अस्पताल भर्ना भएका बिरामी जुगाडखोलामा मृत फेला

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएर उपचार गराइरहेका बिरामी जुगाडखोलामा मृत भेटिएका छन् । ६ दिनदेखि अस्पताल भर्ना भएका तातोपानी गाउँपालिका ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की अस्पताल नजिकै रहेको जुगाडखोलामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति साढे १२ बजेको समयमा बिरामी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएका थिए । प्रहरी निरीक्षक यामबहादुर बुढामगरले बिरामीको हातमा क्यानलग समेत थियो । उनले भने,‘बिरामी अस्पताल बाहिर निस्केर लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान छ ।’ बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रहरीको टोली परिचालन गरेको थियो ।

तर बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किएर खोलामा मृत भेटिनु राम्रो नभएको बताएका छन् । उनीहरुले अस्पतालबाट बाहिर निस्कँदा वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुदेखि गेटमा लागेका सुरक्षागार्डहरुले समेत वास्ता नगर्नु ठूलो समस्या भएको बताएका छन् ।

बिरामी लल्लु अस्पतालको दुई तलामा रहेको ४ नम्बर बेडमा भर्ना भएका थिए । लल्लु अस्पताल बाहिर निस्केको कुरुवा रहेकी उनकी श्रीमतीले समेत थाहा पाइनन् । बिरामी भर्ना भएको वार्डबाट बाहिर निस्कँदा झन्डै तीन वटा गेट पार गर्नुपर्छ । तर कुनै पनि गेटमा उनलाई निगरानी नराख्नु लापरबाही भएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् ।


यता अस्पतालले पौने ११ बजे नै बिरामी नहुँदा कुरुवा बेसेकी उनकी श्रीमती गोबिधरालाई सार्कीलाई सोधेको बताएको छ । उनले बिरामी ट्वाइलेट गएको भनेकी थिइन् । ट्वाइलेटमा समेत नभेटाएपछि बिरामीको खोजी अस्पतालले पनि सुरु गरेको थियो । डक्टर र नर्सहरुले उनलाई नियमित रुपमा रेखदेखदेखि औषधि उपचार गराइरहेका थिए ।

'अस्पतालको बिरामी कसरी बाहिर निस्कियो?, कहाँबाट खोलामा पुग्यो ?' भन्ने विषयले अस्पतालको व्यवस्थापनमा प्रश्नचिह्न खडा भएको स्थानीयले बताएका छन् ।

मृतक सार्कीको परिवार दुई हप्ताअघि मात्रै काठमाडौंदेखि जुम्ला आएका थिए । उनका तीन छोरा र एक छोरी छन् । उनीहरू सबै काठमाडौं बस्छन् । बिरामीको शवलाई गाउँले बुहारीहरुले नै भेटाएका थिए । बिरामी खोज्न गाउँदेखि २ बजे नै आफन्तजनहरु सदरमुकाम खलंगा पुगिसकेका थिए । मृतकका भाइ कैलो सार्कीले अस्पतालको लापरबाहीका लागि आफ्नो दाजुको मृत्यु भएको बताएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन हाल्न ओलीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी संसद्‌मा प्रस्तुत गरिएको विधेयकमा संशोधनको तयारी गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कुन कुन बुँदामा कसरी तयारी गर्ने भनेर बताइने बताए । 

'संसदमा टीआरसीसम्बन्धी विधेयक आएको छ । कुन कुन विषयमा संशोधन गर्ने भनेर बुँदाबुँदामै बताइन्छ । त्यसलाई कमरेडहरूले टिपेर त्यसअनुसार बहस गर्न तयारी गर्नुहोला‚' ओलीले भने, 'विभिन्न विधेयकहरू आउँदै छन् । त्यसमध्ये विधेयकमा समग्रमा होइन‚ सच्याउनुपर्ने ठाउँ धेरै हुन्छन् । त्यस्तो विधेयकलाई पूर्ण रुपमा देश, जनता, लोकतन्त्र, विकास, स्वच्छता र पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणको पक्षमा बनाउन चाहन्छौं । त्यसका लागि संशोधन पनि हाल्नुपर्ने हुन्छ । ' ओलीले यदि त्यो मानिएन भने आवश्यकताअनुसार विरोधको स्तर के हुन्छ त्यो गर्ने बताए ।

सरकारले बेपत्ता नागरिक छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक आइतबार संसद्‌मा टेबुल गरेको छ । सो विधेयकमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइएको छ । एमालेले विधेयकलाई सम्बन्धित समितिमा पठाउन माग गर्दै आएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×