डोल्पामा हिमपात सुरू- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा हिमपात सुरू

महेश केसी

रूकुम पश्चिम — बिहानैदेखिको प्रतिकूल मौसमपश्चात डोल्पाको हिमाली तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सुरू भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू मंगलबार प्रतिकूल मौसमका कारण हिउँ पर्न थालेपछि खुसी भएको से-फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरूङले जानकारी दिएका छन् । 

हिउँदे वर्षा र हिमपातले खेतिपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले राम्रो गर्ने उपाध्यक्ष गुरूङको भनाइ छ ।


डोल्पासँगै रूकुमपूर्वको हिमाली र उच्च पहाडी भागमा पनि हिउँ पर्न थालेको भुमेका दिलचन पुनले बताए । ढिला गरी भएको हिउँदे वर्षाले सबैतिरका किसानमा खुसी छाएको छ ।


प्रकाशित : माघ १०, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

इतिहास रच्ने सुदूरका तीन

संघर्षका विभिन्न चरणहरु पार गरेर समाजका लागि काम गर्दै आएका यी महिला सुदूरपश्चिममा आफ्नै कीर्तिमानी कामका कारण चर्चित छन्
मेनुका ढुंगाना

अछाम — आर्थिक, सामाजिक, राजनीतिक रूपमा हेर्ने हो भने सुदूरपश्चिम अहिले पनि पछि नै देखिन्छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा जानु यहाँका पुरुषहरूको बाध्यता हो । आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाहरूको अवस्था पनि खासै सुधार हुन सकेको छैन ।

महिनावारी भएका बेला छाउगोठमा बसेर मृत्युवरण गर्नेदेखि सानै उमेरमा विवाह गरेर दर्जनौं सन्तान जन्माएर आफ्नै भविष्य अन्धकारमा धकेलेका थुप्रै महिलाहरू सुदूरपश्चिमका थुप्रै गाउँमा भेटिन्छन् । तर संघर्षका विभिन्न चरणहरू पार गरेर समाजका लागि काम गर्दै आएका केही महिलाहरू पनि भेटिन्छन् ।

संगीता धामी

यसैको एक उदाहरण हुन्– कञ्चनपुरको भीमदत्त–३ तिलकपुरकी २२ वर्षीया संगीता धामी । कमजोर पारिवारिक अवस्था, आर्थिक अभाव र अभिभावकत्वबिनै उनले मुलुकको महिला कुस्ती खेलमा सानै उमेरमा इतिहास बनाइन् । तीन वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा संगीताले आफूलाई मात्रै चिनाइनन्, कुस्तीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्ने नेपालकै पहिलो र एकमात्र महिला खेलाडी बनिन् । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आफ्नो तौल समूहमा स्वर्ण जितेकी संगीता नेपालको वर्तमान राष्ट्रिय च्याम्पियनसमेत हुन् ।

हालै सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुदमा महिलातर्फ ५५ केजी कुस्ती समूहमा स्वर्ण पदक पाएकी संगीताले आठौं राष्ट्रिय खेलकुदमा समेत ५७ केजी महिला समूहतर्फ स्वर्ण विजेता बनेकी थिइन् । उनी महिला कुस्तीतर्फ स्वर्ण पदक विजेता बनेर राखेप च्याम्पियनसिप २०७५ समेत बनिन् । उनले अहिलेसम्म दर्जनभन्दा बढी आन्तरिक प्रतियोगितामा खेलिसकेकी छन् । उनलाई यो अवस्थासम्म आइपुग्न सहज भने भएन । दुई दिदी, एक बहिनी र आफू गरी चार दिदीबहिनीमध्ये संगीता साइँली हुन् । चार छोरीहरू मात्रै भएपछि बुबाले अर्को बिहे गरे । छोरीहरूको सम्पर्कमा बुबा नआएको कैयौं वर्ष भइसक्यो । घरमा को–को छन् भनेर सोध्दा सबैभन्दा गाह्रो लाग्ने प्रश्न संगीतालाई यही हो । ‘मलाई घरमा को–को छन् भनेर सोध्दा बुबा पनि छन् भन्ने महसुस कहिल्यै भएन,’ उनले भनिन्, ‘हामी चार जना छोरीहरू मात्रै भएपछि अर्को बिहे गरेर सल्यानतिर बसेका छन् भन्ने मात्र थाहा छ । जसले मेरो जिन्दगीमा हुनु र नहुनुको कुनै महत्त्व राखेनन् ।’ आमा र दिदीभिनाजुको साथले ७ पटकभन्दा बढी कुस्ती खेलमा स्वर्ण पदक जितेको उनले बताइन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको हालै सम्पन्न निर्वाचनमा अन्तर्राष्ट्रिय खेलाडी भएर पनि म्यादी बनेर चर्चामा आएकी यिनै संगीता हुन् । छोरीहरूलाई दूध, दही बेचेर सामान्य खर्चले साक्षर मात्रै बनाएपछि उनकी जेठी दिदीको १४ वर्षको उमेरमा आमाले बिहे गरिदिइन् । उनकी माइली दिदीलाई पनि पढाउने खर्च जुटाउन नसक्दा बिहेको प्रस्ताव आएपछि १८ वर्षमै उनको पनि विवाह भयो । अहिले ११ कक्षामा पढ्ने १५ वर्षीया बहिनी र उमेरले ५० वर्ष नाघेकी आमाको जिम्मेवारी संगीतामाथि छ । ‘धेरै पटक स्वर्ण पदक जितेर च्याम्पियन बने, इतिहास पनि रचियो । तर यसले मेरो परिवारको आर्थिक अवस्थामा अहिलेसम्म केही फरक पारेन । नवौं राष्ट्रिय खेलकुद हुने समय नजिकिने बेला मेरो म्यादीमा नाम निस्किसकेको थियो । अन्तर्राष्ट्रिय खेलाडी पनि म्यादी प्रहरी बनिन् भनेर लाज गर्लान् भन्ने सोचेर मैले कसैले थाहा नपाउने गरेर म्यादी प्रहरी बन्नका लागि आवेदन दिएकी थिएँ । तर खोइ कसरी त्यो कुरा आउट भयो । मैले मेसो पाइन,’ उनले भनिन्, ‘बिनातयारी नवौं राष्ट्रिय खेलकुदमा गएकी थिएँ । तर पनि सफलता नै पाइयो ।’

म्यादी हुँदा उनका बारेमा समाचार आएपछि ललितपुरका एक जना खेलाडीले नै अभिभावकत्व दिने भएपछि उनी एक महिनादेखि काठमाडौंमा छिन् । एउटा व्यायामशालामा मासिक ८ हजार पाउने गरी काम सुरु गरेकी छन् । ‘सुदूरपश्चिम विश्वविद्यालयमा ब्याचलर सेकेन्ड सेमेस्टर पढिरहेको छु । पढाइको शुल्क तिर्न पनि गाह्रो छ । तर पनि खेल क्षेत्रमा नै भविष्य देखेकी छु । बाँकी समय पनि खेल क्षेत्रमा बिताउने सोचले काठमाडौं आएँ । आर्थिक अवस्थाका कारण सोचेजस्तो केही पनि भएको छैन । तर मिहिनेत गरिरहेकी छु,’ उनले भनिन् ।

मंगला विक

दलित र गैरदलितबीच असमानताको ठूलो खाडल भएकै बेला धेरै संघर्ष गर्दै स्वस्फूर्त रूपमा सामाजिक काममा खटिएकी महिला हुन्– मंगलसेन नगरपालिका–५ की ५८ वर्षीया मंगला विक । उनी २८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दै आएकी छन् । गाउँमा दलित बस्ती धेरै, गैरदलित बस्ती कम । दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयंसेविका बनाउन गाउँलेले समर्थन गरे । गाउँमै भएका गैरदलितका घरमा पनि उनले धेरै पटक जानुपर्थ्यो । तर उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरियो । तर मंगला विचलित भइनन् । अहिलेभन्दा २८ वर्षअघिदेखि नै उनले अघोषित रूपमा नै जातीय विभेदविरुद्ध विद्रोह सुरु गरिन् । ‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जाँदैनौं भनेर मैले अवसर पाएकी हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्थासमेत आयो,’ उनले भनिन्, ‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’ खोप लगाए घाउ बन्छ, गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको उनको अनुभव छ । ‘ठूलै डाक्टर भएर आई, हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे,’ उनी भन्छिन्, ‘आमा समूह बनाएपछि अलि काम गर्न सहज भयो । त्यसयताको समयमा कतिका ज्यान बचाइयो, हिसाबकिताब छैन । अहिले परिस्थिति बदलिएको छ । गाउँमा डाक्टरभन्दा बढी हामीलाई मान्ने गरेका छन् ।’

२८ वर्षसम्म महिला स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा उनले धेरै महिलाको ज्यान बचाएकी छन् । गाह्रो, अप्ठ्यारो पर्दा सबैभन्दा पहिले गाउँलेहरू उनलाई सम्झन्छन् । अहिलेसम्म उनले आफ्नो टोलका बिरामी र धेरै गर्भवती महिलालाई बोकेर नै स्वास्थ्य चौकी पुर्‍याएकी छन् । मंगला गाउँमा स्वास्थ्य स्वयंसेविका हुँदासम्म कसैले दुःख पाउँदैनन् भन्ने त्यो गाउँका मान्छेको सोचाइ छ । घरमै सुत्केरी हुने बेला साल र बच्चाको घाँटी एकै ठाउँमा बेरिएपछि ११ वर्षअघि मंगलसेन–५ कै गंगा विष्टले मंगला स्वयंसेविका भएकै कारण ज्यान बचाइन् । स्वयंसेविका मंगलाले २ जना मान्छे जुटाएर गंगालाई जिल्ला अस्पताल पुर्‍याएर आफ्नो ज्यान जोगाइदिँदा उनी हर्षित छन् । ‘मंगला दिदी नभए म साह्रै दुःख पाउँथें, मेरा लागि भगवान् नै भएर आइन्,’ गंगाले भनिन्, ‘हाम्रा लागि उनै डाक्टर हुन् ।’ उनीजस्तै गाउँका सबै महिलाहरू सामान्यदेखि जटिल समस्या देखिनेबित्तिकै महिला स्वास्थ्य स्वयंसेविकाको खोजी गर्छन् ।

कृष्णा विष्ट

कोही सुदूरपश्चिममा जन्मेर नै संघर्ष गरेर अघि बढे भने कोही जन्मथलो अन्तै भए पनि कर्मथलो सुदूरपश्चिमलाई बनाएर संघर्ष गरेका उदाहरणीय महिला पनि छन् । यसरी संघर्ष गरेर सामाजिक रूपमा महिला आन्दोलनलाई स्थापित गराउने महिला हुन् बैतडी जिल्लाको दुर्गम क्षेत्र मानिने दोगडाकेदार गाउँपालिका–२ की कृष्णा विष्ट । उमेरले ७८ वर्ष पार गरेकी कृष्णा अहिले पनि सामाजिक काममा अग्रसर हुन् । २०६२ सालमा शिक्षण पेसाबाट रिटायर्ड भएकी कृष्णा यो क्षेत्रकी महिला अभियन्ताका रूपमा चिनिन्छिन् ।

२०३४ सालमा शिक्षक सेवा आयोगबाट नाम निकालरे स्थायी शिक्षक हुने बैतडीमा कृष्णा पहिलो महिला हुन् । भारतको दार्जिलिङमा २००२ सालमा सम्पन्न परिवारमा जन्मेकी कृष्णाले २०३० सालमा बैतडीमा बिहे गरेर आइन् । त्यतिबेलासम्म बैतडीमा मात्रै होइन, सुदूरपश्चिममा महिलालाई विद्यालय पढाउने चलन थिएन । महिनावारी भएकी महिलालाई मात्रै नभई सुत्केरी भएकी महिलालाई पनि पौष्टिक आहारा नदिएर गोठमा राखेको देख्दा उनलाई पीडा महसुस भयो । ‘दार्जिलिङ र बैतडीको न भाषा मिल्थ्यो न त रहनसहन नै । त्यतिबेला मलाई यो समाजमा घुलमिल हुन निकै कठिन भयो । महिनावारीका बेला गोठमा बस्नुपर्थ्यो । सुत्केरी हुँदा पनि गोठमा नै राख्ने चलन थियो,’ उनले भनिन्, ‘एक दिन मेरै घरछेउमा सुत्केरी भएकी महिलाको गोठमा मृत्यु भयो । मृत्युपछि उनको दाहसंस्कार गरिएन । घर अगाडिको आँगनमा शव गाडेर राखे । २१ दिनपछि सबै विधि पुर्‍याएर अन्त्येष्टि गरे । महिला जिउँदो हुँदा मात्रै होइन, मरेपछि पनि दुःख दिने अनौठो चलनले ममा विद्रोही चेत पलायो । त्यही बेलादेखि महिलाको पक्षमा काम गर्न अग्रसर भएँ ।’

महिलालाई शिक्षित बनाउने र छोरीलाई विद्यालय पढाउनुपर्छ भन्ने विषयलाई उनले जहिल्यै बहसका रूपमा लिन थालिन् । ‘त्यो बेलामा सुदूरपश्चिममा महिला शिक्षक हामी २/३ जना थियौं जस्तो लाग्छ । हामीलाई पनि महिलाले कुर्सीमा बसेर कलम समाएर पढाएको ठीक भएन है भनेर जिस्काउँथे । यसरी हेपेर बोल्दा धेरै पीडा हुन्थ्यो । समाजका मान्छेसँग लडौं भने सामाजिक बहिष्कार गर्लान् भन्ने डर थियो,’ कृष्णाले भनिन्, ‘छोरी मान्छेलाई पढाउनुपर्छ भन्दा घाँस कसले काट्छ, दाउरा कसले ल्याउँछ, घरको काम कसले गर्छ भनेर जवाफ फर्काउँथे । कहाँबाट आएर हाम्रा छोरीचेली बिगार्न आई भन्दै मलाई गाली गर्थे ।’

उनलाई जहिले पनि महिलाको पक्षमा काम गर्दा समाजले एक्लो बनाए पनि उनी थाकिनन् । काम गर्दै गइन् । यत्तिकैमा सन् १९९५ मा बेइजिङमा भएको विश्व महिला सम्मेलनमा उनले नेपालका तर्फबाट भाग लिने अवसर पाइन् । ‘महिलाको पक्षमा वकालत गर्दा समाजले एक्लो बनाए पनि कसै न कसैले मूल्यांकन गरिरहेका हुन्छन् भन्ने लाग्यो । चीनमा भएको विश्व महिला सम्मेलनमा जाने अवसर पाइयो । त्यता गएपछि महिलाको शिक्षा, स्वास्थ्य र रोजगारका लागि के–के गर्न सकिन्छ भन्ने जानकारी पाइयो । त्यसपछि बैतडी आएर अभियानलाई सशक्त ढंगले अघि बढाएँ,’ उनले भनिन् ।

२७ वर्षअघि बैतडीमा एक गैरसरकारी संस्था दर्ता गरेर सामाजिक काममा अघि बढेको कृष्णाको अनुभव छ । ‘आजभन्दा ५० वर्ष अगाडि बैतडीमा कोही पनि पढेलेखेका महिला थिएनन् । धेरैका श्रीमान् इन्डिया जान्थे । उताबाट चिठी पठाउने चलन थियो । तर गाउँमा चिठी पढिदिने मान्छे अरू कोही थिएनन् । मैले नै सबैका चिठी पढेर सुनाउँथें । महिलाहरू चिठीबाटै के जवाफ फर्काउनुपर्ने हो भन्थे । मैले लेख्थें । हजारौंको संख्यामा त मैले त्यतिबेला चिठी नै लेखें,’ कृष्णाले भनिन्, ‘अहिले विद्यालयमा छात्रभन्दा छात्राको संख्या धेरै देख्दा एउटा सपना पूरा भएजस्तो लाग्छ ।’

तथ्यांकमा सुदूरका महिला

यूएन वुमनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल निर्वाचन आयोगको सहयोगमा सुदूरपश्चिमका महिलाको अवस्थासम्बन्धी गरेको एक सर्वेक्षणमा अझै पनि यहाँका महिलाको अवस्था सुधार हुन सकेको छैन ।

करिब २७ लाख जनसंख्या रहेको सुदूरपश्चिममा करिब १ लाख २१ हजार ३ सय ५१ महिला मात्रै घरमूली रहेको सर्वेक्षणले देखाएको छ । यो जम्मा जनसंख्याको २६ प्रतिशत मात्रै हो । सुदूरपश्चिममा महिला साक्षरता दरमा पनि सुधार भएको देखिँदैन । सर्वेक्षणअनुसार १५ देखि ४९ उमेर समूहका ४०.९ प्रतिशत महिला साक्षर नै नभएको देखाउँछ । सरकारको लक्ष्य सन् २०३० सम्ममा ९८ प्रतिशत महिलालाई इन्टरनेटको पहुँचमा पुर्‍याउने देखिए पनि सुदूरपश्चिममा ८.८ प्रतिशत महिला मात्रै इन्टरनेटको पहुँचमा देखिन्छन् । सर्वेक्षणले देखाएअनुसार यहाँका ९६.८ प्रतिशत आफ्नो स्वामित्वमा कुनै सम्पत्ति छैन भने ९६.५ महिलाको नाममा कुनै जग्गा पनि छैन । ५०.५ प्रतिशत महिलाले आफ्नो स्वास्थ्यको उपचारको निर्णय एकल अथवा सयुंक्त रूपमा लिन सक्ने देखिएको छ । त्यस्तै ५५.६ प्रतिशत महिलाले आफ्ना छोराछोरीको शिक्षाको निर्णय आफैं वा संयुक्त रूपमा लिने गरेको देखिन्छ ।

प्रकाशित : माघ १०, २०७९ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×