कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

एक दर्जन बढी नहरमा बग्दैन पानी, सिँचाइ आयोजना अलपत्र 

मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीगंगा नगरपालिकास्थित श्रीपूरका किसान लालबहादुर साउदको खेत तथ्यांकमा सिँचाइ सुविधा पुगेकोमा पर्छ । तर खुरखुरिया सिँचाइ योजनाको इन्टेक नै बाढीले बगाएपछि उनी एक दशकदेखि सिँचाइ सुविधाबाट वञ्चित छन् । उक्त आयोजनाको नहरबाट तीन वर्ष मात्रै सिँचाइ सुविधा पाएको साउदले बताए ।

एक दर्जन बढी नहरमा बग्दैन पानी, सिँचाइ आयोजना अलपत्र 

‘अहिले आकासे पानीकै भरमा रोपाइँ गर्नुपर्छ’ उनले भने, ‘चाहिने बेलामा पानी नपर्दा बालीको उत्पादकत्व समेत बढ्दैन ।’ उनका अनुसार पानी नपाउँदा बालीमा विभिन्न रोग लाग्नुका साथै अन्नको दाना पोषिलो बन्न पाउँदैन । ‘सिँचाइ सुविधा पाइरहेका बेला तीन बिघा जग्गामा प्रतिवर्ष ६० क्विन्टल धान र ३५ क्विन्टल गहुँ फल्थ्यो’ उनले भने, ‘अहिले सिँचाइ सुविधा नपुग्दा धान र गहुँ दुवैको उत्पादकत्व आधा घटेको छ ।’

गौरीगंगा–४ स्थित खुरखुरिया सिँचाइ आयोजनाको इन्टेक २०६६ मा बाढीले बगाएको हो । निर्माण भएको तीन वर्षमै बाढीले इन्टेक बगाएको थियो । पुनर्निर्माणका लागि अहिले प्रदेश सरकारले ५ करोड विनियोजन गरेको छ । उक्त योजनाबाट ९ सय हेक्टर क्षेत्र सिँचाइ गर्न पुग्छ । २०६६ कै बाढीले इन्टेक बगाएर लगेपछि गुर्गी सिँचाइ आयोजनाको नहरमा पनि नियमित पानी बग्दैन । बर्खामा किसानले अस्थायी बाँध बाधेर मूल नहरमा पानी बगाएर रोपाइँ गरे पनि नियमित सिँचाइ सुविधा पाएका छैनन् ।

कैलारी गाँउपालिका २ मा पर्ने गुर्गी सिँचाइ योजनाले १९ सय हेक्टर जमिनलाई पुग्ने अनुमान छ । बाढीले इन्टेक बगाएपछि यसको सिँचाइ सुविधाबाट एक दशकदेखि वञ्चित भएको स्थानीय कुलदिप चौधरीले बताए । उक्त योजनामा पनि प्रदेश सरकारले ६ करोड विनियोजन गरेको छ । सिँचाइ कार्यालय कैलालीका इन्जिनियर हेमराज भण्डारीले बाढीले पुराना नहर योजनामा भएको क्षतिको पुनर्निर्माण लागत बढी भएकाले सम्पन्न हुन नसकेको बताए । ‘गुर्गी सिँचाइ योजनाको अनुमानित लागत ४० करोड र खुरखुरियाको ३० करोड बढी छ’ उनले भने, ‘यो वर्षको बजेट ५/६ करोड मात्रै छ । उक्त बजेटले कति काम होला ?’

उक्त दुवै योजनाअन्तर्गत चालु आर्थिक वर्षमा इन्टेकको ठेक्का प्रकृयाको काम सम्पन्न भई निर्माणको काम सुरुवात हुने उनले दाबी गरे । ‘न्यून बजेटले योजना निर्माण ढिलो हुन्छ’ भण्डारीले भने, ‘चालु वर्षमा छुट्याएको जति नै बजेट पर्दै जाने हो भने पुनर्निर्माण सम्पन्न हुन १० वर्ष लाग्न सक्छ ।’ स्थानीयको बारम्बार दवावले चालु आर्थिक वर्षमा प्रदेश सरकारले खुरखुरिया र गुर्गी पुराना सिँचाइ प्रणालीको योजनामा पुनर्निर्माणका लागि बजेट परेको उनले बताए । सिँचाइ संरचना निर्माणमा बजेट परे पनि पानी ल्याउने योजनामा पर्याप्त बजेट नपरेको इन्जिनियर भन्डारीले बताए ।

उनका अनुसार बर्खाले क्षति पुर्‍याएर पानी नबग्ने परम्परागत सिँचाइ प्रणालीका योजनाको संख्या जिल्लाभर एक दर्जन बढी छन् । ‘सरकारले करोडौं लागतमा निर्माण गरेको सिँचाइ योजना नै अलपत्र अवस्थामा छन्’ उनले भने । मुल नहर तथा शाखा नहरको संरचना भएका पुराना सिँचाइ प्रणालीका योजनामा आवश्यक बजेट विनियोजन नहुने गरेको उनको भनाइ छ । पुराना सिँचाइ प्रणाली सञ्चालन ल्याउन नसक्दा जिल्लाका १० हजार हेक्टर भन्दा बढी खेतीयोग्य जग्ग सिँचित हुन सकेको छैन ।

धनगढी १३ कैलाली गाउका देवराज भट्टले धनगढी उपमहानगरको करिव २ हजार बढी हेक्टर जमिनलाई सिँचाइ पुग्ने खुटिया सिँचाइ योजना हराइसकेको बताए । ‘साविकको गेटा, बेला र धनगढी नगरपालिकाको अधिकांश खेतीयोग्य जमिन सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले नहर योजनाको काम सुरु भएको थियो’ धनगढी १३ का शिवराज भट्टले भने, ‘नहरको संरचना निर्माण पनि भए, आधा काम भन्दा बढी भएर योजना पञ्चायत जाने र बहुदल आउने बेलामै हरायो ।’

कैलाली जिल्लाको कुल खेती योग्य जमिन ८९ हजार ९ सय ३५ हेक्टर मध्ये धान खेती ७२ हजार हेक्टरमा भइरहेको छ । तथ्यांकमा जिल्लाको ४४ हजार हेक्टर भूमि सिँचित भएको देखिए पनि जिल्लाका महत्त्वपूर्ण पिरुवा बग्धौली, झाप्रेखोला, बन्देगडा, खुरखुरिया, गुर्गी जाइजाली, मोहना सिँचाइ प्रणालीको पुरै कमान्ड क्षेत्रमा र खुटिया लगायतका सिँचाइ योजनाको नहरमा पानी नै छैन । उक्त सिँचाइ प्रणालीको कमाण्ड क्षेत्र १० हजार हेक्टर बढी छ । कैलाली जिल्लाको पूर्वी क्षेत्रको ३८ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिँचित गर्नेगरी सुरु भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि हालसम्म १४ हजार जमिनलाई मात्रै सिँचित गरेको छ । जिल्लाको सहतगत र भूमिगत स्रोतबाट बढीमा २४ हजार हेक्टर भूमि मात्रै सिँचित छ । नयाँ प्रविधिमा अधारित पातभारा, जानकी टोल, गोदाबरी लिफ्ट, भक्तपुर सिँचाइ योजना, बहुलिया निमकोट ताल र बडीमालिका सिँचाइ योजनामा पनि पर्याप्त बजेट विनियोजन नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन ।

प्रकाशित : फाल्गुन १४, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?