गिट्टी कुटेर जीविका चलाउन कठिन

मनोज बडू

दार्चुला — दार्चुलाको दुहु गाउँपालिका–२ की सरस्वती लुहारको ६ वर्षदेखि दैनिक गिट्टी कुटेरै गुजारा चलिरहेको छ । सदरमुकाम खलंगाको महाकाली किनारमा चिसोको बेवास्ता गर्दै हरेक दिन सरस्वतीले गिट्टी कुट्दै आएकी छन् ।

बिहानदेखि रात नपरुन्जेलसम्म नदी किनारमा गिट्टी कुटेर बिक्री गरी परिवारको गुजारा चलाउने गरेको सरस्वतीले बताइन् । कुटेको गिट्टी बिक्री गरेर परिवारको जीवन धान्न धौधौ भएको छ । ‘गिट्टी कुटेर परिवारका सदस्यको साँझ–बिहानको खाना जोड्नै मुस्किल हुन्छ,’ उनले भनिन्, ‘हिउँदको न्यानो लुगा किन्न रुपैयाँ नपुग्दा चिसो सहनुपरेको छ ।’

गिट्टी कुटेर छोराछोरीलाई चाहिने कपडा लत्तादेखि नुन, तेन जोहो गर्न गिट्टी बिक्री गरेको बताउँदै जीवन धान्नसमेत निकै मुस्किल परेको उनको भनाइ छ । घरको आर्थिक अवस्था कमजोर भएको र श्रीमान् पनि कमाइ गर्न नसक्ने भएकाले चार सन्तानसँगै पूरै परिवारको गुजाराका लागि गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘छोराछोरी कसरी पाल्ने ? श्रीमान्को कमाइ छैन । गिट्टी कुटेरै सामान्य घरखर्च चलेको छ । कुनै दिन त भोकै बस्छौँ,’ उनले भनिन् । बजारमा पक्की घर निर्माण, सडकका ठेकेदारले सस्तो मूल्यमा गिट्टी खरिद गर्न खोज्दा आफूहरू मारमा परेको सरस्वतीको दुखेसो छ ।

त्यस्तै, महाकाली किनारैमै ४० वर्षीय जैमती कार्की पनि तीन वर्षदेखि गिट्टी कुट्दै आएकी छन् । बिहानदेखि साँझसम्म हातमा फोका उठ्ने गरी गिट्टी कुट्दासमेत यसबाट सोचेजस्तो आम्दानी हुन नसकेको उनको भनाइ छ । घरको आर्थिक अवस्था न्यून भएको र परिवारको घरखर्च टार्न चिसो ठाउँमा बसेर दिनभर गिट्टी कुट्नुपरेको उनी बताउँछिन् । ‘६ जनाको परिवार संख्या गिट्टी कुटाइबाट गुजारा धान्न सकिँदैन,’ उनले भनिन् । उनका श्रीमान् मौसमी रूपमा भारतमा मजदुरीका लागि जाने हुँदा परिवारको भार आफ्नै काँधमा रहेको उनले सुनाइन् । उनका अनुसार गिट्टी कुटेर आएको पैसाले सामान्य घरखर्च पनि पूरा हुँदैन ।

घरमा आयआर्जन गर्ने अन्य कुनै स्रोत नहुँदा गिट्टी नै परिवारको मुख्य पेसा भएको छ । घरको उत्पादनले वर्षभरि खान नपुग्ने भएकोले घरव्यवहार चलाउने भन्दै गिट्टी कुट्ने कामका लागि सदरमुकाम झरेको उनले बताइन् । श्रीमान्ले गाउँमा ज्याला मजदुरीले परिवार पाल्न अप्ठेरो भएपछि गिट्टी कुट्न थालेको महाकाली नगरपालिका–३ की पार्वती दमाईले बताइन् । गिट्टी कुटेर थोरै कमाइ हुने र त्यसले परिवारको साँझ–बिहानको छाक टार्न समस्या पर्ने उनको भनाइ छ । ‘चार छोराछोरीको पढाइ र औषधोपचार खर्च जुटाउनु हाम्रा लागि टाढाको कुरा भएको छ,’ उनले भनिन्, ‘दैनिक परिवारको घर खर्च चलाउन सकिएको छैन ।’

चिसो भए पनि गिट्टी नकुटेको दिन छाक टार्न नै कठिन हुने गरेको सरस्वतीले बताइन् । ‘एक घनमिटर गिट्टी कुट्न सात दिन लाग्छ र त्यसबाट १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘यसैबाट परिवारको गुजारा चलेको छ ।’ स्थानीयस्तरमै भरपर्दो रोजगारीको अवसर नमिल्दा परिवारका पुरुष सदस्य भारतमा रोजगारी खोज्न गएका छन् । यहाँको कामले परिवारको गुजारा नचल्ने देखिएपछि कामको खोजी गर्न अधिकांश पुरुषहरू भारततिर जाने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाहरू महाकाली किनारमा बालुवा संकलन र गिट्टी कुट्दै आएका छन् । दलित तथा केही गैरदलित परिवारका महिलाले गिट्टी कुटेरै परिवारको लालनपालनदेखि घरखर्च टार्दै आएको बताउने गरेका छन् ।

प्रकाशित : पुस ३०, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नयाँरोड–बरहथवा सडकखण्डमा रोकिरहेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । 

शनिबार बिहान वाग्मती नगरपालिका–२ स्थित नयाँरोड–बरहथवा सडकखण्डमा बिग्रेर रोकिराखिएको ना ५ ख ७५६४ नम्बरको उखु लोड गरिएको ट्रकमा वाग्मती प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका–४ का ३२ वर्षीय विश्वजित हजारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७९ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×