कर्णालीका मुख्यमन्त्री शर्मा र दुई मन्त्रीले लिए शपथ 

ज्योती कटुवाल

काठमाडौँ — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका नेता शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शर्माले माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ गरी जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एमाले र माओवादी केन्द्रले एक/एक जना सांसदलाई सरकारमा पठाएका छन् । माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन् । उनीहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथग्रहण गराए ।

माओवादी केन्द्रका शाही मुगु प्रदेशसभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेश भा (२) बाट निर्वाचित हुन् । शाह र शाहीलाई मुख्यमन्त्री शर्माले मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित : पुस २८, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धन बैठकअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र सभामुख, उपसभामुख निर्वाचनलगायत विषयमा दाहाल र ओलीबीच छलफल भएको हो ।

प्रधानमन्त्री दाहालसँग छलफल र सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन एमाले अध्यक्ष ओली बिहीबार ४ बजेतिर बालुवाटार पुगेका थिए । अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै जनाबीच गठबन्धनको बैठकअघि एक्लाएक्लै छलफल भएको हो ।

दाहाल र ओलीबीचको छलफल सकिएपछि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा नै बस्न लागेको छ । संसद्‌बाट पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रकाशित : पुस २८, २०७९ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×