कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

जंगलभित्र वडा भवन निर्माणमा खटिएका ६ मजदुर पक्राउ

डीआर पन्त

धनगढी — जंगलभित्र गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माण गरिरहेका ६ जना मजदुरलाई वन कार्यालयले पक्राउ गरेको छ । स्थानीय खैराना महिला सामुदायिक वनभित्र गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माणमा काम गरिरहेका गोदावरी नपा ६ का कज्जु चौधरी, गौरव चौधरी, दिपक चौधरी, विशाल चौधरी र बुझाइने चौधरीलाई वन कार्यालयले पक्राउ गरेको हो ।

अत्तरीया वन सवडिभिजनका प्रमुख निरन्जन पडालले जंगलभित्र भवन निर्माण बन्द गर्न सामुदायिक वनलाई पत्राचार गर्दा पनि अटेर गरी निर्माण जारी राखेपछि पक्राउ गरिएको हो । 'यसअघि राति जंगलभित्र वडा भवनको जग हाल्ने काम भएको थियो,' पडालले भने, ‘जानकारी पाउनेबित्तिकै सामुदायिक वनलाई पत्राचार गरिएको थियो ।’

गोदावरी नगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी सामुदायिक वनभित्र वडा भवन बनाउने निर्णय गरेको थियो । नगरपालिकाले एक करोड ३५ लाखमा टेण्डर नै आहृवान गरी भवन निर्माण सुरु गरेको थियो । १ करोड ३५ लाखमा आहृवान गरिएको टेण्ड ८६ लाखमा सदर गरी भवन निर्माण सुरु भएको हो ।

राजनैतिक दबाबमा नगरपालिकाले जबर्जस्ती जंगलभित्र भवन निर्माण सुरु गरेपछि स्थानीय उपभोक्ताहरुले विरोध जनाएका थिए । वन कार्यालयले भवन बनाउन लगाउने नगरपालिका, वडासँग पत्राचार भने गरेको छैन । 'मजदुरलाई पक्राउ गरियो तर वास्तविक अपराधीका विषयमा वन कार्यालय मौन रहेको छ,' स्थानीय रमेश खड्काले भने, ‘लामो समयदेखि स्थानीय तहको मिलोमतोमा अत्तरीया क्षेत्रमा व्यापक वन अतिक्रमण भइरहेको छ ।’

‘जंगलभित्र जुनसुकै बहानामा पनि निर्माण गर्न पाइँदैन,’ सव डिभिजन प्रमुख पडालले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ गोदावरी नगरपालिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : भाद्र १३, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?