कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटापन्न खर मजुर गणना

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न खर मजुरको गणना सुरु भएको छ । निकुञ्ज कार्यालय, पन्छी संरक्षण संघलगायत संस्थाले मंगलबारदेखि गणना सुरु गरेको हो । 

संकटापन्न खर मजुर गणना

विगतका वर्षमा खर मजुर पाइने निश्चित स्थानमा मचान, टावर वा रुखमा चढेर हेर्ने काम गरिन्थ्यो । यसलाई भेन्टेड विधि भनिन्छ । यसपटक भेन्टेड सँगै स्वीप (बढार्ने)विधिबाट पनि गणना गरिन लागेको हो । यो विधि अन्तरगत लहरै गणकहरु उभिन्छन् र डोरी समातेर घिसार्दै अगाडि बढ्छन् । एक गणकदेखि अर्को गणकसम्मको दुरी कम्तीमा ५० मिटरसम्म हुन्छ । ‘निकुञ्जभित्र सबै घाँसे मैदानमा दुई/दुई दिन गरेर तीन चरणमा गणना गरिनेछ,’ संरक्षण अधिकृत मनोज ऐरले भने, ‘विगत भन्दा यस पटक फरक विधि अपनाएर गणना गरिदैछ ।’ गत वर्ष गरिएको गणना अनुसार निकुञ्जमा ३ भालेसहित ५ खर मजुर भेटिएका छन् ।

दुवै विधिबाट साँझ र बिहानको समयमा मात्रै गणना गरिन्छ । खर मजुर सक्रिय हुने समय पनि यहि हो । दिनमा घाँसभित्र आरम गर्छ । साँझ बिहान आहाराका लागि पनि बाहिर निस्किने गर्छ । ‘अहिले खर मजुरको प्रजनन समय पनि हो, यतिबेला भाले पोथी भेटने गर्छन्,’ गणनामा खटिएका नेपाल पन्छी संरक्षण संघका हिरुलाल डगौंराले भने, ‘भालेले पोथीलाई आकर्षण गर्न (डस्प्ले) नाच्दै माथि उफ्रिने र तल झर्ने गर्छ ।’

उनका अनुसार अहिलेको समयमा भाले सहजै देख्न सकिन्छ भने भाले र पोथी सँगै भेटिने सम्भावना पनि हुन्छ । शुक्लफाँटा सँगै चितवन र कोशी टप्पुमा पनि एक साथ गणना सुरु गरिएको उनले बताए ।

गणनामा २० जना प्राविधिक खटिएका छन् । केही गणक भेन्टेड विधिमा गणना गर्छन्् भने केहीले स्वीप विधि अपनाउँछन् । निकुञ्जभित्रको शुक्लाफाँटा घाँसे मैदानसँगै करिया फाँटा, हिरापुर फाँटामा गणना गरिनेछ । यसका साथै मध्यवर्ती सामुदायिक वनमा पनि गणना गरिनेछ । स्वीप विधि अनुसार चैत १४ र १५, १८ र १९ तथा २२ र २३ गते गणना हुनेछ । भेन्टेड विधि अन्तरगत भने हरेक दिन गणना गरिनेछ । खर मजुर पाइने निश्चित स्थानमा ४/५ जना गणकहरुले अनुगमन गर्नेछन् ।

शुक्लाफाँटामा २०१३ देखि नियमित रुपमा खर मजुरको गणना हुँदै आएको छ । त्यतिबेला यहाँ ७ वटा भेटिएका छन् । त्यसअघि १९९६ मा गरिएको गणनामा १७ खर मजुर रहेको डगौंरा बताउँछन् । त्यसपछि भने नरन्तर संख्या घट्दै गएको छ । नेपालमा शुक्लाफाँटासँगै चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ । यसको संख्या २७ हो हाराहारी रहेको संरक्षण अधिकृत ऐर बताउँछन् । ‘देखिने संख्या कम भएपनि नेपालमा यसको संख्या सय हाराहारी छ,’ पन्छीविद् हेमसागर बरालले भने, ‘गणनामा देखिने बाहेकको संख्या पनि हुन सक्छ ।’ यो अति नै संकटापन्न पन्छीमा पर्छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई संरक्षित पन्छीमा राखेको छ । नेपाललगायत भारत र कम्बोडियामा मात्रै खर मजुर पाइन्छ । यसको संख्या १ हजार मुनि रहेको छ ।

खर मजुर घाँसे मैदानको स्वच्छताको सूचक पनि हो । घाँसे मैदानमा पाइने किरा फट्यांग्रा सबै खाने भएकाले रोगकिरा लाग्नबाट बचाउँछ । यो पन्छी भएको क्षेत्र स्वच्छ छ भन्न सकिने संरक्षण अधिकृत ऐर बताउँछन् । सुख्खायाममा निकुञ्ज तथा वन क्षेत्रका घाँसे मैदानमा बस्ने र बर्खामा खेतीपातीमा जाने भएकाले किसानका लागि पनि यो पन्छी लाभदायक हुने उनले बताए ।

यसको संख्या वर्षेनी घट्दो छ । यसको प्रमुख कारण खर मजुरलाई नै लक्षित गरेर घाँसे मैदानको व्यवस्थापन नहुने, पोथी भन्दा भालेको संख्या बढी हुनु, चोरीशिकार र जमिनमा गुँड बनाउने भएकाले जाखिम बढी हुन्छ ।‘लैंगिक सन्तुलन मिलेको छैन, भाले भन्दा पोथी बढी हुनुपर्छ, तर यहाँ पोथीभन्दा भालेको संख्या बढी छ,’ पन्छीविद् बरालले भने, ‘लैंगिक अनुपात नमिलेर पनि संख्या घट्दो छ ।’ उनका अनुसार संरक्षणका लागि खर मजुर र यसको वासस्थानका विषयमा सही नतिजा दिने गरी अध्ययन अनुसन्धान पनि हुन सकेको छैन ।


प्रकाशित : चैत्र १५, २०८० २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?