मजदुरलाई सहजै काम- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मजदुरलाई सहजै काम

मोहन बुडाऐर

धनगढी — धनगढी उपमहानगरपालिका–७ का शिव विक हिउँदका खाली समयमा काम गर्न भारत पस्थे । यसपालि उनले सदरमुकाम धनगढीमै काम पाए । मजदुरीको काम भए पनि घरनजिकै पाइरहेकाले काम खोज्न भारत नगएको उनले बताए ।

धनगढी बजारको मुख्य सडक फराकिलो पार्ने योजनाअनुसार उपमहानगरपालिकाले सडकको क्षेत्राधिकारका संरचना हटाउन सुरु गर्‍यो । धनगढी बजारका एकसाथ चार सय भवन, व्यापारिक सटरलगायतका संरचना भत्काउने र पुनर्निर्माणको कामले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले धनगढीमा काम पाउन थालेका हुन् ।

धनगढी आसपासका मात्रै नभएर उपमहानगरपािलका बाहिरका स्थानीय तहबाट समेत कामदार धनगढी आएका छन् । भजनी–३ का दुखीराम चौधरी दम्पती धनगढीमा मजदुरी काम खोज्न आएका छन् । धनगढीमा बढेको रोजगारीको अवसरले मंसिरदेखि उनले एक दिन पनि खाली बस्नु नपरेको बताए । उनीहरूले दिनको ७ सयसम्म ज्यालामा काम पाइरहेको बताएका छन् ।

घर निर्माणका ठेकेदार छेदुलाल चौधरीले धनगढी बजारका ४ सयभन्दा बढी घर एकसाथ तोडफोड र निर्माणले मिस्त्री र लेबरले सहजै काम पाएका छन् । उनका अनुसार अहिले धनगढीको बजार क्षेत्रमा चार हजार बढी लेबर र मिस्त्रीले काम पाएका छन् । निर्माणको कामले हार्डवेयरको व्यापारसमेत वृद्धि भएको उनको भनाइ छ । समयावधि दिएर उपमहानगरले मुख्य बजारको करिब अढाई किलोमिटरको सडक क्षेत्राधिकारभित्र परेका संरचना हटाउँदै छ । ती संरचना हटाउन, तोडफोड र पुनर्निर्माण हतारमा गर्नुपर्दा लेबर, मिस्त्रीको माग बढेको स्थानीय व्यवसायी विपिन आचार्यले बताए ।

कामदारसँगै धनगढीमा निर्माण सामग्रीको पनि माग बढेको छ । ‘उपमहानगरले दुई महिना मंसिर र पुसभित्र क्षेत्राधिकारको संरचना हटाउन भनेपछि घरधनीलाई पक्की ठूल्ठूला संरचना हटाउन समस्या भयो,’ आचार्यले भने, ‘एकैचोटि घर भत्काउने र निर्माण गर्ने रकमको व्यवस्थासँगै ठेकेदार खोज्नु पर्‍यो । यसले एकातिर ज्यालादारी मजदुरीलाई अवसर खुल्यो, हार्डवेयर व्यवसायीको व्यापार पनि बढ्यो तर घरधनी मर्कामा परे ।’

सुप्रिम हार्डवेयरका नरेन्द्र बोहराका अनुसार बजारमा संरचनाको तोडफोड र पुनर्निर्माणले सिमेन्ट, छड र इँटाको बिक्री बढेको छ । उनले हार्डवेयरको व्यापारमा वृद्धि भए पनि उधारो बढी गएको सुनाए । ‘कोरोनाकालपछि केही समययता सिमेन्ट, छडलगायतका निर्माण सामग्रीको व्यापारमा मन्दी थियो,’ बोहराले भने, ‘धनगढी बजारको पुनर्निर्माणले केही राहत दिएको छ ।’

प्रकाशित : माघ २२, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

निकुञ्जमा खरखडाई

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवराज रानाको परिवार तीन साता अघि खर खडाईमा व्यस्त थियो । घर र गाईगोठमा छानो छाउन उनको परिवार हरेक वर्ष खर खडाइकै पर्खाइमा हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खर खडाई खोलेपछि उनीहरू परिवारका सबै खर भित्र्याउने काममा जुट्छन् । उनको परिवारका लागि यो परम्पराजस्तै बनेको छ ।

निकुञ्जले माघ माघ ९ देखि ११ गतेसम्म खर खडाई खोलेको थियो । तीन दिन बिहानदेखि साँझसम्म खर काटेर भित्र्याउने काम भएको रानाले बताए । ‘गाईगोठको छानो छाउन खर नभई हुँदैन,’ उनले भने, ‘हरेक साल फेर्नुपर्छ, गोठमा बार लगाउन पनि खरकै प्रयोग हुन्छ ।’ खर खडाई खुलेका बेला निकुञ्ज आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्छ । बिहानदेखि साँझसम्मै खर काट्ने र बोक्ने काम चलिरहन्छ ।

निकुञ्ज कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खर खडाई खोल्दै आएको छ । विगतमा अधिकांशका घर गोठ सबै कच्ची हुन्थे । छानोका लागि खरकै भर पर्थे । हिउँदमा खर खडाई खुलेपछि स्थानीयलाई राहात हुन्थ्यो । तर हालका वर्षमा निकुञ्ज आसपासका बस्तीमा घर गोठ सबै पक्की भइसकेका छन् । फाटफुट मात्रै कच्ची घर छन् । तिनमा पनि जस्ता पाताले छाएका छन् । कच्ची घर भएका तथा गाईवस्तु पालन गर्ने विपन्न परिवारका लागि खर खडाईले निकै सजिलो भएको छ । उनीहरू अन्य काम थाती राखेर पनि खर खडाईमा लाग्ने गरेका छन् । निकुञ्ज किनारमा बसोबास गर्नेहरूले वर्षभरि वन्यजन्तुले दिएको पीडा खर भित्र्याउँदा राहतजस्तै महसुस गर्छन् ।

तर खर खडाई परम्परा जस्तै बनेकाले यो निरन्तर चलिरहेको छ । कतिपयका लागि यो अत्यावश्यक छ भने धेरेका लागि खरका नाममा दाउरा भित्र्याउने माध्यम बनेको छ । ठूलो संख्यामा एकै पटक निकुञ्जभित्र भीड बढ्दा वन्यजन्तुको वासस्थान प्रभावित हुनुका साथै उनीहरूको विचरणसमेत खल्बलिन्छ ।

निकुञ्ज प्रशासनका अनुसार यस पटक ६ हजारले खर खडाइका लागि पुर्जी काटेका थिए । एकै पटक ६ हजार जना निकुञ्जमा पस्दा ठूलादेखि साना वन्यजन्तु सबै प्रभावित हुन्छन् । ‘वन्यजन्तुलाई डिस्टर्ब भए पनि हामीले निकुञ्जबाट स्थानीयलाई पाइने सेवाका रुपमा यसलाई लिएका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘यसलाई विस्तारै घटाउँदै लगेका छौं ।’ उनका अनुसार निकुञ्जभित्र पस्नेले खाजा तथा खानेकुराका लागि बोक्ने प्लास्टिक तथा अन्य सामग्री बोकेर लैजाँदा यसले प्रदूषणसमेत बढ्ने बताए ।

उनका अनुसार सुरुमा निकुञ्जमा डेढ महिनासम्म खर खडाई चल्थ्यो । त्यसपछि एक महिना, १५ दिन, ७ दिन र ५ दिन हुँदै अहिले ३ दिनमा झारिएको छ । ‘खर खडाईका नाममा काठ गोलियाको तस्करी र हरिया रूख काट्ने काम पनि हुन्छ,’ मेहताले भने, ‘यही जोखिम कम गर्न समय घटाउँदै लैजान थालेका हौं ।’

खर खडाईबाट निकुञ्जभित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा भने सहजता हुन्छ ।

खर खडाईका लागि निकुञ्जभित्र पसेका माथि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि त्यतिकै रहन्छ । यस पटक पनि खर खडाईकै समयमा एक महिला हात्तीको आक्रमणमा परिन । शुक्लाफाँटा नगरपालिका १२ कि उनीमाथि खर खडाइको अन्तिम दिन आक्रमण भएको हो ।

प्रकाशित : माघ २२, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×