कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

जिल्ला कृषि विकास कार्यालयले भदौ दोस्रो साताअघि किसानलाई स्याउ बाहिर नपठाउन भनिसकेको छ तर किसानले नबिक्ने डरले काँचो स्याउ नै लुकीछिपी बजार पठाइदिए
डीबी बुढा

जुम्ला — नपाक्दै स्याउ जिल्लाबाहिर जान थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको छ । स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको जुम्ली स्याउ आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त छ । दुई सातायता नपाक्दै जुम्लामा उत्पादित स्याउ बाहिर जान थालेको छ ।

बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

जिल्ला कृषि विकास कार्यालयले भदौ दोस्रो साताभन्दा अघि किसानलाई स्याउ बाहिर नपठाउन आग्रह गरिरहेको छ । तर किसानले पछि नबिक्ने डरले काँचो स्याउ नै लुकीछिपी बजार पठाउन थालेका छन् । वर्षासँगै बाढीपहिरो आउन सक्ने र सडक यातायात बन्द हुने भएकाले पनि काँचो स्याउ बिक्रीका लागि पठाउनुपरेको तातोपानीका किसान सूर्य न्यौपानेले बताए । ‘पछि अरू जिल्लाको स्याउ पनि एकैपल्ट प्रमुख सहरहरूमा पुग्छ,’ उनले भने, ‘बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भए स्याउ थन्किने र कुहिने डर पनि छ ।’ उनका अनुसार अहिले कालीकोट, सुर्खेत, नेपालगन्ज, कोहलपुर, चितवन, बुटवललगायत सहरमा जुम्ली स्याउ गइरहेको छ ।

राज्य जुम्ली स्याउप्रति संवेनदशील हुन नसकेका कारण काँचो स्याउ बाहिर पठाउनुपरेको चन्दननाथ–१ का किसान राजबहादुर झाँक्रीले जनाए । ‘पाकेपछि सरकारले स्याउ बाहिर पठाइदिन्छ वा बजारको सुनिश्चित गरिदिन्छ भने हामी स्याउ रोक्न तयार छौं,’ उनले भने, ‘तर पाकेपछि बजार नपाइने भएकाले अहिल्यै सस्तोमा भए पनि स्याउ बाहिर पठाउनुपर्ने समस्या भयो ।’ जुम्लामा उत्पादन हुने सबै स्याउ भण्डारण गर्न सकिने गरी कोल्ड स्टोर नभएकाले पनि काँचो स्याउ पठाउनुको विकल्प नभएको उनको भनाइ छ । गत वर्ष कर्णाली राजमार्ग पहिरोका कारण बन्द हुँदा जुम्लामा उत्पादन भएको झन्डै १० टन स्याउ मालवाहक गाडीमै कुहिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । जुम्लामा रेड रोयल र गोल्डेन जातको स्याउ पाइन्छ । अहिले हिमा, सिंजा, तातोपानी र तिलाका किसानले काँचो स्याउ बजार पठाइरहेको किसान अमर बुढथापाले जनाए । ‘सडक आसपासमा काँचो स्याउ लोड गरिरहेका ट्रक भेटिन्छन्,’ उनले भने, ‘अहिल्यै स्याउ बजार पठाउनु हाम्रो बाध्यता हो ।’

कर्णाली राजमार्गलाई बाह्रै महिना चलाउन मिल्ने गरी दुई लेनको बनाइदिए यस्तो अवस्था नआउने उनको दाबी छ । ‘सरकारले जुम्लामा स्याउ फल्छ भन्ने मात्रै देख्छ, किसानले स्याउ कसरी रोप्छन् ?, मलखादको व्यवस्थापन कसरी भइरहेको छ ?, बगैंचामा रोगकिराको अवस्था कस्तो छ ? यस्ता विषयमा सरकारको ध्यान गएन,’ उनले भने, ‘हाम्रा लागि बजारीकरण सबैभन्दा ठूलो समस्या हो ।’

जुम्लावासीको हरेक घरमा एक बगैंचा स्थापना गर्न आर्थिक वर्ष ०५७/५८ मा कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम सञ्चालन भएको थियो । ०७२/०७३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन कार्यालय स्थापना भएपछि यहाँका सबैजसो घरमा स्याउ खेती भइरहेको छ । जिल्लाभर १९ हजार घरमध्ये करिब १६ हजार घरधुरीमा स्याउ खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

कार्यालयका अनुसार जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती हुन्छ । गत वर्ष २१ हजार टन स्याउ उत्पादन भएको कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए । जुम्लामा उत्पादन भएकोमध्ये करिब ९० प्रतिशत स्याउ जिल्लाबाहिर जाने उनको अनुमान छ । स्याउमा पछिल्लो समय लाइकिरा, झुसिलकिरा र ढुसीजन्य रोगको संक्रमण देखिएको उनले जनाए ।

किसानले गत वर्ष प्रतिकिलो ४० रुपैयाँका दरले स्याउ बिक्री गरेका थिए । तर यो वर्ष त्यति मूल्य पनि नपाउने हो कि भन्ने चिन्ताले काँचो स्याउ बजार पठाइरहेको किसानहरूको गुनासो छ । स्याउ खेतीप्रति किसान आकर्षित भए पनि आकर्षक मूल्य र सरकारी सहयोग नपाउँदा भने आफूहरू दुःखी भएको खलंगाका किसान दलबहादुर बस्नेतको भनाइ छ ।

प्रकाशित : श्रावण १७, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?