भेरी ज्ञानोदय क्याम्पसको सभापतिमा नेविसंघका सिंह निर्वाचित

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटको सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका प्रकाश सिंह निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा सिंहले १ सय १० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी अनेरास्ववियुका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियुका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै, सचिवमा अखिल क्रान्तिकारीका भूपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १ सय २९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतीमा खत्रीले ७१ मत ल्याएकी छन् । सदस्यहरुमा युवराज सिंह र रमेश जैसी निर्वाचित भएका छन् । सिंहले १ सय ४२ मत प्राप्त गरेका छन् भने जैसीले १ सय ११ मत ल्याएर विजयी भएका हुन् ।

सदरमुकाम खलंगामा रहेको क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको थियो । वामलोकतान्त्रिक गठबन्धनको पूरै प्यानल नै विजयी भएको निर्वाचन अधिकृत भिमेनन्दनाथ योगीले जानकारी दिए । भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत् कटौतीले वीरगन्ज आईसीपी प्रभावित

कान्तिपुर संवाददाता

पर्सा — देशकै प्रमुख नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर डेढ महिनायता विद्युत् कटौतीले प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक महिनाअघि चौकी परिसरमा आपूर्ति भएको विद्युत्को लाइन औद्योगिक फिडरतर्फ जोडेपछि समस्या देखिएको आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

‘प्राधिकरणले अचानक आईसीपीको विद्युत् लाइन बिन्दवासिनी औद्योगिक फिडरमा जोडिदियो,’ उनले भने, ‘एक महिनायता राति ८ देखि बिहान ८ बजेसम्म नियमित लोडसेडिङ भइरहेको छ ।’ आईसीपीको ट्रान्सफर १२५० केभिएको भए पनि हाल विद्युत् खपत २८० केभिए मात्र हुँदा पनि लोडसेडिङको समयमा विद्युत् आपूर्ति गर्न हम्मे परेको उनले बताए । ‘हामीसँग हाल १ सय र ३८० केभिएको गरी २ वटा जेनरेटर छ, लोडसेडिङको समयमा १ सय केभिएको जेनरेटर चलाउँदा त्यसले धान्न सक्दैन, त्यसैले ३८० केभिएको जेनेरेटर चलाउनुपरेको छ,’ उनले भने, ‘यो जेनेरेटरले प्रतिघण्टा २५ देखि ४० लिटरसम्म र मासिक ३ हजारदेखि ३ हजार ५ सय लिटरसम्म डिजेल खपत गरिरहेको छ, महँगो डिजेल खरिद गरेर रातभरि जेनेरेटर चलाउन सक्ने अवस्था पनि छैन ।’

राति १ देखि २ बजेसम्म जेनेरेटर चलाएर त्यसपछि बन्द गर्ने गरिएको र त्यस अवधिमा आईसीपी परिसर अन्धकार रहने गरेको ज्ञवाली बताउँछन् । ‘सुरक्षाको हिसाबले अध्यारोमा अत्यन्त समस्या हुने गरेको छ । आईसीपी परिसरमा हाल पनि नयाँ र मालवाहक गरी २ हजार ५ सयभन्दा बढी सवारीसाधन छन्,’ उनले भने, ‘सुरक्षाको हिसाबले चुनौती हुन्छ ।’ यसबाहेक लामो समय विद्युत् कटौती हुँदा क्वारेन्टाइन ल्याबका केमिकल पनि बिग्रन सक्ने उनले बताए । समस्या समाधानका लागि आफूले प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा आग्रह गरे पनि केन्द्रबाट यो समस्या प्राधिकरणको उपल्लो निकायबाट मात्र समाधान हुने जवाफ पाइएको ज्ञवालीले बताए ।


प्रकाशित : चैत्र ६, २०७९ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×