सहकारी बन्द, मारमा बचतकर्ता

दनहुँ बन्द कार्यालय धाउँदै बचतकर्ता, आर्थिक मन्दीका कारण लगानी उठ्न नसकेको सहकारीको भनाइ
तृप्ति शाही

वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतकी भविसरा खड्का अरूको घरमा काम गरेर गुजारा चलाउँछिन् । श्रीमान्को मृत्युपछि ३ छोराछोरी एक्लै हुर्काइरहेकी उनले बचेको अलिकति पैसा नजिकैको नागरिक बहुउद्देश्यीय सहकारीमा जम्मा गर्न थालेकी थिइन् ।

५ वर्षयता निरन्तर बचत गर्दै आएकी उनले सहकारीमा ५० हजार रुपैयाँभन्दा बढी राखेकी छन् । तर, अहिले सहकारी बन्द हुँदा उनी समस्यामा परेकी छन् । सहकारीको कार्यालयनजिकै भेटिएकी उनले भनिन्, ‘समस्या र दुःख बिमारमा काम लाग्ला भनेर छोराछोरीको मुख मारेर सहकारीमा पैसा जम्मा गरेकी थिएँ । अहिले सहकारी बन्द छ । त्यहाँका मान्छे पनि भेटिँदैनन् ।’

पछिल्लो समय बचत रकम माग्दा पनि नपाएको र अहिले सहकारी नै बन्द गरेर सञ्चालक र कर्मचारीहरू सम्पर्कविहीन भएको उनले बताइन् । उनका अनुसार दैनिकजसो सहकारीको कार्यालयमा पुग्ने गरे पनि ताला लागेको हुने गरेको छ । कालीकोट घर भई वीरेन्द्रनगर नगरपालिका—८ मा बस्दै आएका भरत बमको वीरेन्द्रनगर—१० को कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीमा ५ लाख रुपैयाँभन्दा बढी बचत छ । उनी बचत फिर्ताका लागि सहकारी धाइरहेका हुन्छन् । तर, बन्द सहकारी नखुलेपछि समस्यामा परेका छन् । फागुन तेस्रो सातादेखि बन्द रहेको सहकारी सञ्चालनमा आउने सुनेर कार्यालय धाइरहेका उनी अहिलेसम्म नखुल्दा समस्यामा छन् । ‘दुःख गरेर कमाएको पैसा डुब्छ कि भन्ने चिन्ता छ । शिवशिखरमै दाइको पनि लाखौं बचत छ । अब सबै पैसा डुब्छ कि भन्ने चिन्ताले रातदिन सताइरहन्छ ।’

शिवशिखर सहकारी बन्द हुँदा वीरेन्द्रनगर—१० की मोहनमाया शाहीलाई पनि आफ्नो ६० हजार रुपैयाँ बचत नपाउने चिन्ता छ । ‘बचत पनि हुन्छ, चाहिएको बेला ऋण पनि पाइन्छ भनेर सहकारीमा बचत गरे । अहिले सहकारी बन्द हुँदा तनावमा छु । के गर्ने, कसो गर्ने अन्योल भएको छ,’ उनले भनिन्, ‘रहर मारेर जम्मा गरेको पैसा यसरी डुब्ला भन्ने कल्पनासमेत गरेकी थिइनँ ।’ वीरेन्द्रनगरकै ठूलो कहलिने शिवशिखर सहकारीमा यहाँका धेरैले लाखौं रकम जम्मा गरेका थिए । अहिले सहकारी सञ्चालक र कर्मचारी सम्पर्कविहीन छन् । यो सहकारीमा करिब ७ हजार बचतकर्ता छन् । धेरै जिल्लामा शाखा रहेको यो सहकारीले ७ किसिमका बचत खातामा कारोबार गर्दै आएको थियो । कार्यालय प्रमुख चन्दन थापा असुरक्षा र आर्थिक मन्दीको कारण देखाएर सूचना जारी गर्दै सम्पर्कविहीन छन् ।

वीरेन्द्रनगर—६ की स्थानीय खगीसरा रोकाया पनि नागरिक बहुउद्देश्यीय सहकारीमा बचत गरेको १० हजार रुपैयाँ नपाउने तनावमा छिन् । ‘सहकारी नजिकै सानोतिनो खाजा पसल खोलेकी थिएँ । सहकारीका कर्मचारीको भनाइ सुनेर जम्मा गरे । अहिले यही पैसा पनि डुब्यो,’ उनले भनिन् । नागरिकमा एकै जनाको ५ लाखसम्म बचत रहेको उनले बताइन् । बचतकर्ताहरू दिनहुँ सहकारीमा आए पनि बन्द भएकाले रित्तो हात घर फर्किने गरेको उनले बताइन् ।

केही समयअघिबाट सुर्खेतका ३ सहकारी संस्थाका कार्यालय बन्द छन् । सुरुमा वीरेन्द्रनगर नगरपालिका—१० मा रहेको शिवशिखर सहकारी बन्द भएको थियो । सहकारीबाट सञ्चालित गार्डेन मार्ट पनि बन्द छ । वीरेन्द्रनगर नगरपालिका—६ मा रहेको शिलादेवी सहकारी र सोही वडामा रहेको नागरिक बहुउद्देश्यीय सहकारी पनि बन्द छ । वीरेन्द्रनगर नगरपालिका—६ मै रहेको कालिका लघुवित्त वित्तीय संस्थाको कार्यालयमा पनि केही दिनयताबाट ताला लागेको छ । सहकारी र लघुवित्तका कर्मचारी सम्पर्कविहीन छन् ।

नागरिक बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा ‘आर्थिक मन्दीका कारण संस्थाले गरेको लगानी उठ्न नसकेको, एकैपटक बचतकर्ताहरू रकम लिन आउँदा फिर्ता गर्न असहज भएको’ जनाइएको छ । संस्थाका सञ्चालकहरूको सम्पत्ति बिक्री गरेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने सूचनामा उल्लेख छ । फागुन १५ मा सूचना टाँसेर बन्द भएको शिवशिखरले पनि आर्थिक मन्दीका कारण पुँजी व्यवस्थापनमा कठिनाइ भएको र कर्मचारीमाथि हातपात गर्ने धम्की आएपछि केही दिनका लागि कार्यालय बन्द गर्नुपरेको जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले केही सर्वसाधारण बचत फिर्ता नपाएको गुनासो लिएर आएको र अब सहकारीहरूको अनुगमन थालिने बताए । ‘केही सहकारी संस्था बन्द छन् भन्ने कुरा आएको छ । हामी अनुगमन सुरु गर्दै छौं,’ उनले भने ।

प्रकाशित : चैत्र ६, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

सहिद मार्गको निर्माण ५ खण्डमा

तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य, कार्यक्षेत्रमै आयोजना कार्यालय स्थापना
काशीराम डाँगी

रोल्पा — डेढ दशकदेखि निर्माणाधीन रोल्पा–रुकुमको मेरुदण्ड मानिएको सहिद मार्गको निर्माण अघि बढ्ने भएको छ । सहिद मार्ग आयोजना कार्यालयले सडक क्षेत्रमै कार्यालय स्थापना गरेर निर्माणमा तीव्रता दिने गरी काम सुरु गरेको हो । यसअघि लिबाङमै कार्यालय हुँदा निर्माणले गति लिन सकेको थिएन । अहिले होलेरी–नुवागाउँ सडक खण्डको दहवनमा कार्यालय सारिएको छ ।

सहिद मार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर पवन भट्टराईले कार्य क्षेत्रमै कार्यालय सारेर कामलाई तीव्रता दिन लागिएको बताए । शान्ति प्रक्रियापछिका सरकारले माओवादी सशस्त्र द्वन्द्व सकिएपछिको यस क्षेत्रकै ठूलो योजनाका रुपमा सहिद मार्ग आयोजनालाई अघि बढाएको छ । तर, निर्माण कार्यमा ढिलाइले स्थानीय निराश छन् । सहिद मार्ग निर्माण पूरा भएमा रोल्पा–रुकुमका दर्जनौं गाउँमा बाह्रै महिना यातायातका साधन गुड्ने छन् । सडक यातायातका माध्यमबाट तत्कालीन सशस्त्र द्वन्द्वका बेला पुग्न नसकेको विकास योजना दुर्गमसम्म पुर्‍याउने सरकारको लक्ष्य अनुसार उक्त आयोजना सञ्चालनमा ल्याइएको हो । पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएका बेला उनकै पहलमा आयोजना थालिएको थियो । दाहाल २०६४ मा रोल्पाबाटै विजयी भएर प्रधानमन्त्री बनेका थिए ।

दाहाल नेतृत्वको सरकारले यस योजनालाई प्राथमिकतामा पारेको थियो । तर, आवश्यकता अनुसारको बजेट अभावले सडक निर्माण रोकिंदै आएको थियो । माओवादीले थालेको सशस्त्र द्वन्द्वका बेलामा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा उक्त सडकको नामकरण गरिएको हो । त्यस अवधिमा रोल्पा, रुकुम र आसपासमा २ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । दाङको घोराहीदेखि रोल्पाका अधिकांश गाउँ हुँदै रुकुम पूर्वको पुथाउत्तरगंगासम्म लैजाने उक्त सडकलाई खण्ड–खण्ड पारेर कालोपत्र गर्ने योजना चलिरहेको छ । तीन जिल्ला जोड्ने तत्कालीन राप्तीको मुख्य मेरुदण्ड मानिएको उक्त सहिद मार्ग २ सय २० किलोमिटर लामो छ । सडकले दाङको घोराही उपमहानगरसँग रोल्पाका ५ वटा र रुकुम पूर्वका २ वटा गाउँपालिका जोड्छ ।

सहिद मार्गअन्तर्गत दारबोट–घर्तीगाउँ सडक खण्डको करिब ३० किलोमिटर सडकमा यसै आर्थिक वर्षभित्र कालोपत्र गर्ने योजना छ । सहिद मार्ग कार्यालयले त्यसका लागि धमाधम काम भइरहेको जनाएको छ । सहिद मार्ग आयोजना कार्यालयका अनुसार कालोपत्र गर्न ठेक्का भइसकेको छ । कम्तीमा दुई लाइन सडक कालोपत्र गरिसक्ने योजना सहिद मार्ग कार्यालय प्रमुख इन्जिनियर भट्टराईले बताए । उनका अनुसार सरकारले उक्त सडक चाँडै निर्माण गरिसक्ने नीति अघि सारे अनुसार सडक चौडा बनाउने, नाला बनाउने र कालोपत्रका लागि पूर्वाधार तयार पार्ने काम धमाधम भइरहेको छ । सहिद मार्गले प्रभाव पार्ने गाउँपालिकाका जनप्रतिनिधिले पनि सहिद मार्गको कार्य छिटो सम्पन्न गर्नका लागि सहयोग गर्दै आएका छन् । रोल्पाको मध्य भागमा रहेको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगरले सहिद मार्ग गुणस्तरीय बनाउन सहयोग गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल पुनः प्रधानमन्त्री भएका बेला भेटेरै ध्यानाकर्षण गराएको बताए । ‘हामीले यो आयोजना छिटो सम्पन्न गराउन प्रधानमन्त्रीसँग भेटेरै ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘अब तीव्र गतिमै काम अघि बढ्नेछ ।’

सहिद मार्गलाई २०८३ सालसम्ममा कालोपत्र गरिसक्ने लक्ष्य अनुसार कम्तीमा ५ खण्डमा विभाजित गरेर काम गर्ने योजना बनाइएको इन्जिनियर भट्टराईले बताए । घोराही–होलेरीको पुनः कालोपत्र गरेपछि होलेरीदेखि दारबोटसम्म अर्को वर्षमा कालोपत्र गरिनेछ । दुई वर्षभित्रमा दोरबोटदेखि घर्तीगाउँसम्म र त्यसै अनुसार घर्तीगाउँदेखि दुईखोलीसम्म, दुईखोलीदेखि थबाङसम्म कालोपत्र गर्ने योजना वर्षैपिच्छे सम्पन्न गर्दै जाने योजना छ । थबाङदेखि रुकुम पूर्वको महत, खाबाङ, क्राँक्री, तकसेरा हुँदै हुकाम मैकोटसम्म करिब चार वर्षभित्र सडकको सबै भाग कालोपत्र गर्ने योजना छ । सहिद मार्गले रोल्पाका रोल्पा नगरपालिकासहित रुन्टीगढी, त्रिवेणी, माडी, परिवर्तन र थबाङ गाउँपालिकालाई जोड्छ । यस्तै रुकुम पूर्वको भूमे गाउँपालिकाको महत गाउँदेखि काँक्री हुँदै पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा, हुकाम, मैकोट लगायतका गाउँ जोड्छ ।

रुकुम पूर्वको पुथाउत्तरगंगामा पर्ने हुकामदेखि मैकोट गाउँसम्मको अन्तिम स्थानमा ट्र्याक खन्न बाँकी रहेको करिब १२ किलोमिटर सडक खुलाउने योजना चालू आार्थिक वर्षमा अघि बढाइएको छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सडकअन्तर्गत बनाउनु पर्ने अधिकांश पुल निर्माण गरिसकिएको छ । रुकुम पूर्वको उत्तरगंगा खोलामा भने पुल बनाउन बाँकी छ ।

सहिद मार्ग निर्माणमा हाल चारवटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । सहिद मार्ग निर्माणमा हालसम्म करिब २ अर्ब २५ करोड बजेट खर्च भइसकेको छ । इन्जिनियर भट्टराईका अनुसार यो रकम कुल लागतको २२ प्रतिशत मात्रै हो । कालोपत्रसमेत गरी सडकको निर्माण लागत करिब १२ अर्ब पुग्ने अनुमान छ । अहिलेसम्म १७ वटाभन्दा बढी सडक पुल बनाइएका छन् । सडक निर्माणमा सरकारले वर्षमा करिब ५० करोड बजेट छुट्याउने गरेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×