कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुदूरपश्चिमका १५ प्रतिशत घर विद्युतविहीन

अर्जुन शाह

धनगढी — विद्युत उत्पादनमा बृद्धि भए पनि सुदूरपश्चिम प्रदेशका १५ प्रतिशत घरधुरी अझै विजुलीको सुविधाबाट बञ्चित छन् । प्रदेशमा रहेका विभिन्न जलविद्युत आयोजनाबाट १६५ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

सुदूरपश्चिमका १५ प्रतिशत घर विद्युतविहीन

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिमका १५ प्रतिशत परिवार अझै अँध्यारोमा बस्न बाध्य छन् ।

राष्ट्रिय जनगणना ०७८ अनुसार सुदूरपश्चिममा ५ लाख ७७ हजार १०२ घरपरिवारको बसोबास छ । सात पहाडी जिल्लामा २ लाख ६९ हजार ७३३ परिवारको बसोवास रहेकोमा एक लाख ७३ हजार ८४६ परिवारमा विद्युत सुविधा पुगेको तथ्यांक छ । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भने चार लाख ६८ हजार ८०६ परिवारमा विद्युत सुविधा उपलब्ध छ । पहाडी जिल्लमध्ये बाजुरामा सबैभन्दा कम विद्युत पुगेको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । बाजुरामा दुई वर्षअघि मात्रै केन्द्रिय प्रसारण लाइन पुगेको हो ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जंगबहादुर चन्दका प्राधिकरणबाट सञ्चालित दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाबाट ३० मेगावट विद्युत उत्पादन भइरहेको छ । उनका अनुसार झण्डै एक सय ३५ मेगावाट निजी कम्पनीका आयोजनाबाट उत्पादन भइरहेको छ । प्रदेशमा रहेका अन्य आयोजनामा अपर चमेलिया सबैभन्दा ठूलो हो । उक्त आयोजनाबाट ४० मेगावाट उत्पादन भइरहेको प्रादेशिक कार्यालयले जनाएको छ । गत साउनदेखि उत्पादन सुरु भएको उक्त आयोजना अपी पावर कम्पनीले करिब आठ अर्बको लागतमा निर्माण गरेको हो । निजी क्षेत्रकै विभिन्न चार कम्पनीले बझाङमा ६५.५४ मेगावाट विद्युत उत्पादन गरेका छन् ।

सान्नीगाढ हाइड्रो लिमिटेडले माथिल्लो कालंगागाड जलविद्युत आयोजनाबाट ३८.४७ मेगावाट उत्पादन गरेको छ । उक्त आयोजनाले ०७९ माघबाट व्यवसायिक उत्पादन सुरु गरेको हो । कालंगा हाइड्रोले १५.३७ मेगावाट विद्युत कालंगागाड जलविद्यित आयोजनाबाट उत्पादन गरिरहेको छ । बुगल हाइड्रो लिमिटेडले माथिल्लो सानीगाढ जलविद्युत आयोजनाबाट १०.७ मेगावाट र रंगुनखोला हाइड्रो पावर लिमिटेडले देउलीगाड जलविद्युत आयोजनाबाट एक मेगावाट उत्पादन गरिरहेको छ ।

‘व्यवसायिक उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा जोडिएको पछिल्लो आयोजना १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना हो,’ यी चारवटै कम्पनीका संस्थापक सञ्चालक वीरेन्द्रबहादुर मल्लले भने, ‘बझाङका चारवटै आयोजनाबाट ६५.५४ मेगावाट विद्युत व्यवसायिक उत्पादन भइरहेको छ । सबैभन्दा सुरुमा त देउलीगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु गरेका हौं ।’

सुदूरपश्चिममा विद्युत उत्पादन गर्ने अर्को आयोजना अपर चमेलिया हो । उक्त आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ । यस्तै, दार्चुलाको नौगाडबाट ८.५, डोटीको कापडीगाडबाट ३.३३, दार्चुलाको मकारीगाडबाट १० मेगावाट र दार्चुलाकै अपर नौगाडबाट ८ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

शैलेश्वरी पावर लिमिटेडले डोटीको गड्डीगाडबा एक मेगावाट उत्पादन तयारी अन्तिम चरणमा पुगेको शैलेश्वरी पावर लिमिटेडका प्रमुख बिरेन्द्र मल्लले बताए । प्राधिकरणका प्रादेशिक प्रमुख चन्दकाअनुसार जिल्लास्तरमा दुई सय किलोवाट क्षमतामा विद्युत उत्पादन गरिरहेका लघु आयोजना पनि छन् । प्रादेशिक कार्यालय अत्तरियाका अनुसार उत्पादन र ग्रीड केन्द्रबाट हेरिने र वितरण मात्र अत्तरिया कार्यालयले हेर्ने भएकाले यकिन तथ्यांक अझै भन्न नसकिएको कार्यालय प्रमुख मल्ल बताउँछन् ।

प्राधिकरणका अनुसार सुदूरपश्चिममा १६५ मेगावाट उत्पादन भएपछि हिउँदमा पानीको सतह घट्दा उत्पादन घट्ने गरेको छ । प्रादेशिक कार्यालय प्रमुख चन्दले ७० मेगावाट भारतबाट आयात गर्ने गरिएको बताए । उनले भने ‘सुदूरपश्चिमबाट सबैगरि २३० देखि २३५ मेगावाट विद्युत नेसनल लाईनमा पठाउँछौं ।’

प्रकाशित : माघ २, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?