कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

कर्णालीमा डिउटीका प्रहरीले मोबाइल चलाउन नपाउने

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा प्रहरीले डिउटीमा खटिएका बेला मोबाइल फोनको प्रयोग गर्न नपाउने भएका छन् । डिउटीमा खटिनेमध्ये प्रहरी ‘कमाण्डर’ले भने फोन बोक्न पाउनेछन् । अन्य प्रहरी कर्मचारीलाई अत्यावश्यक भएमा कमाण्डरकै फोनबाट सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबारबाट कर्णालीभरि यस्तो नियम लागू गरिएको हो । मातहतका सबै कार्यालयमा यो प्रावधान लागू गर्न परिपत्र भइसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए । कतिपय अवस्थामा एक जना प्रहरीमात्र डिउटीमा हुने ट्राफिक प्रहरीले भने मोबाइल फोन प्रयोग गर्न पाउनेछन् ।

प्रहरीको ध्यान डिउटीमा केन्द्रित गराउन यस्तो व्यवस्था गरिएको डीआईजी ढकालले बताए । ‘डिउटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी निगरानी हुन सकोस् र प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्य हो,’ उनले भने ।

उनका अनुसार डिउटीमा खटिएका प्रहरीले मोबाइल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, आपराधिक घटना भएमा तत्काल अनुसन्धान गर्न सहज हुने, सामाजिक सञ्जालको दुरूपयोगबाट प्रहरीलाई बचाउन सकिने अपेक्षा गरिएको छ । यो कार्यले प्रहरीप्रति सर्वसाधारणको विश्वास पनि बढ्ने अपेक्षा गरिएको उनले बताए ।

डिउटीमा बसिरहेका प्रहरीले मोबाइल हेरैकै कारणले छेउबाटै घटना, दुर्घटनाका दोषी भाग्ने गरेको डीआईजी ढकाल बताउँछन् । आफू अनुगमनमा निस्किँदा पनि प्रहरीले एकोहोरो मोबाइल फोन चलाएको र डिउटीमा ध्यान नदिएको देखेकोले कर्णालीमा यो कामको सुरुआत गरेको उनले बताए ।

‘दोषी उम्किएर भाग्न सफल भएका घटनामा पछि नियन्त्रणमा लिन सकस भइरहेको हुन्छ । धेरै दिन लगाएर पत्ता लगाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘डिउटीमा रहेको प्रहरी कर्मचाहरुले फोन नचलाएको खण्डमा चनाखो देखिने हुँदा आपराधिक तत्व पनि निरुत्साहित हुन्छन् ।’

मोबाइल चलाएर सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइएपछि गत वैशाखयता कर्णालीमा आठ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । उनीहरुलाई यस्ता कुराहरुबाट बचाउन पनि डिउटीका बेला मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

नागरिक अगुवा दुर्गा थापा यो प्रावधानले डिउटीका प्रहरीहरु अनावश्यक फोनमा झुम्मिनु छाडेर सर्वसाधारणलाई सेवाप्रवाहमा सहजता हुने बताउँछन् ।

प्रकाशित : मंसिर १४, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?