कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकैबाली सुकेपछि किसान चिन्तित

विप्लव महर्जन

सल्यान — लामो समयदेखिको खडेरीले जिल्लाको कालीमाटी गाउँपालिकालगायत क्षेत्रमा किसानले चैतको अन्तिम र वैशाख पहिलो सातामा लगाएको मकैबाली सुक्न थालेको छ । 

मकैबाली सुकेपछि किसान चिन्तित

समयमै वर्षात नभएको र अत्यधिक गर्मीका कारण सिँचाईको अभावमा मकैबाली सुक्न थालेको हो । बेर्ना र दाना लाग्ने बेलामा मकैबाली सुक्न थालेपछि जीविकोपार्जनमा कठिनाई हुने भएकाले किसान चिन्तित बनेका छन् । अब साताभित्र वर्षात् नभए बाली उखेलेर फाल्नुपर्ने अवस्था आउने किसानले बताएका छन् ।

मकैबालीमा बचाउन सिँचाईको व्यवस्थापनका लागि किसानले सम्बन्धित निकायसमक्ष आग्रहसमेत गरेका छन् । ८ रोपनी जग्गामा मकै लगाएका कालीमाटी गाउँपालिका-५ का डम्मर बोहराले अत्यधिक गर्मीका कारण खोलामा पानी सुकेकाले सिँचाई गर्न नपाउँदा फल लाग्ने समयमा र भर्खर छ/सात पाते भएका सबै मकै सुकेको बताए । १० रोपनीबाट ४/५ मुरी मकै उत्पादन हुने र बिक्री गरेर वार्षिक ५० हजार कमाई हुने भए पनि यसपाली सुक्दै गएकाले बाली नै भित्र्याउन नपाउने अवस्था आउन लागेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका-३ झिगानेका कलिभान ओलीले खोलाको सबै पानी धानको ब्याड राख्न लगाएकाले सिँचाई गर्न नपाउँदा आफ्नो तीन रोपनी जग्गामा लगाएको मकै फल लाग्ने बेलामा सुक्न थालेको गुनासो गरे । उनले गाउँपालिकाका धेरै किसानको मकैबाली सुक्दै गएको पनि बताए । ‘घर नजिकैको खेतबाट सिँचाई कुलो निर्माण गरिएको छ । खोलामा भएको अलिअलि पानी धानको ब्याड राख्न खेतमा लगाएका छन् । कुलो सुख्खा छ,’ उनले भने, ‘शारदाबाट पानी ल्याउ भने तान्ने साधन छैन । लगानी गर्ने पुर्जी छैन । कसरी मकै बचाउने भन्ने चिन्ता लाग्न थालेको छ ।’ बसन्ते मकै काँचो तथा सुकेको बिक्री गरेर एक घरले मात्रै २५ देखि ५० हजारसम्म कमाउँदै आएकामा यसपाली मुस्किलले बिउ जोगाउन सकिएला कि भन्ने अवस्था रहेको उनले बताए ।

त्रिवेणी गाउँपालिका-१ काभ्राका धनबहादुर थापाले सिँचाई हुने खेतमा मकै हरियो भए पनि सहज सिँचाईको पहुँच नभएको खेतमा मकै सुक्दै गएको बताए । साताभित्र वर्षात् नभएमा सबैले लगाएको मकैबाली उखेलेर फाल्नुपर्ने उनले बताए । ‘उत्पादन गरेको मकै बिक्री गर्दा केही महिना गुजारा चल्थ्यो,’ उनले भने, ‘अब परिवारको गुजाराको लागि मजदुरी गर्नुपर्ने देखिएको छ ।’

सोही गाउँपालिका वडा नम्बर २ का अर्का किसान केशर घर्तीले सडक खन्दा मुहान पुरिएर खोलामा पानी घटेको र पानी लगाउन नपाउँदा चार रोपनीमा लगाएको मकै सुकेकाले पशुचौपायालाई खुवाउन थालेको बताए । उनले मकैबाली लगाउँदाको लगानी खेर गएको उनको भनाइ छ । ‘चार रोपनीबाट २ मुरीभन्दा बढी मकै उत्पादन हुन्थ्यो । बिक्री गर्दा २५ हजारभन्दा बढी कमाइहुन्थ्यो । उक्त रकमले चामल किन्दा चार/पाँच जनाको परिवारलाई चार महिना गुजारा चल्थ्यो । अब अन्य काम गर्नुपर्ने भएको छ,’ उनले भने ।

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशमबहादुर बस्नेतले जिल्लाका किसानले १८ हजार ५० हेक्टर जग्गा मकैबाली लगाएका छन् । त्यसमध्ये झन्डै २ सय हेक्टरमा लगाइएको बसन्ते मकैमा बढी असर गरेको उनले बताए । समयमै वर्षात् नभएका कारण बसन्ते मकैमा उत्पादन ४० प्रतिशत जति घट्ने अनुमान गरिएको छ ।

उनका अनुसार किसानले बसन्ते मकै सबैभन्दा बढी कालीमाटी, त्रिवेणी गाउँपालिकामा लगाउने गरेका छन् । खडेरीले तरकारीलगायत अन्य बालीलाई पनि असर गरेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २७, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?