कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै विद्यालयमा डेढ वर्षमा आधा करोड बेरुजु

महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१ खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा डेढ वर्षको अवधिमा झन्डै आधा करोड रूपैयाँ बेरुजु देखिएको छ । २००९ सालमा स्थापित विद्यालय जिल्लाको सबैभन्दा पुरानो र बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालय हो । विद्यालयले २०७८ वैशाखदेखि गत असोजसम्म विद्यार्थी शुल्कबापत विभिन्न शीर्षकमा ८९ लाख ४८ हजार रूपैयाँ आम्दानी गरेकोमा त्यसको झन्डै ६२ प्रतिशत बेरुजु निस्किएको हो ।

एउटै विद्यालयमा डेढ वर्षमा आधा करोड बेरुजु

बिहीबार विद्यालय व्यवस्थापन समितिको बैठकसमक्ष अर्थ व्यवस्थापन उपसमितिले पेश गरेको प्रतिवेदनमा ५५ लाख ७३ हजार ४ सय ७१ रूपैयाँ बेरुजु देखिएको प्रतिवेदन पेश भएको हो । विद्यालय व्यवस्थापन समितिले २०७९ साउन २६ गते गठन गरेको आर्थिक सुधार उपसमितिले विगत डेढ वर्षयताको विद्यालयको आर्थिक तथा शैक्षिक सुधारका लागि तयार पारिएको प्रतिवेदनमा आम्दानी व्यवस्थित नभएको र खर्च प्रक्रिया नपुर्‍याएको भन्दै विद्यालयको समग्र लेखा व्यवस्थापनमा लापरबाही गरेको कुरा उल्लेख गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य केदार गौतमको संयोजकत्वमा रहेको ५ सदस्यीय उपसमितिले विद्यालयको आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन पेश गरेको हो । संयोजक गौतमले प्रतिवेदनमा उल्लेख भए अनुसारका सिफरिसहरु कार्यन्वयन गर्न विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरी प्रतिवेदन पेश गरिएको बताए ।

उपसमितिले तयार पारेको २५ पृष्ठ लामो उक्त प्रतिवेदनमा आर्थिक तथा भौतिक र शैक्षिक पक्षसँग सम्बन्धित गम्भीर समस्याहरु पहिचान गरिएको छ । ‘विद्यालयको लेखा व्यवस्थापन विद्यमान शिक्षा ऐन, नियमावली तथा निर्देशिका बमोजिम नभएको प्रतिवेदनको ठहर छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विद्यालयको खाताबाट रकम खर्च गर्न बजेट पारित गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिले निर्णय गर्नुपर्ने र बिल भरपाइअनुसार चेक काट्नुपर्ने प्रक्रियागत व्यवस्थाको पालन नगरी र प्रक्रिया नपुर्‍याइ चेक काटी रकम निकालेपछि बिल मिलाउने गरेको पाइयो ।’ साथै केही चेकको रकम निकालिएको भए पनि कुनै पनि कागजपत्रसमेत नभएको पाइएको संयोजक गौतमले बताए ।

माध्यमिक तह (कक्षा १२) सम्म विद्यार्थीबाट कुनै पनि प्रकारको शिक्षण, परीक्षा, पाठ्यपुस्तक र भर्ना शुल्क लिन नपाउने कानुनी व्यवस्थाविपरीत विद्यार्थीबाट विभिन्न शुल्कहरु लिएर विद्यालयको खातामा जम्मा नगरी मनोमानी गरेको प्रतिवेदनमा उल्लेख छ । शैक्षिक सत्र–२०७८ यता कहिले र कसरी कुनकुन शीर्षकमा केकति शुल्क लिइयो भन्ने कुराको विस्तृतः जानकारीसहितको प्रतिवेदन व्यवस्थापन समितिसमक्ष पेश गरिएको उनले जानकारी दिए । उनका अनुसार उपसमितिले झन्डै ६ महिना लामो अध्ययनपश्चात प्रतिवेदन तयार गरेको हो ।

मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा प्रतिवेदन पेश भइ छलफल गरिएको व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले बताए । उनका अनुसार ‘बेरुजु असुलउपर गरी विद्यालयको खातामा जम्मा गर्न र सो रकम के कति कारणले नियमविपरीत खर्च भएको हो र लेखापाल महिनौदेखि कार्यालय समयमा नियमित उपस्थित नहुनुको कारण के हो ?’ सो सम्बन्धमा स्पस्ट पार्न प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठगबहादुर बुढाथोकीलाई बुधबारबाट ७ दिनको समयावधि तोकी स्पष्टीकरण पेश गर्न निर्देशन गर्ने निर्णय गरिएको छ ।

‘बेरुजु रकमको सम्बन्धमा प्राप्त स्पष्टीकरणको मूल्यांकन गरी नियमानुसार काम कारबाही अगाडि नबढाउँदासम्म र उक्त बेरुजु रकम असूलउपर नहुँदासम्म प्रधानाध्यापक र लेखापालको हस्ताक्षरबाट सञ्चालन भइरहेको बैंकखाता रोक्का गर्नेसमेत निर्णय गरिएको छ,’ उनले भने । विद्यालयमा कक्षा १ देखि १२ सम्म झन्डै १४ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?