कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमै मिर्गौला प्रत्यारोपण

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । शनिबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठ नेतृत्वको टोलीले प्रदेश अस्पतालमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरेको हो । उक्त दिन नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–४ की ४३ वर्षीया एक आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

कर्णालीमै मिर्गौला प्रत्यारोपण

डा. श्रेष्ठले काठमाडौं उपत्यका बाहिरको सरकारी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । ‘केन्द्रले प्रत्यारोपण धान्न सकेको छैन, बुटबलबाट महेन्द्रनगरसम्मका बिरामी कर्णालीले धाने केन्द्रका बिरामीले पनि छिटो पालो पाउने थिए,’ उनले भने, ‘काठमाडौंका अस्पतालमा नदेखेका उपकरण कर्णालीका अस्पतालमा देख्न पाइयो, यो धेरै खुसीको कुरा हो ।’

प्रदेश अस्पतालले अनुमति पाएको ३ महिनापछि मिर्गौलाको प्रत्यारोपण गरेको हो । जसका लागि केन्द्रका शल्यचिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मीत श्रेष्ठ, नेफ्रोलोजिष्ट डा.सुमित आचार्यलगायतको टोली सुर्खेत पुगेको थियो । अस्पतालले यसै आर्थिक वर्षबाट आँखाको शल्यक्रिया (फेको पद्धति) सेवा पनि सुरु गरेको छ भने ७ वटा मोडुलर ओटी सञ्चालन भइरहेको छ ।

त्यस्तै डायलसिस, आइसीयुलगायत सेवालाई पनि निरन्तरता दिइरहेको अस्पतालका निर्देशक डा. खड्काले बताए । अर्थोडिक सर्जरी सातामा ६ दिन र जनरल सर्जरी हप्तामा ४ दिन सञ्चालन भइरहेको उनको भनाइ छ । हाल प्रदेश अप्तालसँग २ सय ९७ शय्या उपलब्ध छ ।

प्रकाशित : माघ २३, २०७९ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?