछिको निकास पाएको यो समयमा केही सीमित व्यक्तिका निहित स्वार्थले गर्दा यस्तो भइरहेको छ । हामी माझमा देखिएका समस्यालाई आपसमा बसेर सल्टाउन सक्ने पर्याप्त आधारहरू रहँदारहँदै छिमेकी राष्ट्रलाई गुहार्नु अलि सुहाउने कुरा होइन । हाम्रा समस्या हामी आफै समाधान गर्न सक्छौं भन्ने कुरा हामीले प्रमाणित गर्न सक्नुपर्छ । सबै जाति, भाषा, धर्म र लिङ्ग अनि वर्णको सम्मान हुने परिपाटीको सिर्जना हुन पक्कै जरुरी छ । आआफ्नै डम्फुमात्रै बजाउने हो भने समस्या कहिल्यै समाधान हुनसक्दैन । महिनौदेखिको बन्दले गर्दा आहत भएका नेपालीको हित र भलाइको कामना गर्ने हो भने तल्काल बन्द हडताल फिर्ता हुनुपर्ने देखिन्छ । जस्तोसुकै समस्यालाई पनि वार्ताद्धारा हल गर्नसक्ने क्षमता नेपाली नेताहरूले देखाइसकेका छन् । मित्रराष्ट्रहरूलाई उचालेर स्वार्थपूर्तिमा प्रयोग गर्दा राष्ट्रियता झनै कमजोर बन्न जान्छ । लामो बन्दले जनतालाई राहत हैन, आहत मात्र दिन्छ । नेपाललाई माया गरेर गरिने आन्दोलनले राष्ट्रियता कमजोर पार्नु हुँदैन । त्यसका लागि आन्दोलनकारी दाजुभाइ सचेत हुन जरुरी छ । आपसमा बसेर समाधान खोजी गर्न सक्षम भए मात्र सच्चा नेपाली हुनुको मर्म अनि धर्मको सुरक्षा हुनसक्छ ।
– गोविन्द रिमाल
गैंडाकोट नगरपालिका—५, नवलपरासी

नचुकौं अनि नझुकौं
कुनै पनि व्यक्तिका लागि आफ्नो स्वाभिमान र आत्मसम्मान सबैभन्दा ठूलो सम्पत्ति हो । आफ्नो माटोमाथि संकट आइपर्दा राष्ट्रियताका सवालमा अनेकतामाझ एकताको सम्भावनालाई कसैले रोक्न सक्दैन । यसबखत एउटा स्वाभिमानी नेपालीको शिर झुक्नेगरी नेपालकै केही राजनीतिक चरित्रहरू पराईको भाषामा दोहोरी गाइरहेका छन् । छिमेकीको धर्म र मर्यादालाई नाघेर अनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई लत्याएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहँदा त्यसलाई बल पुग्नेगरी मधेसवादी दलहरूले प्रदर्शन गरेको चरित्रले कतै वैरीका सामुन्ने नेपाललाई झुकाउने त होइन भन्ने संशय बढ्न थालेको छ । असल र स्वाभिमानी नेपालीले यसबखत भारतको हतियारको रूपमा आफूलाई उभ्याउन सक्दैन । परनिर्भरता र राष्ट्रियताप्रतिको उदासीनताले परम्परादेखि नेपाललाई गाँज्दै आइरहेको अवस्थामा नेपाललाई आफ्नै खुट्टामा उभ्याउनेतर्फ कहीं कतैबाट प्रयास हुन नसक्नुलाई हाम्रा नेताहरूको अदूरदृष्टि चरित्रको उपजका रूपमा लिनुपर्छ । कुनै पनि मूल्यमा मेरो स्वाभिमान र आत्मसम्मानमा आँच आउने कुरा अब मेरालागि स्वीकार्य छैन । राष्ट्रियताको सवालमा अब हामी नचुकौं अनि पराईका सामुन्ने कदापि नझुकौं ।
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं

सक्कली अनुहार चिनौं
दशकौंपछि नेपाली संविधानसभाबाट संविधान बनाएर खुसी भइरहेका बेला आफ्ना असन्तोषहरूलाई पुरा गराउने उद्देश्यले तराई केन्द्रित केही दलका नेताहरूले विदेशी भूमिमा बसेर नेपालतिर ढुङ्गा हान्ने जुन कार्य गरेका छन्, त्यो खेदजनक छ । उनीहरू कालान्तरमा यो देशलाई विभाजनको सङ्घारमा पुर्‍याउने दीर्घकालीन योजनाका साथ लागिरहेका छन् । केही समयअघि टिकापुरमा भएको घटनादेखि हालै तराईमा सामान लिन आउनेलाई जलाउनेसम्मको धम्की तिनका ज्युँदा प्रमाण हुन् । माग नेपालमा राख्न्ने रोदन विदेशीसँग गर्नेहरूको सक्कली अनुहार चिन्न आवश्यक छ । सरकारले आन्दोलन मत्थर पार्ने र वार्ताको वातावरण बनाउने भन्दै आन्दोलनमा मारिएकाहरूलाई दस लाख दिने निर्णय गर्‍यो, जुन दुर्भाग्यपूर्ण थियो । त्यस्तो निर्णय आन्दोलन रोकिएपछि मात्र हुनुपथ्र्याे । आन्दोलन चलिरहँदा भएको त्यस किसिमको निर्णयले आन्दोलनमा मर उधारोमा ५० लाख होइन, सरकारबाट नगदमा दस लाख लेऊ भनेजस्तो भयो । सरकार वार्तावार्ता भनिरहेको छ, मधेसी नेताहरू सिङ्गो तराई आफ्नोमात्र हो भनेजसरी शीर्षस्थ नेताहरूलाई तराईमा आउन चुनौती दिइरहेका छन् ।
– ढाकाराम सापकोटा

नाकाबन्दी केका लागि ?
नयांँ संविधान आइसकेपछि उन्नति र प्रगतितर्फ लाग्नुपर्ने समयमा तराई मधेसका केही राजनीतिक दलले दलगत स्वार्थका लागि भारतसंँग सांँठगांँठ गरी नेपाल र नेपालीहरूको मौलिक हक—अधिकारमाथि बज्रपात गर्ने कार्य गरिरहेका छन् । तिनै दलहरूलाई सहयोग गर्ने छिमेकी मुलुक भारतको रवैया पनि गलत रहेको छ । भूपरिवेष्ठित राष्ट्र नेपाललाई अघोषित रूपमा नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय ऐन कानुन, सन्धि, सम्झौताको ठाडो हस्तक्षेप हो । सार्क राष्ट्रकै सदस्य रहेको राष्ट्रले अर्को देशलाई नाकाबन्दीमा पार्नु सार्क वडापत्रकै अपहेलना हो । नेपाललाई भारतले गरेको रवैयाप्रति आम नेपाली नागरिकहरू एकजुट भई विरोध गर्नुपर्छ । संयुक्त राष्ट्रसंघ, विदेशी संघ/संस्थाहरूले समेत भत्र्सना गरी नाकाबन्दी खुलाउनेतर्फ दबाब दिनुपर्छ । नेपाल सरकारले भारतको मात्र भरपर्नु हुँदैन, छिमेकी मुलुक चीनको केरुङ र तातोपानी नाकाबाट अत्यावश्यक पेट्रोलियम पदार्थ भित्र्याउनको लागि सडक मर्मत सुधारका कामहरू गर्नुपर्छ । भारतले नेपालमा हस्तक्षेपकारी भूमिका खेलिरहेको परिप्रेक्ष्यमा नेपाल सरकार मूकदर्शक भएर बस्नु राम्रो हुँदैन ।
– न्हुंछेनारायण श्रेष्ठ
पुलचोक, ललितपुर

 

प्रकाशित : आश्विन १२, २०७२ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?