कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भूकम्प पीडितहरुमा झाडापखला र श्वासप्रश्वासको समस्या 

डीबी बुढा

जुम्ला — जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिएको छ । दूषित खानेपानी र खानपानको कारण भूकम्प प्रभावितहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको हो ।

भूकम्प पीडितहरुमा झाडापखला र श्वासप्रश्वासको समस्या 

उनीहरुको स्वास्थ्य उपचार र स्वास्थ्य परामर्शको लागि जाजरकोट पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीको अनुसार गर्भवती, सुत्केरी र पालमा बसेकाहरुको स्वास्थ्य अवस्था नाजुक बनिरहेको छ ।

औषधि उपचार गर्ने र मानसिकरुपमा परामर्श दिने काम टोलीले गरिरहेको छ । टोली प्रमुख डा. मनिराज क्षेत्रीले नलगाड क्षेत्रको प्रभावितहरुसँग उपचार, राहत र परामर्श दिने काम भइरहेको बताए । उनले भने, ‘चिसो बढिरहेको छ । पालमा बसिरहेका भूकम्प पीडितहरुको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको छ । हामीले उपचार र परामर्श दिने कार्य गरिरहेका छौं ।’

स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र सरसफाइ सामग्री बाँड्ने काम टोलीले गरिरहेको छ । प्रतिष्ठानको चिकित्सकहरुको टोली गाउॅमा पुगेर उपचार गर्न थालेपछि भूकम्प पीडितहरुले राहतको अनुभूति गरिरहेका छन् । उनीहरुले बिग्रँदो स्वास्थ्य अवस्था सुधार्न आग्रह गरिरहेका छन् । डा. क्षेत्रीले भने, ‘अहिले गरिरहेका कामहरु तत्काल बनेका योजनाभित्र पर्छन् । लामो समयसम्म काम गर्नको लागि तथ्यांक संकलन भइरहेको छ ।’

अमेरिकन नेपाल मेडिकल फाउण्डेशनले प्रतिष्ठानको टोलीमार्फत सरसफाइ सामग्री उपलब्ध गराइरहेको छ । राहत, औषधि उपचार पुग्न नसकेको क्षेत्रमा प्रतिष्ठानको टोली पुगिरहेकोले भूकम्पले थलिएका बिरामीहरु र पीडितहरुको मनमा मलम लगाउन सकिएको टोलीले जनाएको छ ।

'भूकम्पले मर्ने मान्छेहरु मरिहाले तर बाँचेकोहरुले पनि चरम पीडा भोगिरहेका छन् । गर्भवतीहरु, सुत्केरी महिलाहरु र पालमा बसेका पीडितहरुमा मानसिक तनाव र झाडापखाला छ । हामीले बोकेको औषधि दियौं । मानसिक परामर्श पनि दिएका छौं । पानी सफा गर्नेदेखि सरसरफाइ सामग्री स्वास्थ्य शिक्षा र उपचार दिँदैछौं,' डा. क्षेत्रीले भने ।

प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्रीको नेतृत्वमा एसिसन्टेन्ट प्रोफेसर डाक्टर ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्य, प्राविधिक सहयोगी सन्तोष रावल, पब्लिक हेल्थका विद्यार्थीहरु नरसिङ पुन र रुपेश गिरीसहितको टोलीले प्रभावितलाई सेवा दिइरहेको छ ।

टोलीले प्रभावित गाउॅबस्तीमा पुगेर स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण लगायतको कार्य गरिरहेको प्राध्यापक डाक्टर क्षेत्रीले बताए । प्रतिष्ठानको जनस्वास्थ्यको टिमले जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १, २, ३ मा भूकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गर्नुका साथै जनस्वास्थ्य र मनोसामाजिक परामर्श दिइसकेको छ भने रुकुम पश्चिमको आठबिसकोटमा सेवा दिइरहेको छ । साथै उक्त टोलीले त्रिवेणी गाउॅपालिकामा पनि सेवा दिने बताएको छ ।

प्राध्यापक क्षेत्रीका अनुसार प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुरामा धेरै नै ख्याल गर्नुपर्ने भएकाले विपदपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या र त्यसको समाधानबारे आफूहरुले सचेतना फैलाउनुका साथै जनस्वास्थ्य सम्बन्धी अध्ययन, पीडितको स्वास्थ्य जाँच पनि गरिरहेको छ ।

त्यस्तै, कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यले भूकम्पले उत्पन्न विपदका कारण पीडितहरुमा स्वाभाविकरुपमा मनोबल घट्ने भएकोले यस्तो बेला उचित मनोपरामर्श आवश्यक रहेको बताए । उनका अनुसार प्रभावित क्षेत्रमा पीडितको मनोभावनामा परेको प्रभावअनुसार आवश्यकताका आधारमा प्राथमिक मनोवैज्ञानिक परामर्श, सामूहिक परामर्श र व्यक्तिगत परामर्श गर्न थालिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकन नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा टोलीले उक्त सेवा दिइरहेको छ । साथै टोलीले पीडितलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सामग्रीः हाईजिन किट (साबुन, ब्रस, तुथपेस्ट, सेनिटरी प्याड, पानीमा हाल्ने प्यूस) समेत प्रभावितलाई वितरण गर्दै आएको छ ।

भूकम्पले प्रभावित जाजरकोट–रुकुम पश्चिमका पीडितलाई उद्धार तथा उपचार सेवा दिन यसअघि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पातलको टिम प्रभावित क्षेत्रमा काम गरेर फर्किएको थियो । मृतक परिवारसँग भेटघाट बिरामीको उपचार दिइरहेको छ । भूकम्प गएको भोलिपल्टै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा.मंगल रावल नेतृत्वको टोली प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारमा खटिएको थियो । उपकुलपति डा. रावलको टीम फर्किएपछि अर्को चिकित्सकहरुको टोली खटिएको हो ।

प्रकाशित : कार्तिक २६, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?