कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागी नियन्त्रण गर्न सिकाउँदै सशस्त्र प्रहरी 

डीबी बुढा

जुम्ला — जुम्लामा आगलागीका घटना बढिरहेको भन्दै सशस्त्र प्रहरीले गाउँगाउँमा पुगेर आगलागी नियन्त्रण गर्ने तरिकाबारे समुदायस्तरमै सिकाइरहेको छ । जुम्लास्थित सशस्त्र प्रहरी बल ३३ नम्बर गणले सोमबार चन्दननाथ नगरपालिका १० गैरागाउँमा आगो नियन्त्रणबारे डेमो देखाएको छ ।

आगलागी नियन्त्रण गर्न सिकाउँदै सशस्त्र प्रहरी 

आगो कसरी लाग्न सक्छ ? लागेको आगो कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारे सिकाइएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण जुम्लाका गणपति चित्रांगत दाहालले बताए ।

डेमो प्रदर्शनीमा सयौं स्थानीय सहभागी भएका थिए । डेमोमा आगो नियन्त्रणका साथै आगलागी भएको घरभित्र रहेका मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा समेत प्रत्यक्ष रुपमा अभ्यास गरिएको थियो ।

घरमा कुनै कारणले ग्यास लिक भइहालेमा त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारे समेत जानकारी दिइएको गणपति दाहालले बताए । उनले भने, ‘जुम्लामा आगोको जोखिम धेरै छ । आगो लाग्दा नियन्त्रणमा लिने विधि नअपनाउादा धेरै क्षति हुने गरेको छ । हामी अहिले आगो लाग्न नदिनेबारे सचेत गराइरहेका छौं । ’

सशस्त्र प्रहरीका अनुसार जुम्लामा पछिल्लो समयमा जुम्लामा ५ वटा ठूला आगलागीका घटना भएका छन् । आगो नियन्त्रण समयमै नहुँदा ठूलो क्षति बेहोर्नुपरेको सशस्त्रको तथ्यांकमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले नियमित रुपमा यस्तै सचेतनाका कार्यक्रम गरिने बताए । ‘सशस्त्र प्रहरीले स्थापना कालदेिख शान्ति सुरक्षा, सीमा सुरक्षादेखि विपत् व्यवस्थापनमा ठूलो योगदान पुर्‍याएको छ,’ उनले भने, ‘अब नागरिक जोगाउने सचेतना कार्यक्रममा थप जोड दिने छ ।’

यो समय सुख्खा खडेरीको भएकाले आगलागी हुने अधिक सम्भावना हुन्छ । सशस्त्र प्रहरीले जिल्लाका सबै पालिकामा गएर सचेतनाका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

प्रकाशित : माघ ९, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?