आफ्नै पाठ्यपुस्तक बनाउँदै पालिका

पाठ्यपुस्तकमा पालिकाको व्यापार, पर्यटन, पर्यावरण, रीतिरिवाज समेटेर किताब प्रकाशन हुँदै 
तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतका स्थानीय तहहरू आफ्नै पाठ्यपुस्तक तयार पार्ने कार्यमा जुटेका छन् । यहाँका ९ वटै पालिकाहरूले आफ्नो पाठ्यपुस्तक निर्माण कार्यलाई अगाडि बढाएका छन् । ५ नगरपालिका र ४ वटा गाउँपालिका रहेको सुर्खेतका सबै स्थानीय तहहरूले आफ्नो पाठ्यपुस्तक लागू गर्न अभ्यास थालेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । यही व्यवस्थाअनुसार पालिकाहरू पाठ्यपुस्तक निर्माणमा अग्रसर बनेका हुन् । दफा ११ (ज) १८ मा स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्न सक्ने उल्लेख छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नो पाठ्यपुस्तक निर्माण गरेर अध्ययनसमेत गराइरहेको छ । वीरेन्द्रनगरका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अन्यसँगै आफ्नै पालिकाको बारेमा जानकारी पाइने पुस्तक पढिरहेका छन् । ८ कक्षासम्मकै पाठ्यपुस्तक बनाउने अभियानमा पालिका लागेको छ । कक्षा ४ र ५ को किताब लेखनको क्रममा रहेका नगरपालिकाका शिक्षा शाखाका रामलाल आचार्यले बताए ।

अहिले कक्षा १ देखि ३ सम्मको हामी र हाम्रो वीरेन्द्रनगर नामक पुस्तक पालिकाले प्रकाशनमा ल्याएको छ । ‘पालिकाको व्यापार, पर्यटन, पर्यावरण, यहाँको रीतिरिवाजलाई समेटेर किताब प्रकाशनमा ल्याएका छौं,’ उनले भने, ‘अर्को शैक्षिक सत्रबाट १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यपुस्तक पनि पढ्न पाउनेछन् ।’

पञ्चपुरी नगरपालिकाले पनि स्थानीय पाठ्यपुस्तक निर्माण कार्यलाई अघि बढाइरहेको छ । पालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरीले समिति गठन गरेर पहिलो मस्यौदासम्म काम गरेको बताइन् । जिल्लाको सिम्ता गाउँपालिकाले पनि केही महिना अगाडि नै स्थानीय पाठ्यपुस्तक निर्माणको कार्य सकेको छ । सुरुमा यसमा काम गरिरहेको पालिकालाई स्याक नामक संस्थाले सहयोग गरेको शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले बताए । उनका अनुसार अहिले किताब छपाइको काम भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ८ सम्मका विद्यार्थीले स्थानीय पाठ्यपुस्तक पढ्न पाउने उनले बताए ।

गुर्भाकोट नगरपालिकाले पनि स्थानीय पाठ्यपुस्तक निर्माणमा काम गरिरहेको छ । यो वर्षभित्रै काम सम्पन्न गरेर स्थानीय पाठ्यपुस्तक लागू गर्ने पालिकाले जनाएको छ । यसका लागि पालिकाले विज्ञहरूको सहयोग लिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पदमबहादुर विकले बताए । उनका अनुसार यो कार्यका लागि पालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । स्थानीय तहभित्र रहेका कला, संस्कृति, रीतिरिवाज, भाषा, वेशभूषा, सीप, प्रविधि बालबालिकाहरूलाई परिचित गराउने उद्देश्यले यसको सुरुवात गरिएको उनले बताए ।

चौकुने गाउँपालिका पनि स्थानीय पाठ्यक्रममा काम गरिरहेको छ । अहिले मस्यौदा लेखनको काम सकिएको शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढा बताउँछन् । उनका अनुसार मस्यौदा समिति र सरोकारवालासँगको छलफल सकिएको उनले बताए । सुर्खेतको बराहाताल गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाइसकेको छ । अहिले पाठ्यपुस्तक लेखन प्रक्रियामा छ । यो वर्ष १ देखि ५ कक्षासम्मको लेखन कार्य सम्पन्न गर्ने उद्देश्य रहेको पालिकाकी शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायले बताइन् । यही शैक्षिक सत्रमा किताब प्रकाशनको काम गर्ने भन्ने तरिकाले अगाडि बढेको उनको भनाइ छ ।

यस्तै, जिल्लाका अन्य पालिकाहरू पनि स्थानीय पाठ्यपुस्तक निर्माणका लागि काम गरिरहेका छन् । विद्यालयमा गत वर्षबाट कक्षा १ देखि ३ सम्म हामी र हाम्रो वीरेन्द्रनगर पाठ्यपुस्तक पढाइ भइरहेको कृष्ण संस्कृत तथा साधारण विद्यालयकी शिक्षिका देवमाया बाह्रघरेले बताइन् । स्थानीय पाठ्यपुस्तक पढ्न थालेपछि विद्यार्थीले आफ्नो पालिकाबारे बुझ्न पाएका उनको भनाइ छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

महाकाली सिँचाइ आयोजना : उद्घाटन नहुँदा नहरमा पानी दिइएन

भारतीय पक्षले उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ तर उद्घाटन कहिले गर्ने भन्ने टुंगो छैन 
भवानी भट्ट

कञ्चनपुर — महाकाली सिँचाइ आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम पनि सुरु भइसकेको छ । दुई वटा पुराना सिँचाइ कुलोलाई शाखा नहर बनाउने काम भइरहेको छ । असार १५ मा बेदकोट नगरपालिका–४ को बगुनमा सोही नहरबाट पानी ल्याएर रोपाइँ पनि गरियो । तर त्यसयता भने नहरमा पानी बन्द भएको छ । 

भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन सकेको छैन । भारतीय पक्षले उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ । तर दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटन कहिले गर्ने भन्ने टुंगो छैन ।

‘भारतीय पक्षले उद्घाटनलाई नै बहना बनाएर पानी छाड्न मानेको छैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘उद्घाटनको भने अहिलेसम्म कुनै टुंगो छैन ।’ उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला नहरको उद्घाटन हुन सके नहरमा पानी सञ्चालन हुने बताए ।

फागुन पहिलो साता प्रधानमन्त्री दाहाल कञ्चनपुर पुगेका बेला पनि निर्देशक बमले उद्घाटनको विषय उठाएका थिए । टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर भारतीय पक्षले निर्माण गरेपछि असारमा उक्त नहरको परीक्षण गरिएको थियो । त्यही बेला नेपालतर्फ निर्माण भएको मूल नहरको पनि परीक्षण गरिएको थियो । असार १५ मा नहरकै पानीले बेदकोट नगरपालिका ४ बगुनमा रोपाइँ गरेर धान दिवस पनि मनाइएको हो । तर त्यसपछि बन्द भएको पानी हालसम्म सञ्चालन हुन सकेको छैन ।

एक वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । भारतीय पक्षले टनकपुर ब्यारेजमा नहरको इन्टेक नजिकै उद्घाटनको सबै तयारी पनि गरेको थियो । कोरोना संक्रमण तीव्र भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि उद्घाटन कार्यक्रम पनि रोकिएको थियो ।

आयोजना निर्देशक बमका अनुसार शुक्लाफाँटा नगरपालिकामा कालापानी सिँचाइसँगै दुई पुराना कुलाको सामान्य मर्मतपछि पानी सञ्चालन गर्न सकिनेछ । मूल नहर निर्माण भएको २८ किलोमिटर क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम पनि सुरु भइसकेको छ । दुई वर्षभित्रै काम सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

अहिले मूल नहरमा इन्टेक निर्माण भइरहेको आयोजनाको सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले बताए । उनका अनुसार इन्टेक निर्माणपछि शाखा नहर निर्माणको काम थालिनेछ ।२८ किलोमिटरदेखि ४८ दशमलव २६२ किलोमिटर (गोदावरी नदीसम्म) नहर निर्माणको प्रक्रिया पनि सुरु भएको छ ।आयोजना कार्यालयले टेन्डर आह्वान गरिसकेको छ ।

महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा १ हजार क्युसेक र हिउँदमा ३ सय क्युसेक पानी प्राप्त गर्नेछ । सिँचाइकै लागि नेपालले शारदा ब्यारेजबाट भने बर्खामा १ हजार र हिउँदमा डेढ सय क्युसेक पाउँदै आएको छ । आर्थिक वर्ष ०६३/०६४ मा निर्माण सुरु भएको आयोजनाको कामले सुरुका केही वर्ष मुआब्जा विवाद र बजेट अभावका कारण गति लिन सकेन । आयोजनाअन्तर्गत १५१ किलोमिटर मूल नहर निर्माण हुनेछ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×